ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र «

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र

 खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकी भवन निर्माणकार्य अलपत्र परेको छ । निर्माणकार्य पूरा गरी २०७४ साल असार मसान्तभित्र हस्तान्तरण गर्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माणकार्य ठेकेदारको लापरबाहीबा कारण अलपत्र परेको हो ।
सहरी विकास तथा भवन विभागको २ करोड ४८ लाखको लागतमा ठेक्का लागेको स्वास्थ्यचौकीको भवन हाल अलपत्र अवस्थामा रहेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । भवन ठडिए पनि स्वास्थ्य चौकीको झ्यालढोका, शौचालय, पर्खाल, प्लास्टर, घेराबारालगायतका काम पूरा भएको छैन ।
२०७४ साल असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने गरी सगरमाथा घिमिरे निर्माण सेवा प्रालिले जिम्मा लिएको उक्त भवन समयमै निर्माण सम्पन्न गर्न नसकेपछि गत मंसिर मसान्तसम्म म्याद थप गरिएको थियो । मंसिर मसान्तसम्म म्याद थप गरिएपछि ठेकेदार कम्पनीले काम नगरी म्याद गुजारेर बसेको छ । स्वास्थ्यचौकी भवनको बाँकी काम चाँडै सक्ने ठेकेदार शम्भु घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्