इन्धन भन्डारण वर्षकै उच्च «

इन्धन भन्डारण वर्षकै उच्च

मुलुकमा पेट्रोलियम पदार्थको भन्डारण यो वर्षकै सवैभन्दा उच्च भएको छ । इन्धनको आपूर्ति नियमितरूपमा भइरहेकाले नेपाल आयल निगमले भन्डारण वृद्धि गरेर उच्च अवस्थामा पुर्याएको हो । अहिले निगमसँग मुलुकभर भएका सवै डिपोमा पूर्णरूपमा इन्धन भन्डारण गरिएको छ । डिजेल, पेट्रोल मटितेल र हवाई इन्धन गरी ४७ हजार ३ सय ३६ किलोलिटर भन्डारण पुगेको निगमले जानकारी दिएको छ ।
१५ दिनअघि ३५ हजार किलोलिटरमा झरेको भन्डारण क्षमता बढेर अहिले ४७ हजार पुगेको हो । यो वर्ष इन्धनको आपूर्ति नियमित भएको र निगम आर्थिकरूपमा सक्षम भएकाले भन्डारण बढाएर ४७ हजार किलोलिटर पुगेको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतले इन्धन भन्डारण यो वर्ष कै उच्च रहेको बताए । “इन्धनको आपूर्ति नियमित भएकाले भन्डारण क्षमता बढेर ४७ हजार पुगेको छ,” प्रवक्ता गोइतले भने, “२५ देखि ३० प्रतिशतमा रहेको भन्डारण बढेर ९३ प्रतिशत पुग्नु उल्लेखनीय हो ।” इन्धन ढुवानीमा कुनै अवरोध नभएको र सोचेअनुसार आयात भएकाले भन्डारण बढाउन सफल भएको उनको भनाइ छ ।
निगमसँग इन्धनको भन्डारण क्षमता ७१ हजार किलोलिटर रहे भने दुई÷चार वटा ट्यांकी मर्मत सम्भार गर्नुपर्ने भएकाले इन्धन राखिएको छैन । मटितेलको प्रयोग नहुने हुँदा त्यसमा काउन्ट नगरिएको निगमको भनाइ छ । जसअनुसार अहिले निगमसँग ५७ हजार ६ सय ६४ किलोलिटर भन्डारण क्षमता रहेको छ । निगमले मटितेल राख्ने ट्यांकीमा डिजेल भन्डारण गरेको छ । डिपोमा प्राविधिरूपमा नोक्सान हुने हुँदा क्षमताभन्दा १० प्रतिशत कम इन्धन भन्डारण गरिने गरेको निगमको भनाइ छ । पर्याप्त इन्धन भन्डारण गरिएकाले बजारमा इन्धनको वितरण प्रशस्त गरिएको निगमको भनाइ छ ।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएकाले पनि निगमले पर्याप्त परिणाममा इन्धन भन्डारण गर्न सफल भएको बताएको छ । पछिल्लो डेढ वर्षको अवधिमा इन्धनको ढुवानीमा कुनै अवरोध नभएकाले पनि भन्डारण क्षमता बृद्धि गरिएको निगमको भनाइ छ । निगमका अनुसार काठमाडौंको थानकोट डिपोमा दुई हजार किलोलिटर भन्डारण राख्न सक्ने क्षमता भए पनि अन्य डिपोमा पूर्णरूपमा इन्धन भरिएको छ । माघसम्म जति सक्दो भन्डारण बढाउने र भन्डारण गरिएको इन्धन असारसम्म वितरणमा गरिसक्ने निगमको भनाइ छ । निगमका अनुसार वैशाख÷जेठ महिनामा भन्डारण क्षमता घटेर २० देखि २५ प्रतिशतमा झर्छ ।

इन्धन भन्डारण (किलोलिटरमा)
डिजेल  पेट्रोल  हवाइ इन्धन  मटितेल

 ३१,३३२ 

६,५८० ६,१८५ २,१२४

स्रोतः नेपाल आयल निगम

प्रतिक्रिया दिनुहोस्