Logo

रोजगारी बढाउन वन उद्यमको प्रवद्र्धनमा जोड

GettyImages / Romolo Tavani

कोभिड– १९ का कारण थलिएको अर्थतन्त्रसँगै धेरैले रोजगारी गुमाउनुपरेको परिस्थितिमा रोजगारी बढाउन वन उद्यम प्रवद्र्धन गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । वन उद्यममा निजी क्षेत्रको आकर्षण बढाएर रोजगारी बढाउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनीहरुको भनाइ छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकालले कच्चा पदार्थको अभावका कारण र लगानीमैत्री वातावरण नहुँदा वनजन्य उद्याममा लगानी घट्दै गइरहेको बताए । “वनजन्य उद्यमबाट नै रोजगारी वृद्धि सम्भव छ । कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ, तर अब सरकारले वन उद्यमको विकासमा प्रथामिकता दिएर स्वरोजगार बढाउनु आवश्यक छ,” उनले भने ।
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सिंगो वन क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताइन् । “वन संरक्षण मात्रै गरेर हुँदैन, यसलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने हुन्छ । अबको वन व्यवस्थापन जनताको सहभागिताबाट हुनु जरुरी छ,” उनले भनिन्, “वन स्रोत सही रुपमा सदुपयोग हुन सकिरहेको छैन ।”
सरकारले नयाँ वन व्यवस्थापन पद्धति अगाडि बढाउने तयारी गरिरहेको छ । वन तथा वातावरण मन्त्रालयले देशको अर्थतन्त्र चलायमान गर्न वनजन्य उद्यमको विकासबाट रोजगारी वृद्धि गर्ने र अर्थतन्त्र उकास्ने नीति लिएको छ । वनबाट उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार सहजीकरण गर्ने सरकारको नीति छ ।

प्रतिक्रिया दिनुहोस्