वैदेशिक रोजगारमा गएका युवाको पनि सञ्चय कोष «

वैदेशिक रोजगारमा गएका युवाको पनि सञ्चय कोष

काठमाडौं-सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई लक्षित गरी आगामी साउनदेखि वैदेशिक रोजगार सञ्चय कोषको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि क्रमशः वैदेशिक रोजगारीमा गएका युवा र त्यसपछि गैरआवासीय नेपालीलाई समेत सञ्चय कोषको दायरामा ल्याउने गरी सरकारले योजना सार्वजनिक गरेको हो । यो योजनामा सहभागी हुने वैदेशिक रोजगारीमा रहेका व्यक्तिले वार्षिक न्यूनतम् २४ हजारदेखि अधिकतम् ३ लाख रूपैयाँको सीमाभित्र रही आफ्नो वित्तीय क्षमताअनुसार रकम जम्मा गर्नुपर्ने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव महेशप्रसाद दाहालको संयोजकत्वमा अर्थ, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, सामाजिक सुरक्षा कोषका प्रतिनिधि र स्वतन्त्र विज्ञ समूहको अध्ययन टोलीले सञ्चयकोष योजना सञ्चालन अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै साउनदेखि सञ्चालन गर्न सुझाव दिएको छ । सञ्चयकोष योजनामा नेपालबाट श्रम स्वीकृती लिएर गएका नेपाली श्रमिक, विदेशमा व्यवसाय गरिरहेका नेपाली र गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सामेल गर्ने योजना छ । प्रतिवेदन बुझ्दै श्रममन्त्री गोकर्ण बिष्टले योजना कार्यान्वयन गर्दा नमूनाका रूपमा वैदेशिक रोजगारमा धेरै नेपाली कार्यरत देशमध्येबाट उपयुक्त देश छनोट गरी कार्यक्रम सुरु गरिने बताए । “यो योजना सुरु गर्दा कामदार विदेश जानुअघि नै योजनामा सूचीकृत गर्ने योजना छ,” मन्त्री बिष्टले भने, “योजना लागू हुनुपूर्व नै वैदेशिक रोजगारीमा रहेका कामदारका हकमा श्रम स्वीकृती नवीकरण गर्दा नै सम्बन्धित नेपाली नियोग र कार्यालयबाट योजनामा सूचीकृत हुने व्यवस्था मिलाइने छ ।”
वैदेशिक रोजगारीमा रहेका नेपालीले सञ्चयकोषमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा रकम जम्मा गर्न सक्ने जनाइएको छ । विदेशमा रहेका सञ्चयकर्ता श्रमिकको सञ्चय रकम बिप्रेषण भिœयाउने काम गरिरहेका बैंक तथा वित्तीय संस्थामार्फत पठाउने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । सरकार क्रमशः योगदानको रकम सम्बन्धित रोजगारदाताले नै जम्मा गरिदिनुपर्ने व्यवस्था मिलाउन सरकारीस्तरबाट कूटनीतिक र द्विपक्षीय श्रम सम्झौतामा नै उल्लेख गर्ने गरी व्यवस्था गर्ने भएको छ । यसरी सञ्चयकोषको दायरामा आउने श्रमिकका परिवारको कम्तिमा एक सदस्यको स्वास्थ्य र दुर्घटना बिमासमेत समावेश हुने जनाइएको छ । योगदानकर्ताको व्यक्तिगत खातामा जम्मा भएको रकमलाई योगदानकर्ता ६० वर्ष पूरा भएमा वा शारिरीक एवम् मानसिक अशक्तता भएमा वा वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेश फर्किएमा वा नियमित ३ वर्षसम्म योगदान नगरेमा वा योजना खारेज भएमा वा योगदानकर्ताको मृत्यु भएमा एकमुष्ट भुक्तानी गरिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
योगदानकर्ताले चाहेमा योजनाको रकम निवृत्तिभरण योजनामा रूपान्तरण गर्न सकिने व्यवस्था गरिने छ । वैदेशिक रोजगारी अन्त्य भई स्वदेश फर्किएका योगदानकर्ताले नेपालमा कुनै रोजगारीमा आबद्ध भई सञ्चय कोष, अवकास कोष वा सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने र रकम नयाँ योजनामा सार्न सकिने छ । वैदेशिक रोजगारी सञ्चय कोष र सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने कामको जिम्मा कर्मचारी सञ्चय कोषलाई दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्