नेपालमा महिला उद्यमशीलताको महत्व तथा आवश्यकता «

नेपालमा महिला उद्यमशीलताको महत्व तथा आवश्यकता

महिला उद्यमीहरू पनि आत्मविश्वासी तथा निपुण हुने भएकाले पुरुष समान जोखिम लिन तयार हुन्छन् ।

उद्यमी शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिका लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्छ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्छ । देशको आर्थिक तथा राजनीतिक प्रणाली जेसुकै होस्, तर आर्थिक विकासका लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ । तर, नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्छन् । जोखिम लिन संकोच मान्छन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरूमा निजी उद्यमीहरूले नै समाजको विकासमा महत्वपूर्ण कार्य गर्छ ।
केही अर्थशास्त्रीको भनाइअनुसार उद्यमीको कार्य जोखिम उठाउने र अनिश्चितताको स्थितिमा काम गर्नु हो । केही अर्थशास्त्रीका अनुसार उद्यमीको कार्य उत्पादक साधनहरूमा तालमेल स्थापित गर्नु हो । प्रमुख अर्थशास्त्री ब्रेलब्रोनका अनुसार निजी उद्यमी दीर्घकालीन आर्थिक विकासको अनिवार्य अंग हो, लाभबाट प्रेरित र नयाँ तरिकाको पहिचान गर्नमा उद्यमीको योग्यता, क्षमता र तत्परता आर्थिक विकासमा अत्यन्त महत्वपूर्ण छ । उद्यमीको प्रमुख कार्य उत्पादनको नयाँ तरिकालाई प्रचलन गर्नु र स्थानीय उपभोगलाई अनुकूल बनाउनु हो । अर्थव्यवस्थामा वस्तुहरूको मूल्य र लागतको ज्ञान हुनु पनि उद्यमीका लागि महत्वपूर्ण छ । किनभने, यसबाट उपलब्ध साधनहरूको सर्वोत्तम उपयोग गर्ने र उपयोग गरेर उत्पादकत्व बढाउनमा सहयोग गर्छ । उद्यमी साधन सम्पन्न, मितव्ययी र परिश्रमी भएमा देशको आर्थिक विकासमा व्यापक प्रभाव पर्छ । अर्थव्यवस्थामा पुरानो प्रविधिको स्थानमा नयाँ प्रविधिको उपयोग गरेमा भौतिक उन्नति हुने सम्भावना बढी रहन्छ र मानिसको जीवनस्तरमा समेत सुधार हुन जान्छ । उद्यमी उच्च शिक्षा प्राप्त, प्रशिक्षित तथा कुशल व्यक्ति भएमा अरूसँग नभएको गुण यस्तो उद्यमीमा रहेको हुन्छ । नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी संख्या महिलाको छ । यस्तोमा विकासमा महिलाको सहभागिताबिना देशको प्रगति नहुने स्पष्टै छ । नेपालमा परम्परादेखि नै महिलाहरू शोसित हुँदै आएका छन् । उनीहरू घरभित्रै सीमिति हुनुपर्ने मान्यता रहेको पाइन्छ । तर, हाल विश्वमा महिला सशक्तीकरण वा विकासमा महिलाजस्ता अवाज उठिरहेको छ । यसबाट महिलाहरू घरेलु कार्यमा मात्र सीमित बस्नुपर्छ भन्ने धारणा क्रमशः विस्थापित हुँदै गइरहेको छ । हाल नेपालमा उद्यमीशीलतामा महिला सहभागिता क्रमशः वृद्धि हँुदै गएको छ ।
सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, सङ्गठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यावसाय सञ्चालन गर्छ भने त्यस कार्यालाई महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ ।
