डिजेल र पेट्रोलको मूल्य बढ्यो «

डिजेल र पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले मंगलबार पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएकाले डिजेल र मटीतेलमा दुई रुपैयाँ तथा पेट्रोलमा प्रतिलिटरमा एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ र डिजेल तथा मटीतेल ८१ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको जानकारी दिएको छ । मूल्य समायोजनपछि पनि निगमलाई अझै १५ दिनमा १९ करोड रुपैयाँ घाटा छ । मूल्य समायोजनपछि डिजेलमा ३ रुपैयाँ ५३ पैसा घाटा छ भने पेट्रोलमा २ रुपैयाँ ६७ पैसा नाफा छ । एलपी ग्यासमा २ सय ८ रुपैयाँ घाटा भए पनि मटीतेल र हवाई इन्धनमा नाफा छ ।
कच्चा तेलको मूल्य उकालो
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य क्रमिक रूपमा उकालो लाग्दै गएको छ । तेल उत्पादन गर्ने संस्था ओपेकले उत्पादनमा कटौती गर्नु, सिरियामा भएको हमला, इरानसँग अमेरिकी वाकयुद्धजस्ता कारणले गर्दा कच्चा तेलको मूल्य बढ्दै गएको हो । ओपेकले मूल्य बढाउनका लागि इन्धनको कोटा कटौति गरेसँगै कच्चा पदार्थको मूल्य बढ्दै गएको हो । कच्चा तेलको मूल्य अझै बढ्नसक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । तीन महिनादेखि अन्तराष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य क्रमिक रुपमा उकालो लाग्दै आएको छ । प्रतिब्यारेल ३३ डलर रहेको कच्चा तेलको मूल्य बुधबार बढेर ६९.७० डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि भारतीय बजारमा पनि इन्धनको मूल्य बढिरहेको छ । भारतमा प्रतिलिटर पेट्रोल ७१ रुपैयाँ ३९ पैसा (भारु) र डिजेलको मूल्य ६२ रुपैयाँ ६ पैसा रहेको छ ।
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ओपेकले तेल उत्पादन गर्ने कोटा कटौति गर्दा कच्चा तेलको मूल्य बढ्दै गएको बताए । “अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि त्यसको प्रभाव सवै मुलुकमा पर्ने गर्छ, कार्यकारी निर्देशक भट्टराईले भने, “यसले गर्दा स्थानीय बजारमा पनि मूल्य बढाउनु परिरहेको छ ।” अहिलेको मूल्यलाई हेर्ने हो भने भारतको तुलनामा नेपालमा डिजेलमा प्रतिलिटर २७ रुपैयाँ ३८ पैसा र पेट्रोलमा २१ रुपैयाँ ४६ पैसा सस्तो रहेकाले इन्धन तस्करीको सम्भावना हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्