पर्यटन क्षेत्र खुला गर्न व्यवसायीको माग «

पर्यटन क्षेत्र खुला गर्न व्यवसायीको माग


कारोना महामारीपछि पर्यटन क्षेत्रमा देखिएको असहज अवस्था हटाउँदै खुला गरिनुपर्ने माग व्यवसायीले गरेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको समन्वयमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोभिडका कारण बन्द रहेको पर्यटन क्षेत्रलाई अब विस्तारै सहज अवस्थामा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् ।
नेपालका प्रायः गन्तव्यहरुमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीहरुले भ्याक्सिन लगाइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले तत्कालै ‘पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउनुपर्ने, सुरक्षित गन्तव्यमा हुने गतिविधिबारे प्रचार गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिसिआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाई पर्यटकको भ्रमणका लागि सहज वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।
कोभिडको खोपका आधारमा पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा व्यवसायीले जोड दिएका थिए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका महासचिव सरिता लामाले सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने सिजन सेप्टेम्बर–नोभेम्बरबाट पनि व्यवसायीले लाभ लिन नपाउने बताइन् । “पर्यटकले नेपाल आउन चासो राखेका छन् । सरकारले १० दिन क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ,” उनले भनिन्, “नेपाली विदेशबाट आउँदा क्वारेन्टाइन बस्ने नियम छैन । विदेशी पर्यटकलाई मात्र यस्तो नियमले कोराना नियन्त्रणमा कसरी सहयोग पुग्छ ?”
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले आफूले गरेको अध्ययनमा मुख्य पर्यटकीय गन्तव्यमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी कर्मचारीले पूर्ण डोज नै खोप लगाएको पाएकाले पर्यटन क्षेत्रलाई तुरुन्तै चलायमान बनाउनुपर्ने बताए । पाटा मुख्यालयका सचिव एवं पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउँदै अनअराइभल भिसा दिएर विदेशमा पिसिआर गरेका आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पिसिआर परीक्षण गर्ने व्यवस्था गरेर पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्नु आवश्यक रहेको बताए ।
पर्यटन विज्ञ तथा व्यवसायी राज ज्ञवालीले ६ महिनादेखि सरकारले ट्राभल एडभाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको बताउँदै सरकारले तत्काल एडभाइजरी जारी गर्नुपर्ने बताए । जवाफमा अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा पर्यटक भिषा दिनुपर्ने गरी मन्त्रीपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको र अनअराइभल भिसा पुनः सुचारु गर्ने निर्णय गराउन विभाग सकारात्मक रहेको उल्लेख गरे । होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष सिर्जना राणाले पर्यटकीय गन्तव्य खुला गर्नुको साथै नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाहमा काम गर्नुपर्ने बताइन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने तर पर्यटक ल्याउँदा मात्र कोरोना संक्रमण बढ्छ भन्ने सरकारको सोचले पर्यटन क्षेत्रलाई थप धरासायी हुने धारणा राखे ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले निजी क्षेत्रले एकमतका साथ उठाएको मागलाई सरकारले सम्बोधन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए । नेपाल पर्यटन बोर्डका मार्केटिङ विभाग प्रमुख लक्ष्मण गौतमले व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।

क्यासिनो खोल्ने तयारी
व्यवसायीले कोरोनाका कारण बन्द रहेका क्यासिनो सञ्चालनको तयारी गरेका छन् । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १७ भदौदेखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक संघले जनाएको छ । व्यवसायीले एक-दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्