भारतसँगको मैत्रीपूर्ण फुटबलमा २–१ को हार «

भारतसँगको मैत्रीपूर्ण फुटबलमा २–१ को हार

भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली नेपालले हार बेहोरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पकडमा राम्रो भएपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
यसैबीच, नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण कुमार लिम्बू सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी बनेका छन् ।
उनले आइतबार इन्डियाविरुद्ध मैदान उत्रँदा नेपाली राष्ट्रिय टिमबाट ७४ औं खेल खेल्दै सर्वाधिक खेलाडीको रेकर्ड बनाए । उनले यसअघिका कप्तान विराज महर्जनले बनाएको ७३ खेलेको रेकर्डलाई पछि पार्दै राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने एक्ला खेलाडी बनेका हुन् ।
गएको बिहीबार इन्डियाविरुद्धको मैत्रीपूर्ण खेलमा लिम्बूले पूरा समय खेल्दै महर्जनको ७३ खेलको रेकर्डसँग बराबरी गरेका थिए । कप्तान लिम्बूले त्यो रेकर्ड आज सुधार गर्दै ७४ खेल पु¥याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्