माछा पालनमा रमाउँदै वडाध्यक्ष «

माछा पालनमा रमाउँदै वडाध्यक्ष


नागरिकका इच्छा चाहना आकांक्षा पूरा गर्न अध्यक्षको पदमा होमिएर विजय भएका वडाध्यक्ष हुन् कञ्चनपुरको बेलौरी नगरपालिका ४ का अर्जुन ढकाल ।
नागरिकको सेवा प्रवाहसँगै अध्यक्ष ढकाल माछा पालनमा पनि सक्रिय छन् । साँझ बिहान आफ्नो व्यवसाय हेरविचार गर्ने उनी कार्यालयको समयमा भने जनताको काममा व्यस्त देखिन्छन् । झण्डै २ वर्षदेखि माछा पालन गर्दै आएका उनी पछिल्लो समयमा एकपछि अर्काे व्यवसाय पनि सुरु गर्दै गएका छन् ।
आफ्नै खेतमा माछापालन व्यवसाय सुरु गरेका उनले आफ्नो व्यवसायमा एक करोड भन्दा बढी लगानी गरिसकेका छन् । स्वदेशमा नै उत्पादन गर्नुपर्ने मान्यताका आधारमा वडाध्यक्ष ढकालले डेढ विघा क्षेत्रफलमा माछा पालन, कुखुरा पालनलगायतका व्यवसाय सुरु गरेका छन् ।
“सुरुमा पाँच लाख लगानी गरेर व्यवसाय सुरु गरेको थिएँ, लगानी गरेको दोस्रो वर्षमा लगानीको दोब्बर फाइदा भयो” वडाध्यक्ष ढकालले भने, “त्यसपछि लगानी बढाएर व्यवसाय पनि फराकिलो गर्दै गए, अहिले आएर माछापालन, बंगुरपालन, कुखुरापालनलगायत अन्य धेरै व्यवसाय सुरु भएको छ ।” यस्तै अध्यक्ष ढकालले व्यवसाय थप गरेसँगै अहिले चल्ला उत्पादन गर्ने ह्याचरी मेसिनसमेत जोडेका छन् ।
विगतमा भारतबाट आउने अवैध माछाको प्रयोग गर्दै आएका यस क्षेत्रका नागरिक अहिले स्वदेशमा पालेका ताजा माछा उपभोगसमेत गरिरहेका छन् ।
राजनीतिसँगै व्यवसाय गरेका ढकालले ५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । उनले फर्ममा ५ जनालाई मासिक रुपमा हेरचाह गर्न र १० जनालाई दैनिक ज्यालादारीमा रोजगारी प्रदान गरेको अवस्था छ । आफ्नो व्यवसायलाई अगाडी बढाउने उद्देश्यका साथ ढकालले रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी पनि गरेका छन् ।
“जिल्लाको दक्षिणी भेगमा सेमिनार गोष्ठी गर्नको लागि त्यति राम्रो सुविधा भएको ठाउँ कतै देखिँदैन, आफ्नो व्यवसायसँगै रेष्टुरेन्ट निर्माण गर्ने योजना पश्चात अहिले रेष्टुरेन्ट बनाउने कार्य पनि चलिरहेको छ” उनले भने, “स्थानीय स्तरमा भएको उत्पादनलाई सोही स्थानामा बजार बनाउनु पर्छ भन्ने उद्देश्य हो, जसका लागि रेष्टुरेन्ट निर्माण तथा अन्य विभिन्न कार्यमा ठूलो लगानी लगाइएको हो”
बेलौरी बजारमा घर भएका ढकालले २०४८ सालमा कपडा पसल सञ्चालन गर्दै आएका छन् । उनका बुबाले सुरु गरेको कपडा पसल समेत उनले चलाउँदै आएका छन् । व्यवसायमा चासो भएका ढकालले हार्डवेयरको पसलसमेत चलाइसकेका छन् । आफू राजनीतिमा आएका कारणले हार्डवेयर पसलमा समय दिन नसकेकाले छाडेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्