ईपीएसका श्रमिक पठाउने तयारी «

ईपीएसका श्रमिक पठाउने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कारोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधिबीच छलफल भएको हो ।
कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्पmबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडान समेत बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारहरुको उडान प्रक्रिया रोकिएको करिब १९ महिनाभन्दा बढी भइसकेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । शाखाका निर्देशक सुरेश राउतले कोरिया र नेपालमा कोरोना संक्रमणदर कम भएपछि लैजाने सम्बन्धमा छलफल भएको बताए । ईपीएस अन्तर्गत हालसम्म करिब ६५ हजार नेपाली युवा कोरिया पुगिसकेका छन् ।
नेपाली कामदार कर्तव्यनिष्ठ, इमानदार, लगनशील र मेहनति भएकाले कोरियन रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक रहेको निर्देशक राउतले बताए ।
नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रिया सुचारु गर्नका लागि नेपाल सरकारको तर्फबाट विभिन्न चरणमा एचआरडी कोरिया समक्ष प्रयास भइरहेको छ ।
सन् २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यू भएका १० हजारभन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । यसमध्ये कोरियामा ४ वर्ष १० महिना काम गरेर पुन जाने गरी आएका श्रमिकको संख्या ३ हजार र नयाँ ७ हजार जना उडान खुला भएपछि जाने तयारीमा रहेका छन् । यसमध्ये पहिलो चरणको लकडाउनपछि ४ हजार २२४ युवाको कोरियाका रोजगारदातासँग श्रम सम्झौता भए पनि जान पाएका छैनन् । यसैगरी कोरोना संक्रमणका बीच नै २ हजार ५१९ युवा भिसा लागेर जान पाएका छैनन् । पछिल्लो समय कोरियन पक्षले राखेका शर्त अनुसार कोरोना बिमा, सिधा उडान र कोरिया प्रवेशपछि क्वारेन्टाइनका सम्बन्धमा काम भएको भए पनि संक्रमणका कारण उडान सुचारु हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्