मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा २० ठाउँमा पहिरो «

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा २० ठाउँमा पहिरो

पर्वत – गत बिहीबार राति आएको भीषण वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ ।
११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैं पहिरो जाने गरेकासहित नयाँ–नयाँ ठाउँमा गरी आठ किलोमिटर लम्बाइमा २० ठाउँमा पहिरो झरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काका अनुसार जिल्लाको मोदी गाउँपालिका–५ देखि कुश्मा नगरपालिका–८ चुवासम्मको दूरीमा खसेको पहिरोले हालै कालोपत्रे गरिएको तथा गर्ने तयारी गरिएको सडक ध्वस्त बनेको छ ।
कतिपय ठाउँमा सडकमाथिबाट आएको पहिरोले पुरेको छ भने कतिपय ठाउँमा सडक नै बगेको खड्काले जानकारी दिए । १८ गतेसम्म पनि लगातार वर्षा भएकोले शनिबारबाट मौसममा सुधार आएपछि आइतबार बिहानबाट सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
‘चुवा र पातीचौरको साइड दुवैतर्फबाट एक्स्काभेटर लगाएर पहिरो पन्छाउने तथा बगेर गएको ठाउँमा ट्याक निकाल्ने गरी काम भइरहेको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए । दोबिल्लामा बाटो नै लच्केर तल गएको छ’ बुढाथोकीले भने ‘शनिबार बिहानैदेखि चुवाबाट पहिरो पन्छाउने काम सुरु भएको हो, सोमबारसम्म दोबिल्लासम्मको भाग सफा गर्न सकिने सम्भावना छ । सबै बाटो सुचारु हुन करिब पाँच दिन लाग्न सक्छ ।’
मध्यपाहाडीको काम गरिरहेको लामा कन्स्ट्रक्सनले पातीचौर क्षेत्रबाट दुई वटा र चुवा क्षेत्रबाट तीन वटा एक्स्काभेटर लगाएर काम गरिरहेको छ । पहिरोसँगै आएका ठूला ढुङ्गा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएमा अझै बढी समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।
पर्वत खण्डमा झरेको पहिरोका कारण पर्वत हुँदै जानुपर्ने बागलुङ, म्याग्दी र मुस्ताङमा समेत सवारी आवतजावत बन्द भएको छ । जसका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमा कोही आकस्मिक बिरामी भएमा हेलिकोप्टर चार्टर गरेर पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता भएको छ ।
कतिपय यात्रुहरू भने पोखराबाट पर्वतको मोदी गाउँपालिकामा पर्ने पातीचौर बजारसम्म सवारीमा आएर त्यहाँबाट करिब दुई घण्टा पैदल हिँडेर कुश्मा नगरपालिकाको चुवामा निस्केर आउने गरेका छन् । सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिन लागेका यात्रीहरू कतिपय तीनै जिल्लामा त कतिपय पर्वतका होटलहरूमा पुगेर बास बसेका छन् ।
पोखरा–पर्वत सडक अवरुद्ध भएपछि पोखरा–कुश्मा आउजाउ गर्नको लागि मोटरसाइकलले पोखरा–स्याङ्जा नाउडाँडा–कार्कीनेटा–कुश्मा सडक र ठूला सवारीले पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा सडक प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।

प्रतिक्रिया दिनुहोस्