अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा ११३० सामग्रीको प्रदर्शन «

अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा ११३० सामग्रीको प्रदर्शन


महिला उद्यमी महासंघको पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला समापन गरेको छ । महासंघले कोभिडका कारण भर्चुअलमार्फत् गत बिहीबादेखि सुरु गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेला सोमबार सम्पन्न गरेको हो ।
‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्ट्रिय व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्राप्त गरेको जनाएको छ । साथै सञ्जाल निर्माण, सीप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादन वृद्धि गर्ने प्लेटफर्मको रुपमा काम गर्न सफल भएको महासंघको भनाइ छ ।
नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघहरूमा आवद्घ महिला उद्यमीहरूले सहभागीता जनाएको सो भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूबाट उत्पादित सामाग्रीहरुलाई प्रर्दशन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताहरुले भर्चुअल माध्यमबाट खरिद तथा बिक्री गरेका छन् ।
मेलामा महिला उद्यमीहरूको उत्पादनहरू अनलाइन ई–पोर्टलमार्फत् प्रदर्शनी गरिएको थियो । साथै विनबीचको साइटबाट बिक्री गरिएको थियो । महासंघका अनुसार माग भई आएका सामग्रीहरु काठमाडौं उपत्यकालगायत काभे्रका बनेपा, पनौती तथा धुलिखेललगायतका शहरहरुमा डेलिभरी सेवा दिइएको जनाएको छ ।
महांसघले आयोजना गरेका भर्चुअल व्यापार मेलामा सातै वटा प्रदेशको प्रतिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्वारा उत्पादित ११ सय ३० वटा सामाग्रीलाई विभिन्न ४ समुह (हस्तकला, कृषि तथा खाद्यान्न, व्यापार र सर्भिस) मा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनी अवधिभरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल एक लाख भन्दा बढी दर्शकले भर्चुअल मेलाको अवलोकन गरेका थिए । नेपालमा नै पहिलो पटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूले आफ्ना सामाग्रीको प्रचारप्रसार गर्नुका साथै व्यवसायीदेखि उपभोक्तासम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्