बजेटको लोभमा धमाधम होमस्टे दर्ता «

बजेटको लोभमा धमाधम होमस्टे दर्ता

  • होमस्टेलाई गण्डकीको ३० करोड बजेट ड्ड होमस्टेलाई गण्डकीको ३० करोड बजेट
  • २ सय २३ द्वारा अनुदानका लागि आवेदन, ३ सय चाहिँ खोज्नै कठिन

गण्डकी प्रदेश सरकारले यस वर्षमा ३ सयवटा होमस्टे बनाउने लक्ष्यका साथ पुँजीमा समेत अनुदान दिने भए पछि प्रदेशका पर्यटकीय क्षेत्रका घर गाउँमा धमाधम होमस्टे दर्ता गर्न लागिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालन कार्यविधि २०७५ ल्याएसँगै होमस्टे दर्ता प्रक्रिया सहज र स्थानीय गाउँपालिका तथा नगरपालिकामा दर्ता हुने भए पनि होमस्टे दर्ता हुने क्रम ह्वात्तै बढेको हो ।
पर्यटन कार्यालय पोखरामा दर्ता भएका होमस्टेको सङ्ख्याका आधारमा हेर्दा करिब चार गुणा बढी केही महिनामै गण्डकी प्रदेशमा नयाँ होमस्टे दर्ता भएका हुन् । मन्त्रालयले ५ लाखदेखि १५ लाखसम्म प्रतिहोमस्टेलाई पर्यटन प्रवद्र्धनमा पूर्वाधार विकास हुने गरी पुँजीगत अनुदान दिने भएसँगै गण्डकी प्रदेशका पर्यटकीय गाउँमा होमस्टे दर्ता गर्न कम्मर कसेर लागेका हुन् । गण्डकी प्रदेशमा हाल २ सय २३ वटा होमस्टेले पुँजीगत अनुदानको माग गर्दै मन्त्रालयमा आवेदन दिएको मन्त्रालयका शाखा अधिकृत राजेन्द्र प्याकुरेलले बताए । उनका अनुसार मन्त्रालयले दुई पटकसम्म होमस्टेको पुँजीगत अनुदान दिने बिषयमा आवेदन माग गर्दा हाल उक्त सङ्ख्या पुगेको बताए । पहिलो चरणमा १ सय ६९ वटा होमस्टेले आवेदन दिए भने दोस्रो पटक माग गर्दा ५४ वटा थप होमस्टेले आवेदन दिएको उनले जनाए । मन्त्रालयका शाखा अधिकृत प्याकुरेलले दिएको तथ्याङ्कका आधारमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै स्याङ्जामा ४३ र सबैभन्दा कम मनाङका २ वटा होमस्टेले आवेदन दिएका छन् । मन्त्रालयले कम्तीमा ३ सय वटा होमस्टेलाई नमुना होमस्टेका रूपमा विकास गर्दै पुँजीगत अनुदान दिनका लागि ३० करोड बजेट समेत विनियोजन गरेको मन्त्रालयका एक कर्मचारी तुल्सीराम शर्माले बताए । पुँजीगत अनुदान दिनका लागि पहिलो पटक गत कात्तिक २८ गते मंसिर २७ गतेसम्म र दोस्रो पटक १५ दिनको म्याद थप गरी पुस १४ देखि २९ गतेसम्म सुचना प्रकाशित गरी दरखास्त आह्वान गरिएको उनले जनाए ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गरी आर्थिक विकास गर्ने उद्देश्यले होमस्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पुँजीगत अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ ल्याएको छ ।
पर्यटकीय गण्डकी प्रदेशको समृद्धि र विकासका लागि पर्यटन क्षेत्र पहिलो प्राथमिकता दिने भएको छ । होमस्टेको प्रवद्र्धनमार्फत ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गर्दै तथा आम्दानी वृद्धिमा सहयोग पु¥याउँदै ग्रामीण क्षेत्रमा रहेका सम्भाव्य गाउँबस्तीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न पनि कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
होमस्टेको माध्यमबाट ग्रामीण पर्यटनको विकास, प्रवद्र्धन, व्यवस्थापन र नियमन गर्न गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालन कार्यविधि, २०७५ जारी गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम बजेट वक्तव्यमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्नका लागि तीन सय गाउँलाई नमुना पर्यटकीय गाउँका रूपमा विकास गर्न होमस्टे पर्यटन पूर्वाधार विकास गर्न पुँजीगत अनुदान दिने कार्यक्रम सञ्चालन गर्न लागेको हो । मन्त्रालयले केही दायरा राखेको छ जुन दायरा पूरा गर्ने सामुदायिक होमस्टेहरूले ५ लाखदेखि १५ लाखसम्म पाउन सक्ने भएका छन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोभ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले मन्त्रालयले होमस्टे प्रवद्र्धनमा पुँजीगत अनुदान दिने सम्बन्धी कार्यविधि ल्याएसँगै होमस्टेको सङ्ख्यामा वृद्धि भएको बताए । प्रदेश सरकारले होमस्टे प्रवद्र्धन कार्यक्रम ल्याउनुपूर्व गण्डकी प्रदेशमा करिब ४० वटा होमस्टेहरू रहेकोमा हाल २ सयको हाराहारीमा होमस्टेको सङख्या पुग्नु निकै खुसीको कुरा भएको उनले बताए । प्रदेश सरकारले ३ सय होमस्टे प्रवद्र्धन गर्ने लक्ष्य राखे पनि हालसम्म करिब दुईवटा होमस्टे मात्र दर्ता प्रक्रियाबाट हालै सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्ट प्रवद्र्धनमा पुँजीगत अनुदान ५ लाखदेखि १५ लाखसम्म दिने भए पनि गण्डकी प्रदेशमा होमस्टे दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकारले गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टेलाई पुँजीगत अनुदान दिने निर्णयसँगै विभिन्न पर्यटकीय गाउँमा होमस्टे स्थापना भएका छन् ।
लमजुङको राइनसकोट सामुदायिक होमस्टे तथा कास्कीको चिलाउनेखर्क सामुदायिक होमस्टे हालै स्थानीय तहमा दर्ता गरी सञ्चालनमा आएका छन् । यी प्रतिनिधि होमस्टेका पात्र मात्र हुन् । यस्ता अन्य होमस्टे हाल धमाधम स्थापनाको तयारी भएका छन् । राइनसकोट सामुदायिक होमस्टेकी कोषाध्यक्ष विष्णुमाया गुरुङले गण्डकी प्रदेश सरकारले होमस्टे अभियान सञ्चालन गरेकोले आफूहरूले गाउँ पर्यटन प्रवद्र्धन गर्न होमस्टे हालै स्थानीय तहमा दर्ता गरेको बताइन् । करिब ४५ लाखको लागतमा सामुदायिक भवन निर्माण गर्ने आफूहरूको योजना रहेको उनले बताइन् । १३ घरमा हाल होमस्टे सञ्चालन भएकोमा हाल एकै रातमा भने ८० जनासम्म व्यवस्थापन गर्न सकिने उनले जनाइन् । पोखरा महानगरपालिका २१ मा रहेको चिलाउनेखर्क सामुदायिक होमस्टेमा हाल २२ घरमा होमस्टे रहेको चिलाउनेखर्क सामुदायिक होमस्टेका सचिव कृष्णबहादुर थापामगरले बताए । करिब ६५ घर परिवार मगर बस्ती रहेको गाउँ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि हालै आफुहरूले होमस्टे दर्ता गरिएको सचिव मगरले जनाए ।

प्रतिक्रिया दिनुहोस्