त्यसैगरी स्कारब्रो तथा जिमररले महिला उद्यमीहरूलाई दुई वर्गमा विभाजन गरी आफ्ना विचारलाई अघि सारेका छन् । जस्तै ः पहिलो पुस्ताका महिला उद्यमीहरू र दोस्रो पुस्ताका महिला उद्यमीहरू । उनीहरूका विचारमा आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक सङ्कटका कारण बाध्य भएर उद्यमशीलतामा लागेका महिलाहरू पहिलो पुस्ताका उद्यमीहरू हुन् भने पुरुष सामान उही दक्षता, योग्यता र अपेक्षा लिएर उद्यम सञ्चालन गर्ने महिलाहरू दोस्रो पुस्ताका उद्यमीहरू हुन् । उनीहरूमा पुरुष समान नै सीप, तालिम, शिक्षा, निपुणता तथा निर्णय क्षमता हुन्छ र उनीहरू पनि पुरुषहरूले चाहेजस्तै उद्यमबाट स्वतन्त्रता, उपलब्धि आवश्यकता र परिचय चाहन्छन् । त्यसैले वर्तमान विश्वमा दोस्रो पुस्ताकै महिला उद्यमीहरूको बाहुल्यता पाइन्छ । विकासशील राष्ट्रमा भने पहिलो पुस्ताका महिला उद्यमीहरूको संख्या अधिक भेटिएको छ ।
भनिन्छ, जति पुरुषले व्यवसायका बारेमा सोच्छ त्यति महिलाहरू पनि सोच्छन् अझ भनौं थप कुरा बुझ्ने चाहनाले उनीहरू चुपो लागेर बस्दैनन् । महिला उद्यमीहरू पनि आत्मविश्वासी तथा निपुण हुने भएकाले पुरुष समान जोखिम लिन तयार हुन्छन् । भविष्यमा देखा पर्ने अनिश्चितताको आजै पूर्वानुमान गरी त्यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने गृहकार्यमा लाग्छन् । तर पनि केही मानिसको भनाइ छ, पुरुष जोखिम लिन चाहन्छ जबकि महिला जोखिम पञ्छाउन चाहने हुन्छन् । महिला उद्यमीहरू लक्ष्यन्मुख त हुन्छन् नै, त्यसका अतिरिक्त उनहिरू परिमाणप्रति विशेष ध्यान राख्छन् । यसका लागि विभिन्न व्यावसायिक एकाइहरूबीच कर्मचारी, कामदार आदिको सुपरिवेक्षण र उत्पादन प्रणालीको निरीक्षणमा बढी जोड दिन्छन् । अर्कातर्फ संगठनलाई नेतृत्व दिने क्रममा सम्झने वा सम्झाउने कार्यमा पनि महिला उद्यमीहरू लागेका हुन्न् । यथपि महिला नेत्ृत्वलाई सहज रूपमा पुरुष प्रदान देशमा स्वीकार नगरिने अवस्थामा उचित वातावरणको सिर्जना गरी महिला पुरुषको विभेदीकरणलाई कम गर्ने प्रयास भने उसको व्यक्तिगत क्षमता र कुशलतामा निर्भर गर्छ ।
महिला उद्यमीहरूले कुनै पनि उद्योग वा व्यवसाय स्थापना गर्नका लागि उसलाई विभिन्न स्रोत–साधनहरू तथा सुविधाहरूको आवश्यकता पर्छ । साना उद्योगका लागि थोरै मात्र स्रोत–साधनको आवश्यकता पर्छ भन्ने ठूला उद्योगका लागि त्यत्तिकै मात्रामा स्रोत–साधनको आवश्यकता पर्छ । त्यस्ता स्रोत–साधन र सुविधाहरू सम्पूर्ण मात्रामा उद्यमीहरूले आफंैले मात्र व्यवस्था गर्न सक्षम नहुन सक्छन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्न विभिन्न संघ–संस्थाको सहयोगको आवश्यकता पर्छ । यसरी ती संघ–संस्थाबाट प्राप्त हुने सहयोगलाई नै संस्थागत सहयोग भन्न सकिन्छ । महिला उद्यमशीलता विकासका लागि सर्वप्रथम आर्थिक तथा सामाजिक पूर्वाधारहरू निर्माण गरिनुपर्छ । यातायात, सञ्चार, विद्युत्, ऊर्जा सुविधा, बजार विस्तार आदि आर्थिक पूर्वाधार र विकासका लागि प्रतिकूल रहेका सामाजिक बाधा–व्यवधानहरू हटेपछि मात्र उद्यमशीलता विकासको सम्भावना वृद्धि हुन्छ । यातायात, सञ्चार, वित्तीय संस्थाको विकास, विद्युत्, इन्धन, सिंचाइ आदिको सिर्जना तथा विकास गर्नु आर्थिक आधारशीला निर्माण गर्नु हो भने शिक्षा, स्वास्थ्य, आवास, प्रशिक्षण, कुशल प्रविधिको विकास आदिमा लगानी गर्नु सामाजिक आधारशिला निर्माण गर्नु हो । विशेषतः यो कार्य गर्नमा सरकार तथा सरकारी नियकायहरू सहभागी हुन्छन् । यी आर्थिक तथा सामाजिक पूर्वाधारहरूले अर्थतन्त्रको विकासको गति अगाडि बढाउँदै लैजान्छ । नेपालमा उद्यमीहरूलाई संस्थागत सहयोग पुर्याउन सरकारी स्तरबाटै विभिन्न व्यवस्था भएका छन् । विशेष गरी विभिन्न सरकारी निकायहरूले संस्थागत सहयोगले संस्थागत सहयोग पुर्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यस्ता सरकारी निकायहरू भन्नाले सरकार मातहतमा रहेका विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय शाखा–प्रशाखाहरूलाई बुझाउँछ । यी निकायहरूले उद्योग–व्यवसायसँग सम्बधित विभिन्न नीतिनियम तर्जुमा गरेर उद्यमीहरूलाई सहयोग गर्छन् ।
महिला उद्यमीहरूले मुख्यतः दुई प्रकारका समस्याहरू झेल्नुपर्ने हुन्छ । एउटा सामान्य समस्या जुन प्रत्येक उद्यमीहरूले झेल्नुपर्ने हुन्छ भने अर्को समस्या जुन महिला भएकै कारणले झेल्नुपर्ने हुन्छ । कुनै पनि उद्यमका लागि वित्तको ज्यादै महत्व छ । पुँजीबिनाको व्यवसाय कल्पना गर्न सकिँदैन । वित्तलाई व्यवसायको जीवन–रक्त भनिन्छ । अतः व्यवसाय सुरु गर्न चाहिने यस्तो महत्वपूर्ण कुरामा महिलाहरूको पहँच कम हुन्छ । उनीहरू वित्तको अभावमा व्यवसाय गर्न नपाउने हुन सक्छन् । आफ्नै निजी बचतबाट व्यवसाय चलाउनुपर्ने बाध्यता रहन्छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि महिलाहरूलाई ऋण उपलब्ध गराउन कम मात्र प्राथमिकता दिएको पाइन्छ, अतः महिला उद्यमीहरूको प्रमुख समस्या वित्तको अभाव हो । महिला उद्यमीहरूले झेल्नुपर्ने अर्को समस्या कच्चापदार्थको अभाव हो । विशेषतः साना उद्यमीहरूले कतिपय अवस्थामा थोरै मात्रामा कच्चापदार्थ नपाइनु र पाए पनि चर्को मूल्य तिर्नुपर्ने हुन जान्छ, जसबाट उत्पादन लागत बढ्न गई उनीहरूको उत्पादनले सीमित बजार पनि गुमाउनुपर्ने हुन जान्छ । कडा प्रतिस्पर्धा पनि महिला उद्यमीहरूका प्रमुख समस्या नै हो ।
सरकारी, गैर–सरकारी तथा निजी क्षेत्रमा महिला रोजगारी वृद्धि गर्न सकारात्मक पहल गरिनेछ । शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा महिला रोजगारीलाई प्राथमिकता दिने नीति अपनाइनेछ । महिलाहरूलाई आफ्नो हक–अधिकार तथा मानवअधिकारबारे सचेतना बढाउन आवश्यक आधारभूत तालिमलाई अभियानका रूपमा सञ्चालन गरिनेछ । महिलाको सम्पत्तिमा पहुँच न्युन भएको सन्दर्भमा सरकारी स्तरबाट वितरण गरिने स्रोतको बाँडफाँडमा महिलाहरूलाई समान र आवश्यकताअनुसार विशेष अधिकार दिने नीति लिइनेछ । कार्यबोझ हुलुका गर्ने तथा समय बचत गराउने घरायसी तथा व्यावसायिक प्रविधिहरूमा महिलाको पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ । दलित, जनजाति, अपाङ्ग र भौगोलिक तथा आर्थिक दृष्टिकोणबाट पछाडि परेका लक्षित महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने नीति अपनाइने छ । महिलाहरूको आय आर्जन क्षमता अभिवृद्धि गर्न सानो, सुखी र गुणस्तरीय परिवार, स्थानीय प्राकृतिक स्रोतको समुचित उपयोग र स्रोत तथा वातावरण संरक्षण कार्यमा महिला सहभागितालाई जोड दिइनेछ । महिलाहरूको श्रम उत्पादकत्व बढाउन उपयुक्त प्रविधि विकासमा जोड दिइनुका साथै विकासका विविध कार्य क्षेत्रहरूलाई लैङ्गिक विभेदबाट मुक्त गरिनेछ । उद्योग क्षेत्रमा महिलाहरूलाई मूल प्रवाहीकरण गर्न उद्यमी नीति, श्रम ऐनजस्ता कानुनी प्रावधानहरूलाई संशोधन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्