ठोरीको तीनघरे होमस्टेलाई सडक समस्या «

ठोरीको तीनघरे होमस्टेलाई सडक समस्या

वीरगन्ज-प्रदेश नम्बर २ को अन्तिम सिमानामा पर्ने पर्साको सूदुर गाउँपालिका ठोरीमा सञ्चालन गरिएको तीनघरे होमस्टे (घरवास) मा जान सडकको समस्या भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्वको सिमानामा पर्ने तीनघरेमा जंगली जनावरले बालीनालीमा दुःख दिने र मानवीय क्षतिसमेत पुर्याउने जोखिम रहेकेले मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापनका लागि विश्व वन्यजन्तु कोसअन्तर्गतका तराई भू–परिधि (ताल) परियोजनाको सहयोगमा तीनघरेमा घरवास व्यवसायको सुरुवात गरिएको हो । अहिले घरवास बस्ने पर्यटक आउन थाले पनि त्यहाँसम्म जाने सडकस्तरीय नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । ठोरी गाउँपालिका–१ तीनघरेमा मगर समुदायले गएको भदौ महिनादेखि सञ्चालनमा ल्याएको होमस्टे (घरवास) मा पर्यटक जान थाले पनि सडकको समस्या हुने गरेको तीनघरे मध्यवर्ती होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगरले बताए । मिनी उपत्यकाको रूपले परिचित ठोरीमा थुप्रै रमणीय पर्यटकीय स्थलहरू रहेकोले त्यहाँ घुम्न जाने पर्यटकहरू तीनघरे होमस्टेमा घरवास बस्न पुग्ने गरेका छन् । धेरैजसो भारतीय पर्यटक रहे पनि बाहिरबाट आउने पर्यटक भने तीनघरे होमस्टेमा बस्न जाने गरेका छन् । जंगली जनावरले बालीनाली खाइदिने गरेपछि तीनघरेका स्थानीले पनि जनावरले क्षति नपुर्याउने बालीनाली मात्रै लगाएर होमस्टे व्यवसायतर्फ लागेका हुन् ।

१३ घरमा होमस्टे सञ्चालन
व्यापारिक दृष्टिकोणबाट पनि भारतीय सीमावर्ती बजारनजिकै रहेकाले चितवन, धादिङ, मकवानपुर लगायतका स्थानबाट पनि किनमेलको लागि ठोरी नाकाको प्रयोग गर्ने गरेका छन् । तारा गाउँ विकास समिति काठमाडौंको प्राविधिक सहयोगमा तीनघरेको मगर समुदायले १३ घरमा होमस्टे सञ्चालनमा ल्याएका छन् । जातीय भेषभूषा, भाषा, कला र संस्कृतिको धनीको रूपमा मानिने मगर समुदायले सञ्चालन गरेको होमस्टेमा बास बस्न आउने पर्यटकलाई मगर संस्कृति झल्कने मारुनी, सोरठीलगायतको गीत तथा नृत्यले मनोरञ्जन प्रदान गर्ने गरेको होमस्टेका अध्यक्ष चेतबहादुर थापाले बताए । उनका अनुसार होमस्टेमार्फत स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको छ । धर्म, संस्कृति, भाषा, भेषभूषा र पर्यापर्यटनको विकासमा पनि टेवा पुगेको छ । भान्सामा स्थानीय उत्पादनका परिकार पाक्ने भएकाले आन्तरिक पर्यटक आकर्षित हुने गरेको उनले बताए । स्थानीयले पालेको कुखुरा, हाँसलगायत खेतबारीमा उत्पादन भएका अग्र्यानिक तरकारी लगायतका अन्य खाद्यान्नसमेत बिक्री भइरहेको छ । ग्रामीण पर्यटन विकासको उच्च सम्भावना बोकेको मगर टोलमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालन गरिएको भए पनि स्तरीय सडक नहुँदा पर्यटकलाई मात्रै नभई आफुहरूलाई पनि समस्या हुने गरेको उनले बताए । गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरिएको थापाले बताए । गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आगमनले गाउँमा चहलपहल बढेको थापाको भनाइ छ । गाउँमा रहेको होमस्टेमा नयाँ ठाउँका नयाँ मानिस आउँदा रमाइलो लाग्ने उनीहरूबाट विभिन्न ज्ञान, सीप सिक्ने अवसर पनि पाइने गरेको स्थानीयको भनाइ छ ।

होमस्टेको सम्भावना बढी
प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य रहेको ठोरीमा होमस्टेको प्रचुर सम्भावना छ । तर, गाउँपालिकाले होमस्टेसम्म जाने सडक निर्माणका लागि बजेट भने छुट्याएको छैन । गतवर्ष केही रकम छुट्याएको भए पनि चालू आर्थिक वर्षमा सडकमा खर्च गर्न बजेट नछुट्याएको वडा नम्बर १ का वडा सदस्य भक्तबहादुर आले मगरले बताए । उनले भने, “यसवर्ष सडकमा खर्च नगर्ने भनेर बजेट योजनामा पारेन, अब अर्को आर्थिक वर्षमा सडक निर्माणका लागि योजनामा पार्नुपर्नेछ ।” पर्सा र चितवन राष्ट्रिय निकुञ्जको काखमा फैलिएको ठोरी क्षेत्रमा घुम्न आउने पर्यटकले संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु, हात्ती, जरायो, चित्तल, विभिन्न प्रजातिका चरा चुरुंगीको अवलोकन गर्न सक्ने भएकाले पर्यटक आएर बासबस्नका लागि घरबास सेवा प्रभावकारी देखिएकाले सडकको सुधार गर्नुपर्ने उनले बताए ।

पर्यटकलाई पूर्ण मनोरञ्जन
ठोरी गाउँपालिकाकै वडा नम्बर–५ सुवर्रणपुरमा विगत केही वर्षदेखि तामाङ समुदायको बाहुल्य रहेको बस्तीमा होमस्टे सञ्चालनमा छन् । सुवर्णपुरमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई तामाङ सेलो तथा स्थानीयस्तरमा चलेका भाकामा भेषभूषा तथा पहिरनमा प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिइने गरिन्छ । सुवर्रणपुरमा रहेका होमस्टेलाई थप व्यवस्थित बनाउने कार्य भइरहेको छ । प्रचार प्रसारदेखि लिएर कल्चर भवन निर्माण गरिएको छ । ठोरीमा होटल रेस्टुराँ खुल्ने क्रममा रहेको भए पनि स्तरीय होटल तथा पूर्वाधार निर्माण हुन सकेको छैन । पर्साका होमस्टेमा वन्यजन्तुको विषयमा सोध अनुसन्धान गर्न तथा घुम्नका लागि विदेशी पर्यटक पनि आउने गरेका छन् । पर्सामा सञ्चालनमा रहेको होमस्टेको विषयमा बाहिर खासै प्रचार नभएको र होमस्टेको बारेमा सूचनामूलक सामग्री पनि नहँुदा होमस्टेमा अपेक्षाकृत विकास हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्