चाडपर्वलक्षित सुपथ मूल्य पसल एक असोजदेखि «

चाडपर्वलक्षित सुपथ मूल्य पसल एक असोजदेखि

सरकारले मुख्य चाड दसैं, तिहार र छठलाई लक्षित गरेर आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि तयारी गरिएको जानकारी दिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने उनले जानकारी दिए । मन्त्रालयका अनुसार चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, चामलमा प्रतिकेजी ५ रुपैयाँ, गेडागुडी र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने छ । छुट पसल सञ्चालनका लागि तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत उपभोक्तालाई राहत दिनका लागि छुट दिएर सामान बिक्री गरिने छ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने छन् । यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि सुपथ पसलमा आफ्ना उत्पादन बिक्री गर्ने तयारी गरेको छ । डीडीसीले घिउ, पनिरलगायतका उत्पादन सूपथ पसलमा राख्ने तयारी गरेको छ ।
दसंैमा अत्यावश्यक वस्तुमा छुट दिनका लागि मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र कर्पाेरेसनलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनी र कर्पाेरेसनका उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिनेछ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । दशैंमा निजी क्षेत्रले पनि सुपथ मूल्यमा सामान बिक्री गर्ने गर्छन् । १ असोजदेखि सुरु गरिएको सुपथ मूल्य पसल छठसम्म सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका खरिद गर्ने भएको छ । उपभोक्तालाई राहत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्नेछ । दसंैमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्