आइडिया आइकन २०२१ टाइटल प्रदान «

आइडिया आइकन २०२१ टाइटल प्रदान

नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यावसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को टाइटलसहित नगद पुरस्कार प्रदान गरिएको हो ।
विजेताहरु रबिना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधानले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पाएका छन् ।
सरकारले कोसेली घरको अवधारणा ल्याएको सन्दर्भमा आधुनिक प्रविधि र हस्तकलालाई समायोजन गर्दै कसरी कोसेली घर निर्माण गर्न सकिन्छ र आधुनिक प्रविधिको इन्टेरियर र मौलिक पहिचानको हस्तकलालाई समायोजन गराउने सम्बन्धमा ४० जनालाई प्रतिस्पर्धा गराएर ३ जना छानिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।
परम्परागत रुपमा रहेको हस्तकलाको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको र नयाँ पुस्ता आकर्षित हुन नसकेको अवस्थामा देशको मौलिक कला, संस्कृतिलाई नयाँ प्रविधिको समेत अवलम्बन गर्दै संरक्षण गर्न आइडिया आइकन २०२१ ले महत्वपूर्ण भूमिका खेल्ने हस्तकला महासंघका उपाध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्