Logo

कांग्रेस नेताका नामका अस्पताल संघीय सरकार मातहतमै

सरकारले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्वय स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि सो अस्पतालका बारेमा गरेको निर्णय सच्याउँदै संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको हो ।
गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाका नाममा रहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा सरकारले नराखेपछि कांग्रेसले संसद् र सडक दुवैतिर विरोध जारी राखेको छ । कांग्रेसले ती अस्पतालहरु संघीय सरकार मातहतनै राख्नुपर्ने माग गर्दै आएको थियो ।
मन्त्रीपरिषद् बैठकले कांग्रेसले अघि सारेको मागअनुसार नै दुवै अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । संसद्को आगामी बैठकमा यसका बारेमा संसद्लाई जानकारी दिने उनले जनाए । यसअघि स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रीपरिषद्मा पठाएका विभिन्न ११ अस्पतालमध्ये यी दुईलाई हटाएर प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्