जुम्लाबाट २० टन जडिबुटी निर्यात «

जुम्लाबाट २० टन जडिबुटी निर्यात


जडिबुटीको प्रचुर सम्भावना रहेको जुम्लाबाट २० टन जडिबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा जुम्लाका ८ स्थानीय तहमा संकलन भएको २० टन भन्दा बढी जडिबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ ।
विशेषगरी गुठिचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडिबुडी संकलन हो । कोरोना कहरका बीचपनि जुम्लाका नागरिकले गत वर्ष जटिबुटी संकलनबाट राम्रो कमाई गरेका छन् । यद्दपी कोरोनाका कारण धेरै पाटनमा जडिबुटि संकलनमा रोक लगाएपछि धेरैको रोजीरोटी गुमेको छ ।
तर डिभिजन वन कार्यालय जुम्लाको तथ्यांकअनुसार कोरोना महामारीकै बीचमा पनि जुम्लामा गत आवमा विभिन्न २० प्ररकारका २० टन २ सय क्विन्टल जडिबुटी संकलन तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको छ । त्यसैगरी सेचक चिनी साढे २ टन, चिराइतो ९ क्विन्टल, तितेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन, सुगन्धवाला (सुमायो) १ टन ५ क्विन्टल निर्यात भएको छ ।
जुम्लाका ७३ जना व्यापारी तथा स्थानीयले गत आवमा जडिबुटी संकलन तथा बिक्री गरेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

४० लाख राजस्व संकलन
जुम्लामा गएको आर्थिक वर्षमा डिभिजन वन कार्यालय जुम्लाले ४० लाख राजस्व संकलन गरेको छ । जसमा जडिबुटी संकलन बापत २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरण बापत १० लाख ७६ हजार राजस्व संकलन भएको छ । आव २०७५/०७६ मा जडिबुटी संकलनबाट १ लाख ३८ हजार र २०७६/०७७ मा २१ लाख २८ हजार राजस्व संकलन भएको थियो ।
तर विगतको दुई आर्थिक वर्षको भन्दा आव २०७७/०७८ मा भने २९ लाखको राजस्व संकलन भएको डिभिजन वन कार्यालका सूचना अधिकारी खड्कबहादुर महतले जानकारी दिए ।
उनका अनुसार जुम्लामा संकलन हुने २० प्ररकारका जडिबुटी मध्ये यार्सागुम्बाबाट १२ लाख ३० हजार, सेतकचिनीबाट ४ लाख २० हजार विषजराबाट १ लाख ४१ हजार, धुपीबाट ७० हजार राजस्व संकलन भएको छ । त्यस्तै, कालादानाबाट ५५ हजार ३ सय, रातो च्याउबाट ५५ हजार पाखनबेदबाट १ लाख ८६ हजार, वन लसुनबाट २० हजार ५ सय पदमचालबाट १७ हजार ५ सयलगायत २० प्रकारका जटिबुटी संकलन बापत २९ लाख राजस्व संकलन भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी महतले बताए ।

प्रतिक्रिया दिनुहोस्