प्रदेश १ मा लगानी भित्र्याउन बिर्तामोड औद्योगिक महोत्सव «

प्रदेश १ मा लगानी भित्र्याउन बिर्तामोड औद्योगिक महोत्सव

झापा- पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव, २०७५ भव्यताका साथ सञ्चालन भइरहेको छ । उद्योग वाणिज्य संघ बिर्तामोडको आयोजनामा माघ ११ देखि सुरु भएको महोत्सव २३ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान लगायत देशका लगानीकर्ता, उत्पादक, निर्यातकर्तालाई एकै स्थानमा सामेल छन् । १० हजार व्यवसायी रहेको बिर्तामोडमा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव भऐको हो । महोत्सवलाई रमपम चाउचाउले प्रायोजन गरेको छ । सहप्रायोजकमा सहारा नेपाल र दृष्टि आँखा अस्पताल बिर्तामोडलगायत संस्था रहेका छन् । तीन बिघा तीन कठ्ठा क्षेत्रफलमा आयोजना गरिने सो महोत्सवको अवधिभर २ लाखलाई अवलोकन गराउने लक्ष्य आयोजकले राखेको छ ।
खुला बजार तथा सञ्चारको सर्वसुलभताले गर्दा बर्सेनि हजारौँ उत्पादन नेपाली बजारमा भित्रिइरहेका छन् । कतिपय उत्पादन उपभोक्ताको पहुँचमा सहजै पुग्न सकेको छैन । उत्पादक र ग्राहकको चाहनाअनुरूप नेपाल भित्रिएका तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै स्थलबाट अवलोकन गराउने उद्देश्य राखिएको महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी बताउँछन् । यससँगै नेपाली उत्पादन र नेपालको व्यापार अन्तर्राष्ट्रिय स्तरबाट प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको शिवाकोटीको भनाइ छ । महोत्सव सफल र उत्कृष्ट बनाउन विषय विज्ञसँगको छलफल, स्टल बुकिङका लागि विभिन्न वस्तु तथा सेवा उत्पादक डिलरसँग छलफल अघि बढाइरहेको छ ।

महोत्सवमा प्रदर्शनी हुने स्टल
जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन महोत्सवमा छन् । कृषिजन्य वस्तु, पर्यटन प्रवद्र्धनका सामग्री, अस्पताल, धार्मिक, सामाजिक संघ–संस्थाका सामग्री महोत्सवमा प्रदर्शनीमा छन् । महोत्सवमा २५० भन्दा बढी स्टल छन् । प्रदर्शनीलाई चार भागमा विभाजन गरेको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, दैनिक उपभोग्य वस्तुहरू, हस्तकला, तयारी पोसाक तथा जुत्ता चप्पल प्रदर्शनीमा छन् । व्यावसायिक प्रवद्र्धनका लागि महोत्सव भरी विभिन्न देशका व्यवसायीबीच सेमिनारको आयोजना गरिएको छ ।

