रुकुममा एमाले अध्यक्ष सहितको समूह एकीकृत समाजवादीमा

रुकुम – नेपाल कम्युनिष्ट पार्टी एमाले रुकुम पश्चिमका अध्यक्ष विमलकुमार पुन सहितको बहुमत समुह एकीकृत समाजवादीमा खुलेको छ । शनिबार सदरमुकाम मुसिकोटमा वसेको जिल्ला कमिटी बैठकबाट एमाले उपाध्यक्ष ऋषिप्रसाद शर्मा बाहेकको पदाधिकारी समाजवादीमा रुपान्तरण भएको एकिकृत समाजवादीको दाबी छ ।
पार्टी अध्यक्ष पुनका अनुसार एमालेका सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतमलगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको छ । “एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित ६५ जना जिल्ला कमिटीबाट ४६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्,” आइतबार बिहान आयोजना गरेको पार्टीको पत्रकार सम्मेलनमा अध्यक्ष पुनले भने, “यस्तै ५ जना जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा गएको र बाँकी १४ जना मात्र एमालेमा रहेका छन् ।”
त्यस्तै रुकुम पश्चिमबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका साँसद ठकेन्द्र प्रकाश पुरी र कर्णाली प्रदेश सांसद देवी ओली पनि एकीकृत समाजवादीमा लागेका छन् । एमाले केन्द्रीय सदस्य शेरबहादर केसीसमेत एकीकृत समाजवादीमा लागेकाले रुकुम पश्चिममा एमालेको नेतृत्वपंत्ति कमजोर देखिएको छ । तर, रुकुम पश्चिमबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी एमाले नेतृ तीर्था गौतम भने नेकपा एमालेमै छिन् ।
त्यस्तै २०७४ सालको स्थानीय निर्वाचनमा दुईवटा वडामा अध्यक्ष जितेको एमालेमा एक जना एकिकृत समाजवादी र एक जना एमालेमा छन् । औपचारिक रूपमै एकीकृत समाजवादी पार्टी बनेसंगै रुकुम पश्चिमको जिल्ला कमिटीले मुसिकोटको कालिका मन्दिरमा पार्टी कार्यालय समेत स्थापना गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य शेरबहादुर केसीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
यसैबीच शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी बैठकले १ सय ६ जनाको जिल्ला कमिटी समेत निर्माण गरेको छ । बैठकले जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीव्रता दिने बताएको छ । जिल्ला कमिटीको पहिलो बैठकलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले टेलिफोनमार्फत सम्बोधन गरेका थिए ।