पूर्वाधारका आधारमा स्थायी लेखा नम्बर कार्यान्वयनमा ल्याइनुपर्ने «

पूर्वाधारका आधारमा स्थायी लेखा नम्बर कार्यान्वयनमा ल्याइनुपर्ने

काठमाडौ-नेपाल धितोपत्र बोर्डले पूर्वाधारको तयारीका आधारमा स्थायी लेखा नम्बर कार्यान्वयनमा ल्याउनुपर्ने जनाएको छ । स्थायी लेखा नम्बरका सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षलाई समेत छलफल गराई बोर्डले पूर्वाधारको तैयारीका आधारमै कार्यान्वयन गर्नुपर्ने जनाएको हो । स्थायी लेखा नम्बरको विषयलाई लिएर सेयर बजारमा भइरहेको नकारात्मक टिप्पणीप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले आइतबार विभिन्न लगानीकर्ताका संस्थाहरूबाट ज्ञापनपत्र बुझ्ने क्रममा यस्तो जनाएको हो ।
सरकारले चालू आव २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको थियो । सेयर कारोबारमा प्यान अनिवार्य गराउनू भन्दै अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई कात्तिक ९ गते पत्र पठाएको थियो । यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि बोर्डले नेप्सेलाई कात्तिक १५ गते पत्र पठाएको थियो ।
तर, बजारको पूर्वाधार, लगानीकर्ताहरूको वित्तीय साक्षरताको अवस्थालगायतलाई दृष्टिगत गरी लगानीकर्ताबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने अधिकारीको रूपमा रहेको आन्तरिक राजस्व विभाग समक्ष यस सम्बन्धमा यथार्थ स्थितिको जानकारी गराइने पनि बोर्डले जनाएको छ । त्यसैले बोर्डले नकारात्मक हल्लाको पछि नलागी सुजवुझ तवरले लगानीसम्बन्धी निर्णय लिन हुन लगानीकर्ताहरूलाई अनुरोध गरेको छ ।
यसैबीच २०७६ वैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउने विषयमा शुक्रबार लगानीकर्ता तथा नेपाल स्टक एक्सचेञ्जबीच छलफल भएका थियो । विभिन्न लगानीकर्ताका संघ, संगठन तथा नेप्सेका कर्मचारीबिच चलेको छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि उपस्थित थिए ।
प्यान विवादले सेयर बजारमा आइतबार १० दशमलव छ आठ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेख नै बजार निरन्तर ओरालो लागेर ११ सय ६८ दशमलव शून्य नौ अंकमा कायम भएको छ । परिसूचक ओरालो लागेको दिन सबै समूह राताम्मे भएका छन् । निर्जिवन समूहको परिसूचक सबैभन्दा धेरै ९३ दशमलव सात पाँच, बिमा समूहको परिसूचक ६९ दशमलव नौ तीन, उत्पादनमूलक समूहको २१ दशमलव छ चार, जलविद्युत् समूहको १६ दशमलव चार एक, लघुवित्त समूहको १२ दशमलव छ नौ र होटल समूहको १२ दशमलव पाँच दुई अंकले घटेको छ । यस्तै विकास बैंक समूहको परिसूचकमा १० दशमलव शून्य तीन, वाणिज्य बैंक समूहको परिसूचकमा ८ दशमलव तीन नौ, अन्य समूहको ४ दशमलव चार छ र वित्त समूहको एक दशमलव आठ अंकले घटेको छ । परिसूचकमा गिरावट आएको दिन १ सय ६४ कम्पनीका ११ लाख ८५ कित्ता सेयर ३४ करोड रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्