२१० मेगावाटको अर्धजलाशययुक्त चैनपुर सेती जलविद्युत् आयोजना निर्माण हुँदै «

२१० मेगावाटको अर्धजलाशययुक्त चैनपुर सेती जलविद्युत् आयोजना निर्माण हुँदै


बझाङमा २ सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको छ । विगत चार वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अगाडि बढाउने भएसँगै बझाङमा २ सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण हुने भएको हो ।
प्राधिकरणले महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्टीमा निर्माण हुने भएको हो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेन्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम सुरु भइरहेको छ ।
अर्धजलाशययुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ । चैनपुर सेती जलविद्युत् आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठका अनुसार अहिलेसम्मको अध्ययनअनुसार अरू आयोजनाका तुलनामा कम लागतमा उच्च प्रतिफल दिने आयोजना रहेको छ ।
सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २ सय १० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा चैनपुर सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन लागिएको उनको भनाइ छ । निर्माण कार्य सुरु गरेको समयदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको लागत अनुमान बैंक ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ ।
आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाउँमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २ सय ३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने उनको भनाइ छ ।
आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रा स्ट्रक्चर बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनीसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय व्यवस्थापनको मोडालिटीमा छलफल भइरहेको छ ।
आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत् विकास विभागमार्फत स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकेको छ । एक डेढ वर्षअघि नै पहिलो चरणको भौगर्भिक अध्ययन सकेर अहिले दोस्रो चरणको भौगर्भिक अध्ययनको काम भइरहेको छ ।
आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भइसकेको छ । मुआब्जा निर्धारण नभएको जग्गा अधिग्रहण हुनेबारेमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहराज अधिकारीले बताए । उनले भने, “हामीले आयोजना बन्न लागेको क्षेत्रका बासिन्दालाई पत्र पठाएका छांै । स्थानीय सरोकारवाला निकायलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराइसकेका छौं । आयोजनाको बाँधक्षेत्रमा बस्ती नै छैन भने विद्युत् गृहक्षेत्रमा पनि एकदमै पातलो बस्ती छ । त्यसैले स्थानीयको थोरै मात्र जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्नेछ ।
आयोजनाको निर्माण सुरु भएसँगै हजारौं स्थानीयले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन् । आयोजनाका लागि चाहिने बाहिरी जनशक्तिको आवतजावत बढ्दा स्थानीय स्तरमा आयआर्जनका अवसरहरू पनि सिर्जना हुने देखिएको छ । पश्चिम नेपालकै गौरवको आयोजना भएकाले सबै पक्षबाट सहयोग गरी समयमै आयोजना सम्पन्न गराउनुपर्ने अधिकारीको भनाइ छ ।
आयोजना निर्माणका लागि टेन्डर डकुमेन्टसमेत तयार भइसकेको छ । ठेकेदार कम्पनीले नै विस्तृत इन्जिनियरिङ अध्ययन गरेर काम सुरु हुने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू एकसाथ अगाडि बढाउन लागेको छ । देशभर निर्माण भएका जलविद्युत् आयोजनाले स्थानीयको सहयोग नपाएको गुनासो गर्ने गरेका छन् ।
आयोजनाका लागि स्थानीय बासिन्दा, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले विशेष सहयोग गर्नुपर्छ । स्थानीय आयोजना निर्माण हुने भएपछि हर्षित भएका छन् । आयोजना निर्माणका लागि स्थानीयहरूको सहयोग पूरा हुने र यो आयोजना पश्चिम सेतीजस्तो चर्चामा मात्र नभई समयमै बन्नुपर्ने साइपाल गाउँपालिकाका तिलक विकको भनाइ छ ।
आयोजनाहरूको काम बन्ने चरणमा चर्चा मात्र हुने र पछि निर्माण कार्यमा ठेकेदार कम्पनीले ढिलाइ गर्ने गरेका कारण योजना अलपत्र हुने भएकाले यस आयोजनाको काम छिटो अघि बढाउनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्