झरीले ५ करोड काँचो इँटा नष्ट «

झरीले ५ करोड काँचो इँटा नष्ट

रुपन्देही- गत बिहीबार र शुक्रबार आएको वर्षा (माघे झरी) ले रुपन्देही जिल्लामा ५ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ । बिहीबारको तुलनामा शुक्रबारको वर्षातले अझ धेरै क्षति भएको लुम्बिनी इँटा व्यवसायी संघ रुपन्देहीका महासचिव अजयकुमार गुप्ताले बताए । “हाम्रो जिल्लामा ५० वटा इँटा उद्योग छन्, एक साताबाट इटा पोल्न सुरु भएको थियो, प्रारम्भमै वर्षातले काँचो इँटा सबै नष्ट भयो, व्यवसायीलाई अर्बभन्दा बढीको नोक्सानी भएको छ,” महाससचिब गुप्ताले भने ।
“प्रत्येक इँटा उद्योगका पोल्न तयार गरिएका कम्तिमा १० लाख इँटा नोक्सान भएका छन् । सबैको गर्दा कम्तीमा ५ करोड इँटा नष्ट भएका छन्,” महासचिव गुप्ताले भने ।
काचो इँटा बनाउन मजदुरी मात्रै प्रतिगोटाको १ रुपैया ६० पैसा पर्छ । मजदुरहरू प्रायः भारतीय हुने भएकाले उनीहरूले एउटा काचो इँटा बनाएको भारतीय एक रुपैयाँका दरले भुक्तान लिने गरेका छन् । यसमा माटो, भस्कटलगायत अन्य कच्चा पदार्थसमेत गर्दा कम्तीमा ४ रुपैयाँ काचो इँटा बनाउनै लाग्ने गुप्ताको भनाइ छ । गुप्ताले आफ्नो इँटा उद्योगमा १५ लाख काँचो इँटा वर्षाले गलेर नष्ट भएको बताए ।
सबै खर्च हिसाब गर्दा रुपन्देहीका उद्योगमा मात्रै यसपटक २० करोड रुपैयाँबराबरको क्षति हुन पुगेको छ । मजदुरलाई भुक्तान गरेको रकम मात्रै ८ करोड हुन पुग्छ । गत वर्ष पनि यस्तै नोक्सानी बेहोरेका इँटा व्यवसायीलाई अहिले सुरुमै वर्षाले गलेर काँचो इँटा नष्ट भएपछि थप पीडा भएको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
सरकारले कृषि र पशुको बिमा गरेजस्तै इँटाको पनि बिमाको व्यवस्था गरिदिनुपर्ने अध्यक्ष घिमिरेले माग गरेका छन् । “एकै सिजनमा वर्षातका कारण कम्तीमा पनि ५० लाखको नोक्सानी एउटा उद्योगलाई परेको छ,” अध्यक्षले भने ।
वर्षातले आफ्नो इँटा उद्योगको कम्तीमा १२ लाख काचो इँटा नष्ट गरेको बाबा इँटा उद्योगका प्रोप्राराइटर गोविन्द ज्ञवालीले बताए । इँटा पोल्न सुरु गरेको एक साता नहुँदै बाहीर अर्को लटका लागि तयार रहेका १२ लाखजति मेरै इँटा उद्योगका काचा इँटा गलेर नष्ट भएका छन्, नराम्रो नोक्सानी बेहोर्नुप¥यो, खुला आकाशमुनि उद्योग चलाउनुपर्छ, पीडा धेरै छन्, लुम्बिनी इँटा व्यवसायी संघका सदस्य समेत रहेका ज्ञवालीले भने ।
रुपन्देहीमा उत्पादन हुने इँटाहरू रुपन्देहीका अतिरिक्त पाल्पा र स्याङ्जासमेत पुग्ने गरेका छन् । पुसदेखि वैशाख सम्म इँटा उत्पादन हुने समय हो र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहन्छ ।
इँटा उद्योग सञ्चालनमा कम्तीमा ८ बिघा जमिन क्षेत्रफल लाग्ने र काँचो इँटा बनाएर सुक्नलाई घाम आवश्यक रहेकाले खुला आकाशमुनि यो उद्योग सञ्चालनका लागि आफूहरू बाध्य रहेको तर सरकारले इँटा उद्योगलाई संरक्षण गर्नतर्फ कुनै चासो नराखेको इँटा व्यवसायीहरूको भनाइ छ ।
खुला आकाशमुनि सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था यो उद्योगमा छ । काचो इँटालाई खुला आकाशमुनि छाडनुको विकल्प नरहेको र त्यसलाई ओत लगाउने व्यवस्था गर्न असम्भव रहेको इँटा व्यवसायीहरू बताउँछन् । स्वदेशमा मजदुर अभाव भएपछि भारतबाट पहिले नै मजदुरी रकम भुक्तानी गरी कामदार ल्याउनुपर्ने, कोइला आयातमा समस्या, माटो र भस्कट अभावसमेत हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्