पातारासीका गाउँगाउँमा पुग्यो सडक «

पातारासीका गाउँगाउँमा पुग्यो सडक


जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज भएको हो । अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुई बस र चार वटा जीप सञ्चालनमा छन् । सवारीसाधनको आवागमनसंँगै यहाँका नागरिकले घण्टौंसम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हटेको छ । सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी छन् ।
सदरमुकामदेखि उर्थुचौतारासम्म त अटो रिक्सासमेत चल्छन् । सडक पुगेको भए पनि कच्ची सडकका कारण वर्षात्को बेला यातायात सञ्चालनमा असहजता आउने गरेको गाडी चालक कृष्ण विष्टले बताए । उनले भने, “पातारासीको गाउँबस्तीसम्म सडक पुगेको छ । जसले यहाँका नागरिकलाई आवतजावत गर्न निकै सहज छ । बिरामीलाई एम्बुलेन्सबाट ल्याउन सकिन्छ ।” तर सडक निकै साँघुरो छ । बाइकलाई साइट दिन पनि पुग्दैन । जोखिम मोलेर यातायात सेवा दिइरहेको चालक विष्ट बताउँछन् । उनका अनुुसार सदरमुकाम खलंगादेखि पातारासीको पेरे गाउँसम्म २५० रुपैयाँ गाडी भाडा लाग्छ ।
चन्दननाथ नगरपालिकाको रानारावत र उर्थु गाउँनजिकै सडक निकै जोखिमपूर्ण छ । पहिले बाटो राम्रो थियो, यात्रा सहज थियो । अहिले स्तरोन्नतिका लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बन्यो । बनाएका संरचना ध्वस्त भइसके । चालक कृष्णले भने, “तत्काल सडक स्तरोन्नति गरेर यातायात सेवा सञ्चालनमा ल्याउन जरुरी छ
गाउँमा सडक पुग्दा पातारासी–३ छुम गाउँका कालिबहादुर महतारा निकै खुसी छन् । यहाँबाट राराजाने पर्यटकलाई समेत असर परिरहेको छ । उनले भने, “गाउँमा सडक पुग्नुमात्र ठूलो कुरो होइन । सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो । अहिले व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्छन् ।”

पातारासी गाउँपालिकामा १६ वटा गाउँ छन् । सबै गाउँमा गाडी पुगेको छ । एम्बुलेन्स सबै गाउँमा पुग्छ । प्र्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, “सडक स्तरवृद्धि गर्न बाँकी छ । यो पनि चालू आवभित्रै काम सुरु हुन्छ । स्थानीय तह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि हो । गाउँमा सडक पुगेपछि स्थानीयस्तरमा उत्पादन भएको वस्तुले पनि सजिलै बजार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्