वीरगन्ज वाणिज्य संघका पदाधिकारीको शपथ «

वीरगन्ज वाणिज्य संघका पदाधिकारीको शपथ

वीरगन्ज-वीरगन्जका निजी क्षेत्रको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण सोमबार सम्पन्न भएको छ । पुस २७ गते भएको संघको ४३ औं साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचन अधिकृत बालमुकुन्द खरेलले शपथग्रहण गराएका थिए ।
तीन दशक लामो सांगठनिक जीवन व्यतीत गरेका नवनिर्वाचित अध्यक्ष केडियाले औद्योगिक करिडोरमा सीसीटीभी क्यामेरा, केमिकलसहितको वारुणयन्त्रको व्यवस्था गर्ने, बाराको सिमरास्थित विमानस्थललाई स्तरोन्नति र ठूला सहर तथा भारतीय सहरहरूसम्म सञ्जाल विस्तार गर्न पहल गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
वीरगन्जका उद्योगी व्यवसायीहरू सदियौंदेखि नै पीडित हुँदै आएको ऊर्जा स्रोतमा अहिले केही राहत भए पनि फेरि महशुल वृद्धि गरेर उद्योगको उत्पादनमा थप लागत बढाउने काम भएकाले त्यसप्रति ध्यान दिन सरकारसँग आग्रह पनि गरे । साथै उनले पूर्वाधार निर्माण र त्यसका लागि आवश्यक निर्माण सामग्रीहरूको उत्पादनमा लाग्ने मुख्य कच्चा पदार्थको डस्टी कार्गो भण्डारणका लागि छुट्टै व्यवस्थामा पनि आपूmले ध्यान दिने बताए ।
निम्न मध्यमवर्गीय व्यवसायी र आपूmलाई श्रमजीवी व्यवसायी भनेर रुचाउने अध्यक्ष केडिया वीरगन्ज उद्योग वाणिज्य संघमा २०४८ सालदेखि नै साधारण सदस्य रही काम गर्दै आएका छन् ।
अध्यक्ष केडियामा संगठन सञ्चालनमा लामो अनुभव पनि रहेकाले अहिले परिवर्तित अवस्थाको राज्य संरचनाअन्तर्गतको प्रदेश नम्बर २ को सरकार तथा संघीय सरकार र स्थानीय सरकारसँग पनि सहकार्य गरेर जान वीरगन्ज उद्योग वाणिज्य संघ तत्पर रहेको बताए । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मुलुकमा कतिखेर के हुन्छ भन्नेमा अझै शशंकित रहेको बताए ।
नेपालका उद्योगी व्यवसायीहरू कति शोसित र शासित छन् भन्ने आफैंले सोच्नुपर्छ, उनले भने । सिंहदरबारमा बस्नेहरूले बदनियतपूर्ण नीति नै आजको कारक हो । स्वभावैले उद्योगी व्यवसायी, लगानीकर्ताले सेवाको भावले लगानी गर्दैन । जसले उद्योग व्यवसाय गर्छन्, लगानी गर्छन् उनीहरूले हजारौलाई रोजागरी दिन्छ राज्यलाई कर तिर्छ ।
भौतिक पूर्वाधारको निर्माण हुन्छ र मुलुक विकसित हुन्छ, समृद्धि हुन्छ । सिंहदरबारमा बसेर उद्योगीहरूलाई शोषण गर्ने र निजी क्षेत्रलाई कहाँ कानुको दफा हेराएर दुःख दिन सक्छ भनेर कर्मचारीतन्त्र पनि लागि पर्ने गरेको उनले आरोप लगाए ।
उद्योगी–व्यवसायीहरूलाई कानुनको कार्यान्वयन गर्नेहरू निजी क्षेत्र कहाँ कमजोर हुन्छन् त्यो मौका हेरिरहेका हुन्छन् । नेपालमा संविधान जारी हुने क्रममा धेरै असन्तुष्टि आएको र अझै पनि संविधान संशोधनको माग भइरहेको छ ।
संविधान सबैको दस्तावेज बन्छ भनेर नै सरकारमा सहभागि भएको बताउँदै उनले संविधानले दिएको अधिकारले नै सहअस्तित्वको संघीयता संवैधानिक प्रावधान रहेको बताए । संविधानले दिएको अक्षरशः कार्यान्वयन गर्न दिए निजी क्षेत्रको समस्या प्रदेशबाटै समाधान हुने दाबी उनले गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेपालका व्यापारघाटा चुलिँदो रहेको र शेधानान्तर घाटा बढ्दै गयो भने इन्धन आयात र औषधिको उपभोगमा पनि चुनौती देखिने सम्भावना रहेको छ । अहिले निर्यातलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । अर्को चुनौती भनेको सेयर बजारको अवस्था पनि हो ।
मध्यमवर्गीय व्यवसायीहरूको अर्बौं रुपैयाँ जोखिममा रहेको र निजी क्षेत्रको घट्दो साख पनि एउटा चिन्ताको विषय भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । भर्खरै आएका श्रमिक ऐन, सामाजिक सुरक्षा ऐनलगायतका कानुनहरू निजी क्षेत्रसँग कुनै छलफल नै नगरी ल्याइएको छ ।
श्रम समस्यामा सुधार आए पनि अझै उत्पादकत्वमा सुधार आउन सकेको छैन । व्यापार गर्ने मूल्य धेरै बढी भएको छ । विश्व व्यापारसँग आबद्ध भएका छौं, त्यसैले विश्व व्यापारसँग प्रतिस्पर्धी हुनुपर्नेछ । सहकार्य गरेर व्यापार गर्ने मूल्यमा न्यूनीकरण गर्नुपर्ने चुनौती छ । पूर्वाधार निर्माण नभएसम्म यो व्यापार मूल्य घटाउन चुनौती रहेको उनले बताए ।
ऊर्जाको व्यवस्था भए पनि अझै गुणात्मक सुधार हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले वृद्धि गरेको डेडिकेटेड लाइनको महसुलले उद्योग सञ्चालन गर्न नसकिने बताए । बैंकहरूको ब्याजदर पनि निजी क्षेत्रका लागि चुनौती छ । आर्थिक लाभको उद्देश्यले गरिएको अनुगमन निजी क्षेत्रलाई स्वीकार्य नहुने पनि उनले बताए । यसको विरुद्ध सम्पूर्ण निजीक्षेत्रहरू एकाबद्ध हुनुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोरकुमार श्रेष्ठले सरकार निजी क्षेत्रसँग हात मिलाएर जान नसकेको आरोप लगाए । भ्रष्टाचार र चोरीको दृष्टिले अझै सरकारले हेर्ने गरेकाले आर्थिक विकासको सपना दिवास्वप्न जस्तै भएको उनको भनाइ थियो । अब प्रदेश सरकारहरूले नै पहल गर्नुपर्छ । प्रदेश नम्बर २ ले अब हात्ती बनेर लम्कनुपर्छ । यसमा निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्