लाभांश, बुक क्लोज र मूल्य समायोजन «

लाभांश, बुक क्लोज र मूल्य समायोजन

बुकक्लोज र मूल्य समायोजनले सेयरधनीको धितोपत्रगत सम्पत्तिमा तात्विक असर नपरे पनि बुकक्लोज मिति र मूल्य समायोजनमा चनाखो हुनैपर्छ ।

सामान्यतः कुनै कम्पनीले आर्जित मुनाफा वा सेयरधनीका लागि उपलब्ध रकम वितरण गर्दा कायम सेयरधनी-अंशियारले लगानीबापत समानुपातिक रूपमा पाउने प्रतिफल वा लाभको अंशलाई लाभांशका रूपमा बुझ्न सकिन्छ । कम्पनीले सेयरधनीको पैसा चलाएबापत पुँजीको लागत-भाडा वा क्षतिपूर्ति भुक्तानी पनि हो । यस्तो भुक्तानीको दर र समय सुनिश्चित र अनिवार्य हुन्न, तर कम्पनीले कमाएको नाफाबाट कर, नियामकीय कोष तथा अन्य व्यवस्थाहरू छुट्ट्याएर उपलब्ध रकमबाट नगद प्रवाह, व्यावसायिक पुँजीगत आवश्यकता र नियामकीय निर्देशन भए सोहीअनुसार नगद वा बोनस सेयरका रूपमा वितरण हुन सक्छ । म्युचुअल फन्डकोे लाभांश नगद मात्रै हुन्छ । तोकिएको बुकक्लोज मितिमा सेयर दर्ता किताबमा कायम सेयरधनी मात्र लाभांशका हकदार हुन्छन् । नगद लाभांश सभाले पारित गरेको केही समयपछि कम्पनीले सीधै र बोनस सेयर सम्बन्धित नियामक, कम्पनी रजिस्टार, नेपाल धितोपत्र बोर्ड र सिडिएससीमा अभिलेखीकरण र स्वीकृतिका लामो प्रक्रिया पूरा गरेर वितरण हुन्छ । जुनसुकै मूल्यमा प्राथमिक, दोस्रो वा लिलामीबाट किनेको धितोपत्रमा लाभांश अंकित मूल्य (१ सय वा १० रुपैयाँ) को आधारमा दिइन्छ ।
कम्पनी ऐनले लाभांशको छुट्टै परिभाषा नगरे पनि दफा १८२ मार्फत वितरण निर्देशित गरेको छ । कानुनतः जुनसुकै प्रकारका कम्पनी (बैंक, बिमा, जलविद्युत्, उत्पादन, होटल लगायत) ले आर्जित लाभबाट तोकिएका सर्तबन्देज पूरा गरेर सेयरधनीलाई लाभांश बाँड्न सक्छन् । पारित लाभांश ४५ दिनभित्र छुट्टै खातामा जम्मा गरी सोही खाताबाट सेयरधनीलाई भुक्तानी गर्नुपर्ने र त्यस्तो रकम अन्य कामका लागि उपयोग गर्न नपाउने व्यवस्था छ । ऐनअनुसार नियमन हुने कम्पनीको लाभांशमा नियामकको र नेपाल सरकारको स्वामित्व भएका कम्पनीमा सरकारको पूर्वस्वीकृति लिनुपर्छ । यस्तै पूर्व सञ्चालन खर्च, निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतको सञ्चित नोक्सानी रकम पूर्ण रूपमा कट्टा हुनुपर्छ । त्यस्तै कुनै जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने व्यवस्था भए, त्यस्ता कोष खडा नगरी लाभांश वितरणमा रोक छ । जस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) को दफा ४४, ४५, ४७(२) र ९९(घ) को प्रक्रिया पूरा नगरी लाभांश वितरण गर्न पाइन्न ।
ऐनअनुसार साधारण जगेडा कोष र सटही समीकरण कोषमा रकम नछुट्ट्याई, सर्वसाधारणलाई सेयर जारी नगरेसम्म र केन्द्रीय बैंकद्वारा जारी नियम, विनियम र निर्देशन पालना नगरेमा लाभांश वितरण रोक्न सकिन्छ । समस्याग्रस्त बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार निश्चित समयसम्म लाभांश वितरण रोक्न सकिन्छ । बिमा कम्पनीले पनि महाविपत्ति र साधारण जगेडा कोषमा रकम व्यवस्था नगरी लाभांश वितरण गर्न सक्दैनन् ।
ऐनअनुसार कम्पनीको नियमावलीमा व्यवस्था गरिएको भए र आर्थिक वर्षको वार्षिक आर्थिक विवरण लेखापरीक्षकबाट प्रमाणित भई सञ्चालक समितिबाट स्वीकृत भइसकेको भए अन्तरिम लाभांश पनि वितरण गर्न सकिन्छ । ऐनमा लाभांश वितरण गरेको मितिले पाँच वर्षसम्म सेयरधनीले बुझी नलिएको लाभांश उल्लिखित अवधि समाप्त हुनुभन्दा कम्तीमा एक महिनाको म्याद दिई लाभांश बुझिलिन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर पनि नलिएमा कानुनबमोजिम स्थापित ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा गर्नुपर्छ ।

