इन्टरनेट : बालबालिकाको कुलत कि अभिभावकको कुदृष्टि «

इन्टरनेट : बालबालिकाको कुलत कि अभिभावकको कुदृष्टि

केही वर्षअघिसम्म छिमेकी काकाले सोध्ने गर्थे, बाबु अझै पत्रकारै छौ कि कहीं काम गर्न थाल्यौ ? खेलाडी र कलाकारलाई पनि यस्तै प्रश्न गरिन्थ्यो । पत्रकार, खेलाडी, कलाकार भनेको आयअर्जन गर्ने पेसा होइन भन्ने बुझाइ थियो । डाक्टर, इन्जिनियर, पाइलटलाई मात्र सम्मानित पेसा मानिन्थ्यो । त्यो नभए सरकारी कर्मचारी त हुनैपर्छ भन्ने थियो ।
अहिले पत्रकारिता, चार्टर्ड एकाउन्टेन्सी, बैंकिङ, कर्पोरेट हाउसलाई पनि राम्रो पेसाको रूपमा लिइन्छ । जागिरै खानुपर्छ भन्ने छैन, राम्रो व्यापार–व्यवसाय गरे पनि हुन्छ भन्ने स्वीकारोक्ति बल्ल आउँदै छ । खेलेर, लेखेर, नाचेर, गाएर पनि जीविकोपार्जन गर्न सकिने भएको छ ।
राम्रो पढ्नुपर्छ र राम्रो जागिर खानुपर्छ भन्ने मान्यता अझै पुरानो पुस्तामा छ । यसले गर्दा नयाँ पुस्ताले आफ्नो खुसी र क्षमताअनुसारका काम, व्यवसाय गर्न पाउँदैनन् । रुचि नै नभएको विषय पढ्नुपर्ने र पेसा, व्यवसाय गर्नुपर्ने बाध्यता रहन्छ ।
विज्ञान प्रविधि र आर्थिक विकासको क्रमसँगै मानिसहरूका रुचि र आवश्यकता फेरिँदै गएका हुन्छन् । इन्टरनेटको विकास र विस्तारले आयआर्जनका अवसरलाई पनि व्यापक बनाइदिएको छ । काम गर्न यति उमेर पुगेको हुनुपर्छ र यति डिग्री हासिल गरेको हुनुपर्छ भन्ने मान्यता भंग भएको छ । बालबालिका र किशोरहरूले पनि रुचिअनुसारको काम गरेर आयआर्जन, क्षमता अभिवृद्धि र करिअर (वृत्ति) विकास गर्न सक्छन् ।
बग बाउन्टी
नेपाली किशोर सुजनले बग बाउन्टीबाट २० हजार डलर अर्थात् २३ लाख रुपैयाँ कमाएको सार्वजनिक गरेका छन् । अर्का एक किशोरले एउटै बग बाउन्टीबाट १० हजार डलर अर्थात् १० लाख रुपैयाँभन्दा बढीसम्म कमाएको सार्वजनिक भएको छ ।
ह्याकिङ इथिकल पनि हुन्छ । ठूला संस्थाका बेबसाइटहरू ह्याकरको फन्दामा परे भने ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसैले उनीहरूले आफ्नो बेबसाइटमा ह्याक हुन सक्ने लुप होल कहाँ छन् भनेर औंल्याइदिने व्यक्तिलाई पैसा दिने सिस्टम बनाएका हुन्छन् । इथिकल ह्याकरले बेबसाइटमा कमजोरी पाएपछि कम्पनीलाई त्यसबारे जानकारी दिन्छन् । यसलाई बग बाउन्टी भनिन्छ ।
फ्रिल्यान्सिङ
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूले धेरै काम आउट सोर्सिङ गर्छन् । यसअन्तर्गत एप्लिकेसन बनाउने, वेभ डिजाइन गर्ने, भिडियो तयारी गर्ने, आर्टिफिसियल इन्टेलिजेन्स बनाउने लगायतका काम पर्छन् । कम्पनीहरूले यसका टुक्रे काम अन्य साना कम्पनीलाई दिन्छन् । ती साना कम्पनीले सर्वसाधारणलाई दिन्छन् ।
बालबालिका वा किशोरहरूले सोझै कम्पनीहरूसँग सम्झौता गरेर काम गर्ने होइन । कुनै व्यक्तिका लागि उनीहरूले काम गरेर बुझाउन सक्छन् । त्यो व्यक्तिबाट उनीहरूले पैसा पाउँछन् । यो विधिअन्तर्गत नेपालमा धेरै नवयुवाले विदेशबाट आम्दानी गरिरहेका छन् ।
ब्लग
