चीनद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण «

चीनद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

काठमाडौं-कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सनले गत महिना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलंकी सडक खण्ड सोमबार खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हस्तान्तरण गरेको हो । नेपालका लागि चीनका राजदूत हउ याङ्चीले सो सडकको साँचो प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन् । उनीहरूले संयुक्तरूपमा सडकको उद्घाटन पनि गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताउँदै चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलंकी – महाराजगञ्ज सडक(दोस्रो खण्ड) मा दोहोरिन नदिने प्रतिबद्धता पनि ब्यक्त गरे । खानेपानीको पाइप, बिजुलीको खम्बालगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन उनले सबै मन्त्रालय र विभागलाई निर्देशन पनि दिए । प्रधानमन्त्री ओलीले चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा पु¥याउँदै आएको सहयोगको खुलेर प्रशंशा पनि गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले विकास निर्माणको काममा हुने ढिलासुस्तीमा आफू चुप लागेर नबसन्ने भन्दै कुनै समस्या भए मन्त्रिपरिषद्बाट कानुन संशोधन गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताइन् । सरकारले २०७० सालको भदौ १६ गते २०७३ सालको पुस मसान्तसम्म निर्माण सक्ने गरी चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सनलाई १०.३९ किलोमिटर लामो कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा दिएको थियो । ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा योजनाको म्याद दोस्रो पटक गत डिसेम्बर महिनासम्मका लागि थप गरिएको छ । यसअघि १८ महिनाका लागि थप गरिएको म्याद असारको मध्यमा सकिएको थियो । म्याद दुईपटक थप गरिए पनि लागत भने नबढेको योजनाको दाबी छ । चीन सरकारको ५ अर्ब अनुदान सहयोगमा कोटेश्वर–कलंकी सडक ८ लेनको बनाउने काम सम्पन्न भइसकेको छ । सडक विस्तारअन्तर्गत बालकुमारी, खसीबजार, वागमती खोला र बल्खु खोलामा ८ वटा मोटर गुड्ने पुल तथा कोटेश्वर, ग्वार्को र बागडोलमा तीनवटा आकासे पुल निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्