बुकक्लोज र सूचना
मूलतः सूचीकृत कम्पनीको प्रकृतिअनुसार सेयरधनीमा भइरहने परिवर्तनले लाभांश वा हकप्रदमा आधिकारिक हिस्सेदार पहिचान गर्न तोकिएको दिन बुकक्लोज वा सेयरधनी दर्ता किताब बन्द गरिन्छ । एक वर्षमा ४५ दिनमा नबढाई एकपटकमा बढीमा ३० दिनसम्म दर्ता किताबको निरीक्षण बन्द गर्न सकिनेछ । यस्तो सूचना राष्ट्रिय स्तरको पत्रिकामा सात दिनअगावै प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसबाहेक म्युचुअल फन्डको लाभांश वितरणका लागि साधारणसभा गर्नु नपर्ने भए पनि एकाइधनी कायम गर्न सात दिनको सूचना दिएर एक दिन बुकक्लोज गरिन्छ ।
बुकक्लोजबाट कायम सेयरधनीको मात्र कम्पनीको निर्णय प्रक्रियामा सहभगिता, मतदान वा अनुमोदन अधिकारका साथै लाभांश वा जारी हुने हकप्रदमा अधिकार स्थापित हुन्छ । तसर्थ, इच्छुकले बुकक्लोज मितिको अघिल्लो दिनसम्ममा धितोपत्र खरिद गरी तोकिएको समयभित्र सम्बन्धित सेयर रजिस्टार वा कम्पनीमा रहने दर्ता किताबमा सूचीकृत भइसक्नुपर्छ । बुकक्लोजपछि प्रचलित विधिका आधारमा उक्त धितोपत्रको हुन सक्ने औपचारिक मूल्य समायोजनबाट बजार मूल्यका साथै सम्बन्धित सेयरधनीको सेयर सम्पत्तिमा पनि प्रभाव पर्न सक्छ । तसर्थ, विशेष गरी अल्पकालीन लगानीकर्ता र कारोबारीले उक्त धितोपत्रको लाभांश वा हकप्रद लिने वा नलिने निर्णयका आधारमा बुकक्लोजको अघिल्लो दिनसम्म किनबेच वा होल्ड गर्नुपर्छ ।