युट्युब, वेभपेज र अन्य सामाजिक सञ्जालहरूमा ब्लग बनाउन सकिन्छ । मनमा लागेका विचार, आफ्नो कला, संकलित जानकारी आदि बोलेर वा लेखेर ब्लगहरू चलाउन सकिन्छ । हिंड्दा, डुल्दा देखेका दृश्य खिचेर वा लेखेर पोस्ट गर्न सकिन्छ ।
ब्लग चलाउँदा विज्ञापनको पैसाबाट मात्र होइन, सहयोगबाट पनि आम्दानी हुन्छ । ब्लगरका कुरा मन परेर वा कसैलाई उपयोगी भएर दर्शकहरूले अनलाइनबाट बैंक खातामा पैसा पठाइदिन सक्छन् ।
एक जना नेपाली किशोर प्रसन्न लामाले समसामयिक विषयमा कमेडी भिडियो बनाउँछन् । उनले २०१७ फेब्रुअरीमा युट्युब च्यालन सुरु गरेका थिए । उनको भिडियोमा २० लाखसम्म दर्शक हुन्छन् । च्यानलका सब्सक्राइबर २ लाख ६३ हजार र दर्शक संख्या २ करोड २० लाख पुगेका छन् ।
यसका आधारमा उनले युट्युबबाट मनग्य आम्दानी गर्छन् भन्ने अनुमान गर्न सकिन्छ । दर्शक धेरै भएपछि युट्युबमा विज्ञापन बढी आउँछ । विज्ञापनको आम्दानी युट्युबले आफू र च्यानललाई बाँड्छ । युट्युब च्यानल चलाउन एउटा राम्रो मोबाइल मात्र भए पुग्छ ।
सेकेन्ड ह्यान्ड किनबेच
घरमा उपयोग नभएका विभिन्न सामान, डिभाइसहरू हुन्छन् । तिनले ठाउँ ओगट्ने र फोहोर बढाउने काम मात्र गरेका हुन्छ । बालबालिकाहरूले त्यस्ता सामान अनलाइनमार्फत ग्राहक खोजेर बेच्न सक्छन् ।
घरमा चाहिने सामानहरू बजारमा गएर नयाँ किन्दा महँगो पर्छ । बालबालिकाहरूले अनलाइनमा सेकेन्ड ह्यान्ड सामान विक्रेता खोजेर सस्तोमा सामान किन्दिन्छन् । खर्च जोगाउनु पनि कमाउनु नै हो ।
सेयर कारोबार
विश्का सेयर बादशाह वारेन बफेटले भनेका थिए, म ११ वर्षको उमेरमा सेयर बजारमा प्रवेश गरेँ, जुन निकै ढिला हो । नेपाललगायत कम विकसित देशहरूमा डिजिटल ग्याप प्रमुख मुद्दाको रूपमा रहेको छ । पुरानो पुस्ताका मानिसहरू सेयर कारोबार गरेर आम्दानी गर्थे । अहिले सबै काम अनलाइनबाट हुने भयो ।
अभिभावकहरू प्रविधिमैत्री हुँदैनन् । उनीहरूले अनलाइन कारोबार गर्दा त्रुटि गर्ने र गुमाउने सम्भावना हुन्छ । नयाँ पुस्ता स्मार्ट हुन्छ । उसले अभिभावकको तुलनामा राम्रो आम्दानी गर्न सक्छ । किनकि उसले कम्पनीहरूका सूचना अनलाइनबाट छिटोछरितो र पर्याप्त संकलन गर्न सक्छ । अनलाइन वा अफलाइन एप्लिकेसन प्रयोग गरी फन्डामेन्टल र टेक्निकल एनालाइसिस राम्रोसँग गर्न सक्छ ।
ट्युसन-तालिम
आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट ट्युसन बढाएर आम्दानी गर्न सकिन्छ । त्यस्तै एकभन्दा बढी भाषा जान्ने बालबालिकाले पाका उमेरका मानिसलाई अनलाइनबाट भाषा सिकाएर आम्दानी गर्न सक्छन् ।
कम्प्युटर जान्न चाहने पुरानो पुस्ताका मानिसहरू हुन्छन् । तिनलाई अनलाइनबाटै कम्प्युटर सिकाएर बालबालिकाले पैसा कमाउन सक्छन् । सिक्ने व्यक्तिको कम्प्युटरमा एनी डेस्क, टिम भ्युअरजस्ता रिमोर्ट कन्ट्रोल एप्लिकेसनहरू इन्सटल गरेर सिकाउने व्यक्तिले आफ्नै घरमा बसेर सिकाउन सक्छ ।
ई–गेमिङ
पछिल्लो समय ई–गेमिङ विश्वमा उदीयमान क्षेत्र हो । गेम निर्माता कम्पनीहरू सर्वाधिक आम्दानी गर्ने कम्पनीमा पर्ने गरेका छन् । खेल्ने र हेर्नेको संख्या पनि बढ्दै गएको छ । सन् २०१८ मा सुरु भएको प्लेयर्स अननोन ब्याटल ग्राउन्ड (पब्जी) अहिले एक नम्बरमा छ । यहाँ यसकै उदाहरण दिइन्छ ।