विदेशी लगानीकर्ता भित्र्याउने उद्देश्य
नेपालको मैद्रिक नीतिलाई परिवर्तन गर्न सके सहज रूपमा विदेशी लगानीकर्ता नेपाल भित्र्याउन सकिने उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई बताउँछन् । देश संघीयतामा गए पनि लगानीकर्तालाई विश्वासको वातावरण बनाउन नसकेको भट्टराईको भनाइ छ । झन्झटिलो भन्सार नीति र व्यवसायीको पक्षमा आवश्यक नीति बन्न नसकेकाले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न नरुचाउने गरेको अध्यक्ष भट्टराई बताउँछन् । महत्सवले नेपाली बजारको माग र नेपालमा लगानीको वातवरणलाई विश्वसामु चिनाउने अपेक्षा संघले लिएको भट्टराई बताए । महोत्सवमा सहभागी उद्योगीले नेपालमा पाइने कच्चापदार्थ र नेपाली बजारको मागबारे प्रचार गर्ने भट्टराईको भनाइ छ ।
महोत्सवले नेपाली उत्पादनको निर्यात, व्यापार प्रवद्र्धनका लागि सहयोग पुर्याउने अपेक्षा राखिएको छ । विदेशी लगानीकर्तालाई लगानी गर्ने वातवरण महोत्सवबाट बन्ने आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले बताए । विदेशी व्यवसायीलाई नेपाली बजारको अवस्थाबारे जानकारी दिनु हाम्रो मुख्य उद्देश्य हो । शिवाकोटीले भने, “अन्तर्राष्ट्रिय बजारमा उत्पादनको वृद्धि र बजारको अभाव छ, त्यसैले विदेशी व्यवसायीले लगानी गर्ने थलो नेपाल बनाउन् भन्ने उद्देश्य हाम्रो हो ।”
१ करोड ५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक समितिका प्रवक्ता सञ्जीव घिमिरेले बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँ र विद्यार्थीको हकमा २५ रुपैयाँको टिकट राखिनेछ । महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको प्रवक्ता घिमिरेले बताउँछन् ।
पछिल्लो समय देशभरि महोत्सव आयोजना भइरहेका छन् । यसमा बिर्तामोड महोत्सवले आर्थिकक्रान्ति ल्याउने महोत्सव आयोजकको दाबी छ । विदेशी लगानीकर्तासँगको अन्तत्र्रिmया, नेपालभरि उत्पादन हुने कृषिजन्य वस्तुको प्रदर्शनी मेलाको फरकपन रहने संयोजक शिवाकोटीको भनाइ छ । महोत्सवमा झापामा बनाइने भक्कादेखि राजवंशी, धिमाल, मेचे, थारु, नेवार, लिम्बू, सन्थाल, मगर, सुनुवारलगायत समुदायका खाद्यन्न, पहिर र बासस्थानको प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न स्वास्थ्य प्रतिष्ठानको सहयोगमा स्वास्थ्य शिविर तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम रहनेछ । महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टर सेवा पनि प्रदान गरिने आयोजक समितिले जनाएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट चौबीसै घण्टा सुरक्षाको व्यवस्था, सरकारी सुरक्षाकर्मीको समन्वयमा निजी सुरक्षाकर्मीबाट सुरक्षा व्यवस्था गरिएको छ ।
लगानी गर्ने सकिने भूगोल प्रदेश–१ मा प्रशस्त भए पनि औद्योगिक क्षेत्रको विकास अझैँ हुन नसकेको उद्योग वाणिज्य संघ प्रदेश–१ का सदस्य बलराम कार्की बताउँछन् । आवश्यक कच्चापदार्थ नेपालमा उपलब्ध नहुनु, भन्सार दररेट उच्च हुनुलगायत समस्याले लगानीकर्ताले लगानी गर्न नरुचाउने गरेको कार्की सुनाउँछन् । “केही लगानीकर्ता स्थापित हुन नपाउँदै राजनीतीकरण सुरु हुन्छ,” कार्कीले भने, “उद्योगी र मजदुरबीच समन्वय गराउने किसिमको नीति राज्यले बनाउनुपर्छ ।”
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउने लक्ष्य प्रदेश कर्यासमितिले राखेको उनी बताउँछन् । “म पनि महोत्सवलाई नियालिरहेको छु, यो महोत्सव विल्कुलै फरक छ, आर्थिक समृद्धि हासिल गर्न महोत्सवले टेवा पुर्याउँछ” कार्कीले भने ।

