एनआरएन नागरिकता संशोधनसम्बन्धी प्रस्ताव पारित «

एनआरएन नागरिकता संशोधनसम्बन्धी प्रस्ताव पारित

हाल परिमार्जन गरेर ‘संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।

काठमाडौं-प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकतामाथिको संशोधन प्रस्तावलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले गैरआवासीय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेत सम्बोधन गर्दै सो संशोधन प्रस्ताव पारित गरेको हो ।
संशोधन प्रस्तावको दफा ७ क देखि ङ सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषयवस्तुमाथि छलफल गरेर टुंगो लागेको हो । बैठकले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषय बस्तुलाई मात्र किनारा लगाए पनि नागरिकता सम्बन्धमा अन्य विषयमा भने छलफल बाँकी रहेको छ ।
गैरआवासीय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयकको मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो । तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर ‘संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।
यस्तै गैरआवासीय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो ।
सोबारे मस्यौदा ड्राफ्ट गर्ने क्रममा गलत बुझाइ रहेकाले अहिले परिमार्जन गरिएको समितिका सदस्य तथा सांसद सूर्य पाठकले जानकारी दिए । उनका अनुसार अहिले गृह मन्त्रालय वा गृह मन्त्रालय मातहतका निकायबाट गैरआवासीय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनुपर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्नेछ ।
“पत्रका सम्बन्धमा बुझाइमै गलत भएछ, विदेशको नागरिकता लिएपछि नेपालमा स्वतः रद्द हुने व्यवस्था रहिआएको छ । तर, गैरआवासीय नेपालीले नागरिकता लिँदा उसले नेपालको नागरिकता त्यागेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थामा उल्लेख थियो,” पाठकले भने, “तर अमेरिका, बेलायत क्यानडालगायतका देशमा उताको नागरिकता दिँदा नेपालको त्यागेको भन्ने प्रमाणपत्र दिइन्न । यसो हुँदा नेपाली नागरिकताको प्रमाणपत्र त्यागेको व्यहोराको पत्र ल्याउन नसकिने हुँदा अहिले भाषा मिलाइएको छ ।”
पास भएको विधेयकमा सम्बन्धित व्यक्तिले साविकमा लिएको नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेको प्रमाण स्वदेशी निकायबाटै पुष्टि गराएर गैरआवासीय नागरिकता लिन सक्ने बुझिएको छ ।
विधेयकबारेको मस्यौदामा नेपाली नागरिकता त्यागेको प्रमाणपत्र ल्याउनुपर्ने व्यवस्थामा एनआरएनका जिम्मेवार अधिकारीले यथार्थ कुरा बाहिर ल्याएपछि त्यसबारे सांसद पाठकले संशोधन दर्ता गराएका थिए । “गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपालको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने कुरा आयो,” उनले भने, “एनआरएनको के भनाइ थियो भने बेलायत, अमेरिका, क्यानडालगायतका देशमा नागरिकता त्यागेको प्रमाण लिनुपदैन, उहाँहरूको माग सम्बोधन गर्ने गरी संशोधन भएको छ ।”
बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयकबारे उठेका प्रश्नबारे जवाफ दिएका थिए भने गृहसचिव प्रेमकुमार राईले वास्तविक नेपालीलाई सहज ढंगले नागरिकता दिलाउन र फर्जी नागरिकता वितरणमा कडाइ कसरी गर्न सकिन्छ भन्नेबारे आफूहरू गम्भीर भएको जानकारी दिएका थिए । विधेयक समितिबाट पारित भएसँगै मन्त्रालयले अब संसद्मा टेबल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्