नेपालमा २०७७ सालमा द रियल सोल्जर्स (टीआरएस) नामको कम्पनी स्थापना भएको छ । यस कम्पनीले मासिक तलब दिने गरी युगेन लामा (निन्जा) सहित पाँच जना पब्जी खेलाडीलाई अनुबन्ध गरेको छ । यो टिमले २०७८ सालको असारमा अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता पब्जी मोबाइल प्रो लिगमा तेस्रो स्थान हासिल गरी १८ हजार डलर अर्थात् २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताबाहेक पब्जीजस्ता खेलबाट दुई तरिकाले कमाइ हुन्छ । राम्रो खेल्न सके अवार्ड र युद्ध सामग्रीहरू प्राप्त गर्न सकिन्छ । त्यस्ता अवार्ड र सामानहरू अन्य खेलाडीलाई अनलाइन बिक्री गरेर आम्दानी गर्न सकिन्छ । दोस्रो तरिका राम्रो खेलेर लाइभ स्ट्रिम गर्ने हो । युट्युब वा अन्य साइटमा लाइभ स्ट्रिम गर्न सकिन्छ । दर्शक संख्या बढी भएपछि विज्ञापनको पैसा सेयरिङबाट राम्रो कमाइ हुन्छ ।
एप्लिकेसनहरू
चर्चित सञ्चारकर्मी रवि लामिछानेद्वारा निर्मित डोको एपमा क्विज खेलेर पैसा कमाउन सकिन्छ । यसमा दैनिक बढीमा १ लाख रुपैयाँसम्म जित्न सकिन्छ । अनलाइन सपिङ दराज डट कम डट एनपीले डिएफजी नामको गेम प्लेटफर्म पनि दिएको छ । अन्य नेपाली धेरै एप बनेका छन् । अरूलाई एप इन्सटल गर्न रिफर गरेर, एपमा खेलेर, भिडियो, फोटो हेरेर पैसा कमाउन सकिन्छ । यस प्रकृतिका अन्तर्राष्ट्रिय एपहरू त कैयौं छन् ।
इन्टरनेट कुलत
नयाँ पुस्ता इन्टरनेटमा बिताउँछ, रमाउँछ र कमाउँछ । कतिपय अभिभावक र सरकार यसलाई कुलत भन्छन् । यसले विद्यार्थीको पढाइ र करिअर बिग्रन्छ भन्ने मान्यता राख्छन् । पढाइ र करिअरको परिभाषा नै फेरिइसकेको तर्फ भने उनीहरूको ध्यान जाँदैन ।
नेपालमा फेसबुक र युट्युब प्रयोग बढ्न थालेपछि सरकारी कार्यालयमा यसलाई प्रतिबन्ध लगाइयो । यस्तो निर्णय गर्ने गराउने मन्त्री सरकारले वाहीवाही पाए । पछि त्यसको ठीक उल्टो सरकारले सबै कार्यालयलाई फेसबुक पेज र युट्युब च्यानल अनिवार्य बनाउन निर्देशन दियो । अहिले सरकारी कार्यालयका सूचना प्रवाह गर्ने र नागरिकसँग अन्तत्र्रिmया गर्ने प्रमुख माध्यम फेसबुक, ट्विटर र युट्युब हुन् ।
ई–गेमलाई अझै पनि कुदृष्टिले हेर्न छोडिएको छैन । पहिले आउटडोर र इनडोर गेमलाई केटाकेटीको पढाइ बिगार्ने माध्यम भनिन्थ्यो । पछि अन्डर १३ क्रिकेट सरकारले नै प्रवद्र्धन गर्न थाल्यो । बालबालिकाकै लागि अन्य खेल प्रतियोगिता पनि आयोजना हुन थाले । अहिले प्रविधिको विकास भयो । भौतिक खेलहरू खेल्दा सभ्य र अनलाइन खेल्दा कुलत भन्ने युक्तिसंगत कुरा होइन ।
निष्कर्ष
बालबालिकाले मनोरञ्जनका लागि मोबाइल चलाउँछन् । यसलाई अलिकति सिर्जनात्मक बनाएर गोजी खर्चका लागि आम्दानी पनि गर्न सक्छन् । किशोर हुँदा अनलाइनलाई पढाइ खर्च जुटाउने माध्यम बनाउन सक्छन् । युवा हुँदासम्म अनलाइनकै क्षेत्रमा आफ्नो सीप क्षमता विकास गरेर यसैलाई आफ्नो करिअर पनि बनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्