महोत्सवको आकर्षण कञ्चनपुरको विजयसाल
झापाको बिर्तामोडमा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ सुरु भएको छ । उद्योग वाणिज्य संघ बिर्तामोडको आयोजनामा शुक्रबार सुरु भएको १३ दिने महोत्सवमा हस्तकलाद्वारा निर्मित सामान अवलोकन गर्ने र किन्नेको संख्या बढिरहेको आयोजकले बताएको छ ।
सुदूरपश्चिमको कञ्चनपुरबाट ल्याइएको ‘विजयसालका अम्खरा’ स्वास्थ्यका लागि हितकर भएकाले किन्नेको संख्या बढेको महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को मेरिट काष्ठकला उद्योगमा निर्मित विजयसालका अम्खरा, बोक्रा, खोटोले अवलोकनकर्ताको ध्यानखिच्न सफल भएको उद्योगका बजार व्यवस्थापक पुष्प मैनालीले बताए ।
महोत्सवमा स्टल राख्न ३ लाख बढीको विजयसालका सामग्री ल्याएर पुष्प र पुजा मैनाली बिर्तामोड आएका छन् । विजयसालको भाडोमा राखेको पानी पिउँदा मुख्यतया पेटसम्बन्धी विभिन्न रोग निको हुने गर्छ । “औषधिका रूपमा समेत प्रयोग हुने यसको महत्व बुझ्ने जोकोही अवलोकनकर्ता आए पनि खरिद गर्नुहुन्छ” मैनालीले भने, “विजयसालको अम्खरामा राखेको पानी, बोक्रा, खोटोबाट निकालिएको रस विभिन्न रोगको उपचार हुन्छ, हामी देश र देशभन्दा बाहिर जहाँ पुग्छौँ, त्यहाँ विजयसालको माग अत्यधिक हुन्छ ।”
स्टलमा बसेका पुष्प र पूजा भाँडामा राखिएको पानी पिउँदा हुने फाइदाका बारेमा बताउन र बिक्री गर्न व्यस्त देखिन्छन् । उनीहरू तीन दिनमा हजार रुयैयाँबराबरको विजयसालका सामग्री बेच्न सफल भएका छन् । “विजयसालको भाँडामा राखेको पानी पिएमा मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने, हाडजोर्नी दुख्ने लगायतका बिरामीलाई फाइदा पुग्छ,” पूजा भन्छिन्, “हामी धेरै स्थानमा यसको स्टल लिएर पुग्छौँ, महत्व बुझ्नेको पहिलो रोजाइ विजयसालबाट निर्मित अम्खरा पर्छ ।” स्टलसम्म आइपुग्ने कतिपय ग्राहकले आफ्नै लागि त कतिपयले उपहार दिन अम्खरा किन्ने गरेको पूजाले सुनाइन् ।
३ दिनमा ६४ हजार रुपैयाँबराबरको विजयसालबाट निर्मित सामग्री बिक्री भएको छ । महोत्सव अवलोकन गर्न आउने नेपाली तथा विदेशी नागरिकले विजयसालका भाँडा निकै मन पराएको उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । महोत्सवमा गरिएको प्रदर्शनीको सहभागिताले विजयसालका भाँडाको माग बढ्ने भट्टराई बताउँछन् । विजयसाल र अन्य स्थानबाट ल्याइएका हस्तकलाका सामग्रीले महोत्सवको गरिमा बढाएको महोत्सव आयोजक समितिका प्रवक्ता सञ्जीव घिमिरेले बताए ।
महोत्सवमा २ सयदेखि १५ सयसम्मका विजयसालका सामग्री राखिएको छ । दुर्लभ बिरुवाका रूपमा रहेको विजयसालबाट निर्मित अम्खरा जति दुर्लभ छ त्यति नै यसको उपयोगिता पनि रहेकाले विजयसालको अम्खरा किन्न आएको झापा धुलाबारीका होम घिमिरे सुनाउँछन् । दुर्लभ र लोपोन्मुख विजयसालको भाँडाकुडा लिएर छिमेकी देश चीन, भारतसम्म पुग्ने गरेको पुष्प सुनाउँछन् । एक प्याकेडको २ सय पर्ने विजयसालको धूलोले चार महिनासम्म पुग्ने उनले सुनाए । दुर्लभ र लोपोन्मुख विजयसाल विशेष गरी सुदूरपश्चिम तराईको कञ्चनपुर, कैलाली र कपिलवस्तु जिल्लामा पाइन्छ ।
महोत्सवमा मोरङ सुन्दरहरैंचा नगरपालिकाबाट ल्याइएको गुराँस, बाँस, हस्तकला अवलोकनकर्ताको रोजाइमा पर्ने गरेको रीता दाहालले बताइन् । दाहालले स्टलमा बाँसबाट बनेको घर, मन्दिर, घडी, चराचुरुङ्गी, बुद्धको मूर्ति, विभिन्न जनावरका आकृति, चुरी स्टेन, पेन स्टेन, गमला, किताव स्टेनलगायत सामग्री प्रदर्शनी गरेकी छन् । उनले १ लाख ५० हजार रुपैयाँबराबरका हस्तकला निर्मित सामग्री राखेकी छन् । तीन दिनमा २५ हजार रुपैयाँ बराबरको सामग्री बिक्री गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्