गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश «

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश

माघ-सरकारले गोरखकाली रबर उद्योगका मजदुर र कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ । मन्त्रिपरिषद्को माघ ३ गते बसेको बैठकले सोही दिनबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदुर र कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा उद्योग प्रशासनले शनिबार उद्योग परिसरमा सूचना टाँस गरी कर्मचारी र मजदुरलाई अनिवार्य अवकाशको औपचारिक जानकारी दिएको छ ।
उद्योग मन्त्रालयका सह सचिव शोभाकान्त पौडेलले उद्योगका मजदुर र कर्मचारीसँग छलफल गर्दै अवकाशका क्रममा तलब–भत्ताबाहेक थप एक महिनाको तलबबराबर अतिरिक्त रकम दिने तयारी रहेको बताए । मजदुर र कर्मचारीले भने तीन महिनाको थप रकम दिनुपर्ने माग गरेका छन् । कर्मचारी र मजदुरको तलब भुक्तानीका लागि अर्थमन्त्रालयमा ९३ करोड रुपैयाँ माग गरिएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ ।
उद्योग मन्त्रालयका सह सचिव पौडेलले भने वक्यौता तलब एकमुस्ट नभै किस्ता–किस्तामा उपलब्ध गराउन पनि सकिने बताए । “सरकारको कोषमा कति रकम छ भन्नेमा भर पर्छ, तीन चरणमा गरेर रकम भुक्तानी गर्न पनि सकिन्छ,” उनका अनुसार उद्योगका २ सय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलब दिन मात्रै करिब ३० करोड रुपैयाँ लाग्ने देखिएको छ ।
५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ६५ जनालाई उपदानबापत करिब १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तलब र उपदानसहित एक महिनाको अतिरिक्त रकम दिने हो भने पनि झन्डै एक अर्ब रुपैयाँ चाहिन्छ ।
हालसम्मको तलबभत्ता, अवकाश पाएकाहरूको उपदान, सञ्चयकोष, जीवनबिमा, सञ्चित बिदालगायत शीर्षकको रकम भुक्तानी गर्न सो रकम आवश्यक पर्ने देखिएको हो ।
उद्योगको अधिकृत पुँजी ६९ करोड ९९ लाख रुपैयाँ छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०७५ अनुसार गोरखकाली रबर उद्योगको आर्थिक वर्ष ०७३÷७४ सम्म एक अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कुल सञ्चित नोक्सानी छ ।
उद्योगले बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने साँवा १८ करोड ३३ लाख र ब्याज १७ करोड ६ लाख रुपैयाँ छ । त्यसैगरी, सरकारलाई १६ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
गोरखा नगरपालिका १३ मझुवा देउरालीमा ६ सय ४० रोपनी क्षेत्रफलमा उद्योग छ । २०४१ जेठ ३० गते स्थापना भएको उद्योग अहिलेसम्म एक वर्षमात्रै नाफामा गए पनि सधैं घाटामा रहेको कर्मचारीहरूले बताएका छन् । उद्योग २०७१ चैतदेखि पूर्ण रूपमा बन्द छ ।

 

प्रतिक्रिया दिनुहोस्