अविरल वर्षाले डुबानमा काठमाडौंका केही बस्ती «

अविरल वर्षाले डुबानमा काठमाडौंका केही बस्ती

आइतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् ।
काठमाडौंका नदी किनारमा रहेका बस्तीहरुमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएको छ । काठमाडौंको थापाथली, कलंकी लगायतका नदी किनारका बस्तीहरुमा पसेको बाढीले सडक र नदी किनारमा रोकी राखेका सवारीहरु डुबाएको छ भने तरकारी बजार तथा पसलहरु डुबानमा परेका छन् । बल्खुको तरकारी बजारमा पसेको बाढीबाट करोडौं रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ । बागमती, विष्णुमती, धोबीखोला लगायतका अन्य नदीहरुमा आएको बाढीले काठमाडौंमा अहिलेसम्म ४ सय भन्दा धेरै घरहरु डुबानमा परेका छन् भने ५ सय भन्दा बढी मानिसहरुलाई उद्धार गरिएको छ । बाढीले थापाथली, बल्खु तरकारी बजार, अनामनगर क्षेत्र, सुन्दरीघाट र थापाथलीको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।
अविरल वर्षापछि पानीको सतह नदी किनारसम्म पुगेपछि आसपासका सडकहरु अवरुद्ध भएका छन् । अहिले नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेकोले अझै वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सरकारले नदी किनार आसपासका बासिन्दाहलाई शतर्क रहन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्