आगामी अधिवेशनबाट प्रदेशको राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री पौडेल «

आगामी अधिवेशनबाट प्रदेशको राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री पौडेल

दोलखा-प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संसद्को आगामी दिउँदे अधिवेशनले प्रदेशको राजधानी टुंगो लगाउने बताएका छन् । दोलखाको चार दिने भ्रमणमा रहेका मुख्यमन्त्री पौडेलले सोमबार बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको राजधानीको विषय ठूलो नभएको बताए । उनले यसलाई सहमतिकै आधारमा तय गरिने जानकारीसमेत दिए ।
मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी मतदानका आधारमा टुंगो लगाउँदा कसैलाई दुःख नलागोस् भनेर सहमतिबाटै तय गर्ने तयारी भएको बताए । “प्रदेश राजधानी ठूलो कुरा होइन, सेवा सुविधा महत्वपूर्ण हो,” उनले भने ।
मुख्यमन्त्री पौडेलले पर्यटनका क्षेत्रले भरिपूर्ण दोलखा प्रदेश नं. ३ कै गौरवको रूपमा रहेको बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण शैलुङ, कालिञ्चोक, गौरीशंकर, जिरी जस्ता महत्वपूर्ण क्षेत्र भएकाले त्यसका प्रदेशकै तेस्रो गन्तव्यको रूपमा विकास गर्न लागेको उनले जानकारी दिए । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणका काम प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलसहित दोलखा आएका मुख्यमन्त्रीले अबको ४ वर्षमा तिब्र रूपमा विकास हुने बताए । प्रदेश सरकार पहिलो भएकाले सोचेअनुसार भने काम गर्न नसकेकाले परिणाम नदेखिएको उनले स्वीकार गरे ।
सरकारले देखाएको समृद्धिको सपना कहिले पूरा हुन्छ ? भन्ने जिज्ञासामा मुख्यमन्त्री पौडेलले योजना लिएर आए जति पनि पाउने र जसले योजना ल्याएर कार्यान्वयन गर्छ त्यो समृद्ध हुने बताए । संघीय सरकार र प्रदेश सरकारबीच तालमेल नहुँदा संक्रमणकालिन अवस्थामा विगतमा ठेक्का लागेका सडक, भवन, सिँचाइ जस्ता योजना अहिले पनि अलत्रपत्र रहेको उनले स्वीकार गरे ।
मुख्यमन्त्री पौडेलले कर्मचारी अभावका कारण सरकारले कामको गति बढाउन नसकेको गुनासो गरे । “मुख्यमन्त्रीकै कार्यालयमा दरबन्दी ५२ जना छ, तर १५ जना कर्मचारी छन्,” उनले भने “तैपनि भएको जनशक्तिबाट दिनरात काम गर्दै छौं, समायोजनबाट आउने कर्मचारीबाट आगामी दिनमा कामको गति लेला ।”
भौतिक पूर्वाधार मन्त्रालयको कामले विगतमा भन्दा अहिले राम्रो गति लिएकाले तत्काल मन्त्रीको पदपूर्ति नहुने उनले संकेत गरे । अहिले पूर्वाधार मन्त्रीको समेत कार्यभार मुख्यमन्त्री पौडेलले नै लिएका छन् ।
प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले आर्थिक वर्षको ७ महिना पूरा हुँदा १२ प्रतिशत पुँजीगत खर्च हुनु पनि अहिले ठूलो उपलब्धिको रूपमा प्रदेश सरकारले लिएको बताए । चालू आर्थिक वर्ष ६० प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुने अपेक्षा पनि अहिले सरकारले नगरेको बताए ।
अर्थमन्त्री ढुंगेलले प्रदेश सरकारले उत्तर–दक्षिण जोड्ने लामाबगर फलाक सडकको चीनसँगको नाका खोल्ने काम प्राथमिकतामै राखेको दाबी गरे । दोलखामा फिल्म सिटी निर्माण, हनुमन्ते एकीकृत विकास योजना, कृषि पशुपालनमा दोलखालाई प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्