जलविद्युत्, इँटा र हस्तकलामा डेढ लाख श्रमिक माग «

जलविद्युत्, इँटा र हस्तकलामा डेढ लाख श्रमिक माग

  • नेपाली नपाएपछि विदेशी कामदार राख्न बाध्य

काठमाडौं-स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ । खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले १ लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन् ।
मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन् । स्वदेशको रोजगारी छोडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न सकेका छैनन् । हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ । इँटा उद्योगले प्रतिमहिना ३० हजार दिने जनाए पनि २० हजार रुपैयाँमात्र बचत हुने वैदेशिक रोजगारीका लागि जाने प्रवृत्ति बढ्दो छ । थोरै कमाई भएपनि विदेश नै जाने क्रम बढ्दै गइरहेका कारण स्वदेशमा रोजगारीको अवसर भए पनि नेपाली युवा यस्ता क्षेत्रमा काम गर्न नरुचाउने रोजगारदाताको गुनासो छ ।
इँटा उद्योगले मागअनुसार नेपाली श्रमिक नपाउँदा देशभरका इँटा भट्टाले १ लाख ५० हजार भन्दा बढी भारतीय जनशक्तिको भरमा उद्योग सञ्चालन गरिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले इँटा उद्योगमा १ लाख ५० हजार श्रमिकको माग भए पनि जनशक्ति अभाव भएको बताए । “स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारले विभिन्न योजना ल्याए पनि जलविद्युत् पावर र इँटा उद्योगमा मागअनुसार श्रमिक पाउन सकिएको छैन,” मन्त्री विष्टले सोमबार एक कार्यक्रममा भने, “उद्योगीले प्रतिमहिना ४० हजार आम्दानी हुने क्षेत्रमा रोजगारी दिने जनाए पनि जनशक्ति अभाव भएका कारण दिन सकिएको छैन ।” जलविद्युत् आयोजनाले समेत जनशक्ति दिन अनुरोध गरे पनि सरकारले जनशक्ति व्यवस्थापन गर्न सकेका छैनन् ।
नेपाली इँटा उद्योगले १ लाखभन्दा बढी श्रमिकलाई रोजगारी दिने प्रतिबद्धता जनाए पनि स्वदेशमा काम गर्ने जनशक्ति नपाउँदा भारतीय श्रमिकमा निर्भर रहनु परेको बताएका छन् । सिरहा, बारा, सर्लाही, रौतहट, धनुषालगायतका जिल्लाका धेरै इँटा उद्योगले नेपाली कामदार नपाएर ७५ प्रतिशत भारतिय कामदार राखेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् । देशभरका १ हजार २ सय इँटा उद्योगमा विशेषगरी इँटा पोल्ने र भट्टी व्यवस्थापनमा भारतीय श्रमिक रहेका छन् । इँटा बनाउने र ओसार्ने काममा धेरै नेपालीको माग भए पनि उद्योगीले जनशक्ति नपाएर भारतीय कामदारमा निर्भर हुनुपरेको गुनासो गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा धेरै इँटा उद्योगी रहेका कारण त्यस क्षेत्रका उद्योगमा भारतीय कामदार धेरै रहेका छन् । इँटा उद्योगमा इँटा बनाउने र बोक्ने श्रमिकको रूपमा नेपालीको माग धेरै छ । अधिकांश इँटा उद्योगले इँटा पोल्ने दक्ष कामदार नेपालमा नपाएपछि भारतबाट ल्याउनुपरेको जनाएका छन् । इँटा उद्योगी रोजगारीका लागि नेपाली नै खोज्छन् तर नेपाली इँटा भट्टामा काम गर्न मान्दैनन् । इँटा पोल्ने कामदारलाई दक्ष श्रमिकको रूपमा हेरिने गरे पनि यस्ता काममा नेपाली श्रमिक न्यून रहेका छन् । इँटा भट्टमा काम गर्ने श्रमिकलाई हेर्ने दृष्टिकोण नराम्रो भएका कारण नेपालीले काम गर्न नमान्ने उद्योगीले बताएका छन् ।
विदेशमा २० हजार कमाउन जाने नेपाली स्वदेशमा ३० हजार कमाई हुने इँटा उद्योगमा काम गर्न मान्दैनन् । इँटा बनाउने काममा धेरै रहेका नेपालीले मासिक ३० हजार कमाउने गरेपनि काम गने प्रवृत्ति घट्दै गइरहेको छ । देशभरका इँटा उद्योगमा ३ लाख २५ हजार श्रमिक कार्यरत रहेपनि घटबढ भइरहने उद्योगीले जनाएका छन् । देशभर १ लाख नेपाली र १ लाख ५० हजार भारतीय रहेका छन ।
सामाजिक सुरक्षा योजनामा २७२ सूचीकृत
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको २ महिनापछि देशभरका २७२ रोजगादाता सूचीकरण भएका छन् । सामाजिक सुरक्षा कोषले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आवेदन दिएका ६२५ रोजगारदाता (प्रतिष्ठान) मध्ये २७२ उद्योगीलाई सुचिकरणको प्रमाणपत्र वितरण गरेको छ । मन्त्री विष्टले क्रमशः सबै रोजगारदातालाई सूचीकरणको दायरामा ल्याउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्