सम्झौता सकिएका अधिकांश आयोजनाको काम आधा «

सम्झौता सकिएका अधिकांश आयोजनाको काम आधा

वीरगन्ज-पर्सामा निर्माणाधीन विकासे आयोजनाको काम सम्पन्न गर्ने सम्झौता सकिए पनि आधा पनि काम हुन सकेको छैन ।
राजनीतिक संक्रमणको अन्त्य भएर स्थानीय तहको सरकार बनिसक्दा समेत अहिलेसम्म सम्झौताअुनसारका काम हुन सकेको छैन । २०६८ सालदेखिको भौतिक पूर्वाधार निर्माणको काम अझैसम्म पनि सम्पन्न गर्न ठेकेदार असफल भएका छन् । निर्माणका लागि ठेक्का लिने र विभिन्न बहाना देखाएर निर्माण नगर्ने प्रवृत्तिले पर्साको विकास निर्माणकार्य प्रभावित भएको छ । हालसम्म निर्माणाधीन २५ वटा आयोजनामध्ये अधिकांशको सम्झौता सकिएको छ । तर, काम आधा पनि सम्पन्न भएको छैन । निर्माण सम्पन्न नभएका आयोजनामा अधिकांश नाला निर्माण, सडक र स्वास्थ्य संस्थाका भवन छन् ।
निर्माणकार्य ढिलाइ भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भौतिक प्रगति विवरण माग गर्दै त्यसको अनुगमन निरीक्षण सुरु गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले मुलुकमा परिवर्तन देखिने नै विकास निर्माण भएकाले त्यसलाई गम्भीर रूपमा लिएर आपूmले भौतिक प्रगतिको प्रतिवेदन मागेर अनुगमन सुरु गरेको बताए । जिल्ला प्रशासन कार्यालय पर्साले तयार गरेको आयोजनाकोे प्रतिवेदनअनुसार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जको भवन र पोखरिया नगरपालिका–१ को नाला निर्माण गर्ने आयोजनाबाहेक अन्य सबै आयोजनाको ठेकेदारसँग भएको सम्झौता सकिएको छ । सम्झौता बाँकी रहेका आयोजनाको पनि भौतिक प्रगति प्रतिवेदनको प्रतिशत हेर्दा सम्झौताअनुसार काम सम्पन्न हुनेमा आशंका छ ।
आयोजनाको सम्झौता सकिएका मध्ये संदिप कन्सट्रक्सन, राजन निर्माण सेवा, गौरीशंकर निर्माण सेवा, अर्चना कन्स्ट्रक्सन, जीएन कन्स्ट्रक्सन, स्नेहा कन्स्ट्रक्सन, सलोनी कन्स्ट्रक्सन, कुशल कन्स्ट्रक्सन, सोनी कन्स्ट्रक्सन, सजवन निर्माण सेवा छन् । त्यसैगरी ओमसाई निर्माण सेवा, श्री गौरी पार्वती निर्माण सेवा, पप्पु कन्स्ट्रक्सन, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन प्रालि, शिवराम कन्स्ट्रक्सन, म्यागलुङ÷टौदह÷पञ्चकन्या जेभी ललितपुर र विशाल एन्ड विराट कन्स्ट्रक्सन प्रालि जोरपाटी पनि छन् । त्यस्तै पप्पु र तिरुपती जेभी, मोना÷अंकित जेभी, अजम्बरर÷शिवराम कन्स्ट्रक्सन, कुमार÷आशिष÷अमर जेभी निर्माण कम्पनी छन् ।
यी सबै कम्पनीले ५० लाखदेखि २२ करोडसम्मको आयोजना निर्माणको ठेक्का सकारेका छन् । ठेक्का सकार गर्ने तर समयमा निर्माण नगर्ने परिपाटीले नै विकास निर्माणको कामले गति लिन नसकेको हो । अधिकांश स्थानीय ठेकेदार नै रहेका र कतिपयले पेटी ठेकेदारको रूपमा पनि काम गर्ने गरेकाले आपूm अनुकूल नभएपछि काम नै रोक्ने गरेका कारणले पनि विकास निर्माणकार्यमा तीव्रता आउन नसकेको हो । ठेक्का लगाएका सबै आयोजनाको कामको १३ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मात्रै भौतिक प्रगति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्