विमानस्थलमा हातले छामेर दैनिक जाँच «

विमानस्थलमा हातले छामेर दैनिक जाँच

जाजरकोट-डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा हातले छामेर दैनिक सामग्रीहरू उडान भर्ने गरिँदै आएको छ ।
एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन् । यात्रु र उनीहरूको झोला चेकजाँच गर्ने विमानस्थलजस्तो संवेदनशील ठाउँमा सामान चेकजाँच गर्ने एक्सरे मेसिन नहुँदा हातले छामछुम गरेर वैध–अव्ैध सामानको सुनिश्चिता गर्नुपरेको सुरक्षार्थ खटिएका प्रहरीको गुनासो छ ।
वि.सं. २०३२ मा सञ्चालनमा ल्याइएको ठुलीभेरी नगरपालिका–७, जुफालस्थित विमानस्थल ४३ वर्षसम्म पनि आधुनिक प्रविधिको सुविधाको पहुँचमा पुग्न सकेको छैन । डोल्पालीका लागि जिल्लाबाहिर आवातजावत गर्ने तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने भरपर्दो माध्यमका रूपमा डोल्पाको पहिलो विमानस्थलका रूपमा जुफाल विमानस्थल रहेको छ ।
डोल्पालीका लागि आवतजावत गर्ने भरपर्दो साधन हवाईजहाज नै भएकाले पनि जुफाल विमानस्थल भएर डोल्पा भित्रिने र बाहिरिने यात्रुको सधैंजसो विमानस्थलमा भिडभाड हुन्छ ।
प्रहरीले सामान चेकजाँच गर्दागर्दै जहाज आइपुग्छ, हतार–हतारमा यात्रुका लगेज अन्दाजमा चेकजाँच गरेर पठाउनुपर्दा कुनै ठूलो अपराध वा घटना घट्न गए ड्युटीमा रहने सुरक्षाकर्मीको जागिर नै धरापमा पर्ने गरेको छ । ठूलो समस्यालाई जोखिम मोलेरै काम गर्नुपर्ने बाध्यता रहेको विमानस्थल सुरक्षा क्याम्पले जनाएको छ ।
मेसिनद्धारा गर्नुपर्ने काममा हातले छामछुम गरेर सामानको ग्यारेन्टी गरेर पठाउँदा कहिलेकाहीं प्रतिबन्धित वस्तुहरू छिर्न सक्ने सम्भावना पनि उत्तिकै रहेकाले एक्सरे मेसिन आवश्यक रहेको सुरक्षा अधिकारीले बताएका छन् ।
पछिल्लो समय डोल्पा घुम्नका लागि प्याकेज नै बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । विमानस्थलमा यात्रुको चाप दिनप्रतिदिन बढ्दै गएको तारा एयरलाइन्सका डोल्पा स्टेसन म्यानेजर यज्ञ ठकुल्लाले बताए ।
डोल्पा पर्यटकीय सामरिक महŒवका सम्पदाले पनि धनी जिल्ला भएको र यहाँका प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर नेपालकै गहिरो फोक्सुन्डो ताल शे–गुम्बा र विश्वकै उच्च मानववस्ती धो–उपत्यकाजस्ता पर्यटकीय स्थलहरूको अवलोकन र प्राकृतिक स्वाद पान गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।
जुफाल विमानस्थलका अनुसार गत आर्थिक वर्ष २ लाख ५० हजारको हाराहारीमा पर्यटकहरू हवाई मार्गबाट ओहोरदोहर गरेका थिए । पछिल्लो समय डोल्पाको जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रभावकारी र छिटो चेकजाँच गर्नका लागि विमानस्थलमा एक्सरे मेसिनको आवश्यकता रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले बताए ।
जुफालमा तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका एयरलाइन्सले सुविधा दिँदै आएका छन् । त्यस्तै डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकाको मसिनेचौरमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा समस्या भएको छ ।
सञ्जय केसी 

प्रतिक्रिया दिनुहोस्