प्रविधिको प्रयोग बढाउने प्रयास «

प्रविधिको प्रयोग बढाउने प्रयास

सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पुर्याउने उद्देश्यले क्यान महासंघको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान इन्फोटेक मेला सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्याइने बताए । मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गरे ।
“सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पुर्याउने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पुर्याउन सकिन्छ, तपाईं सरोकार भएका सबैको साथ चाहिन्छ । अहिले बलियो सरकार छ, नीति र बजेटमा व्यवस्थापन गर्न सकिन्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने ।
बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिए । प्रविधिको महत्वलाई ध्यानमा दिएर निर्माण हुने औद्योगिक क्षेत्रमा सूचना प्रविधिको क्षेत्रलाई स्थान छुट्याउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री बाँस्कोटाको भनाइ छ ।
उद्योग प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार उत्साहित रहेकाले नीतिगत सुधारमा कुनै कञ्जुस्याइँ गर्दैन भन्दै उनले व्यवसायीले पनि लगानीलाई पारदर्शी बनाई परिवर्तनलाई गति दिने गरी अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले प्रविधिको पहुँच दुर्गम गाउँसम्म पुर्याउन सरकार र निजी क्षेत्रको साझेदारितामा जोड दिए ।
सुविसु इन्टरनेट प्रालिका अध्यक्ष सुधीर पराजुली र ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले आधुनिक सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गरी रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए भने क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सरकारले लिएको ‘डिजिटल ट्रान्सफरमेशन’ को अवधारणलाई सार्थक तुल्याउन संस्थाले प्रविधि प्रवद्र्धनात्मक कामलाई तीव्रता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्