भूमिहीनलाई जग्गा दिन चुनौतीपूर्ण : विधायन व्यवस्थापन समिति «

भूमिहीनलाई जग्गा दिन चुनौतीपूर्ण : विधायन व्यवस्थापन समिति


सांसदहरूले संवैधानिक व्यवस्थाअनुसार भूमिहीनलाई राज्यले एक पटकका लागि जग्गा दिने विषय कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भूमि अधिकारको सम्बन्धमा रहेका कानुनी प्रावधानको विषयमा छलफल गर्दै सांसदहरूले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताएका हुन् । बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले भूमि दिने विषय प्राविधिकभन्दा पनि राजनीतिक विषय भएकाले धेरै आयोग बन्ने र खारेज हुने गर्नाले भूमिसम्बन्धी समस्या तत्कालै समाधान हुन नसक्ने बताइन् । उनले भनिन्, “भूमि दिने भन्नेकुरा प्राविधिकभन्दा पनि राजनीतिक इस्यु हो । त्यसले गर्दा यति धेरै आयोग बन्दै खारेज हुँदै गइराखेको अवस्था हो । अहिले तुरुन्तै यो समाधान हुनेजस्तो चाहिँ देख्दिनँ ।”
सांसद बेदुराम भुसालले राज्यले जमिन बाँड्ने मात्रै कुरा गरेको र जमिन कहाँबाट ल्याउने भन्ने कुरा स्पष्ट नभएको उल्लेख गरे । जनसंख्या बढिरहेको तर जमिन भने नबढ्ने भन्दै उनले जमिन बाँडने कुरा चुनौतीपूर्ण रहेको बताए । उनले भने, “हामीले जमिन बाँड्ने मात्रै कुरा गर्छौ । ल्याउँछौँ कहाँबाट ? यो गम्भीर प्रश्न हो भन्ने मलाई लाग्छ । हालको जमिनको उपभोगको स्थितिलाई कसरी समन्यायिक बनाउन सकिन्छ, एउटा पाटो हो । यति वितरण गर्छौं भन्ने तर कहीँबाट ल्याउन नसक्ने समस्या छ ।”
बैठकमा बोल्दै सांसद ठगेन्द्रप्रकाश पुरीले भूमिलाई सम्पदाको हिसाबले स्वीकार गर्ने कि सम्पतिको हिसाबले स्वीकार गर्ने भन्ने विषयमा सरकार र जनताको साझा बुझाई हुनुपर्ने र त्यसै अनुरुप भूमिसम्बन्धी समस्या समाधानका निम्ति अध्ययन हुनुपर्ने बताए । उनले भने, “भूमिलाई सम्पदाको हिसाबले स्वीकार गर्ने कि सम्पतिको हिसाबमा स्वीकार गर्ने भन्नेकुरा धेरै महत्वपूर्ण छ जस्तो लाग्छ । यो कुराको निक्र्योल हुनुपर्छ । सरकार र जनताको बुझाइमा एकरुपता आउनुपर्छ ।”
समिति सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिमा भूमिहीनलाई एकपटक राज्यले जमिन उपलब्ध गराउने भन्ने व्यवस्था अनुरुप कानुन पनि बनिसकेको बताए । सो कानुनको कार्यान्वयन र कार्यान्वयनको समस्याको सम्बन्धमा समितिमा छलफल भएको जानकारी दिदैँ आगामी दिनमा थप अध्ययन गरेर समितिको तर्फबाट सरकारलाई आवश्यक सिफारिस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्