मूल्य समायोजन
कानुनी व्यवस्थाभन्दा प्रचलित विधि र परिपत्रका आधारमा बोनस जारी, हकप्रद जारी, बजारमूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण र दुई कम्पनी मर्ज भई एकीकृत कारोबार हुँदा बजार सञ्चालक नेप्सेबाटै उदाहरणअनुसार औपचारिक मूल्य समायोजन गरी समायोजित मूल्यको जानकारी दिइन्छ ।
१. बोनस सेयरमा : मानौं कम्पनीले २० प्रतिशत बोनस सेयरको प्रस्तावसहित पुस १५ गते बुकक्लोज तोक्यो, जसको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ६०० रह्यो । सूत्रवत् रूपमा, समायोजित मूल्य – अन्तिम कारोबार मूल्य-(१ + बोनस कित्ता वा दर) हुन्छ । यहाँ, रु. ६००-१.२० ले रु. ५०० हुनेछ ।
२. हकप्रद सेयरमा : मानौं कम्पनीले २५ प्रतिशत हकप्रद जारी गर्न पुस १५ गते बुकक्लोज तोक्यो, जसको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ५०० छ । सूत्रवत् रूपमा, समायोजित मूल्य = (अन्तिम कारोबार मूल्य + अंकित मूल्यमा हकप्रद दरमा चुक्ता मूल्य)-(१ + हकप्रद सेयर कित्ता वा दर) हुन्छ । उदाहरण अनुसार (५०० + २५)-(१ + ०.२५) भई समयोजित मूल्य ४२० रुपैयाँ हुन्छ ।
३. नगद लाभांशमा : मानौं अंकित मूल्य १०० भएको पहिलो र १० रुपैयाँ भएको दोस्रो दुवै धितोपत्रले २५ प्रतिशत नगद लाभांशका लागि पुस १५ गते बुकक्लोज तोके । अंकित मूल्यका आधारमा पहिलोको २५ र दोस्रोको २.५ रुपैयाँ नगद लाभांश हुन्छ । बुकक्लोजअगाडिको अन्तिम कारोबार मूल्य मानौं पहिलोको ५०० र दोस्रोको १५ रुपैयाँ कायम भए, पहिलो धितोपत्रको लाभांश अन्तिम मूल्यको १० प्रतिशतभन्दा कम (५ प्रतिशत) हुँदा औपचारिक मूल्य समायोजन हुँदैन । अर्कोतर्फ दोस्रोको लाभांश अन्तिम कारोबारको १० प्रतिशतभन्दा बढी (१६.६७ प्रतिशत) हुँदा औपचारिक रूपमै मूल्य समायोजन हुन्छ । सूत्रवत् रूपमा, समायोजित मूल्य = अन्तिम कारोबार मूल्य – लाभांश रकम हुन्छ । उदाहरणमा, रु. १५ – २.५ ले समयोजित मूल्य रु. १२.५ हुन्छ ।
४. मर्ज भई कायम कम्पनीमा : केही समयदेखि मर्ज अगाडि तत्तत् कम्पनीको बजार पुँजीकरणका आधारमा एकीकृत कम्पनीको नाममा कायम कित्ताअनुसार गणना गरिएको समायोजित मूल्य तोक्न थालिएको छ । मानौं कारोबार रोकिँदाको ‘ए’ कम्पनीको ३०.७९ अर्ब र ‘बी’को १७.१२ अर्ब रुपैयाँसहित कुल बजार पुँजीकरण ४७.९१ अर्बको थियो । तोकिएको स्वापबाट एकीकृत कम्पनीको कुल १८.९७ करोड कित्ता कायम भएमा समायोजित मूल्य ४७.९१ अर्ब भागा १८.९७ करोडले करिब रु. २५२.५० हुनेछ ।

ध्यान दिनुपर्ने कुरा
मूल्यमा समायोजन हुने माथि उल्लिखित चार अवस्थामध्ये चौथोको औचित्यमा प्रश्न उठ्ने गरेको छ । यसमा समायोजनको औचित्य पुष्टि हुन नसके पनि पछिल्लो समयमा हुँदै आएको छ । नेपालको सन्दर्भमा प्राप्तिमा पनि मर्जकै विधिबाट कम्पनीहरू गाभिने भए पनि औपचारिक मूल्य समायोजन नहुने व्यवस्थाले मर्जको मूल्य समायोजनको औचित्यतामा प्रश्न उठेको हो । उल्लिखित चारमध्ये पहिलो र दोस्रोको मूल्य समयोजन निसर्त हुँदै आएको र स्वीकार्य देखिन्छ । तेस्रोमा अनिवार्य हुन्न, सर्तात्मक हुन्छ । हुन त बुकक्लोज र मूल्य समायोजनले चौथो अवस्थामा बाहेक सेयरधनीको धितोपत्रगत सम्पत्तिमा तात्विक असर पर्दैन, तर तत्कालीन बजार मूल्य, बढ्दो सेयर आपूर्ति, बोनस र हकप्रद सूचीकृत हुन लाग्ने समय र त्यसबीचमा गरिने धितोपत्रको किनबेचमा भने असर पर्न सक्छ । तसर्थ, बुकक्लोज मिति र मूल्य समायोजनको विशेष ख्याल राख्नुपर्छ । यसका लागि आधिकारिक सूचना प्राप्त गर्नुपर्छ, जुन आधिकारिक स्थल नेप्से, सम्बन्धित कम्पनी र सेयर रजिस्टार तथा तिनको वेबसाइटमा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्