निगम सुधारका लागि उच्चस्तरीय कार्यदल गठन «

निगम सुधारका लागि उच्चस्तरीय कार्यदल गठन


अर्थमन्त्री जनार्दन शर्माले नेपाल वायु सेवा निगमको सुधारका लागि सुझाव दिन कार्यदल गठन गर्न निर्देशन दिएका छन् ।
कर्मचारीले विभिन्न माग राखेर हाल जारी राखेको आन्दोल र निगमको भावी कार्यदिशा अध्ययन गरी सुझाव दिनका लागि एक उच्चस्तरीय समिति गठन गर्न मन्त्री शर्माले निर्देशन दिएका हुन् । अर्थमन्त्री शर्माले पर्यटन सचिवको संयोजकत्वमा एक उच्च स्तरीय समिति गठन गर्न आग्रह गरेका हुन् ।
अर्थ मन्त्रालय, वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञहरुको समिति गठन गरी १५/२० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न पनि अर्थमन्त्री शर्माले सुझाव दिएका छन् । कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुंग्याउनुका साथै निगमको नियमित कामकाज सञ्चालन गर्नुपर्नेमा शर्माले जोड दिएका थिए । साथै निगम सुधारका लागि हालसम्म विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए सरकारलाई निर्णय लिन सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो राजनीतिक नेतृत्वको आवश्यकता औंल्याए ।
निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनीतिक विकल्पका बारेमा जानकारी दिए । राजनीतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको उनले बताए । निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए । उनले साढे पाँच सयको हाराहारीमा आवश्यकता भन्दा बढी कर्मचारी रहेकोसमेत बताए ।
विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको उनले जानकारी दिए । उनले निगम सुधारका लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे ।
छलफलमा राजस्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्