नेप्से ४४ अंकले घट्यो «

नेप्से ४४ अंकले घट्यो

अघिल्लो दिन कीर्तिमानी छलाङ मार्दै उच्च अंकले बढेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार पुनः उच्च अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार ४४.१८ अंकले घटेर २९३६.६० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ अंकमा उक्लिएको थियो । तर, मंगलबार सेयर बजार परिसूचक १.४८ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकममा समेत ठूलो कमी देखिएको छ । दिनभर कुल २२२ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन एक करोड ७९ लाख कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको किनबेच भएको थियो ।
यस्तै, मंगलबार अन्य र म्युचुुअल फण्ड समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । होटेल र पर्यटन, निर्जिवन बीमा, लघुवित्त समहूका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् भने सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरि, आरएमडीसी लघुवित्त र रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले मंगलबार सर्वाधिक गुमाएका छन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जाको सीमा विवादमा सेयर बजारमा निकै ठूलो उतरचढाब देखिएको छ । केन्द्रीय बैंकलाई गलत सावित गर्न केही लगानीकर्ता लाखांै लगानीकर्ताको भविष्यसँग खेलबाड गरिरहेको सेयर बजार विश्लेषक बताउँछन् ।
यसैबीच, सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्री प्रकरणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सिताराम अग्रवालकी छोरी शिखा अग्रवालको बैंक स्टेटमेन्ट माग गरेको छ । बोर्ड अध्यक्ष ढुंगानाले कानुनविपरीत छोरीको नाममा सेयर खरिद गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्