संस्कृति जोगाउन होमस्टे «

संस्कृति जोगाउन होमस्टे

लमजुङ-लमजुङ सदरमुकाम बेसीसहरसँगै रहेको नरुवाल मगर गाउँमा होमस्टे सुरु गरिएको छ । मगरहरूको बाहुल्य रहेको बेसीसहर–२ नरुवालमा मगर संस्कृतिको जगेर्नाकै निम्ति व्यावसायिक होमस्टे सुरुवात गरिएको हो ।
पर्यटन ब्यवसायबाट लमजुङका अधिकांश गुरुङ समुदायले छलाङ मारेपछि मगरगाउँमा पनि घरबास (होमस्टे) कार्यक्रम सुरु गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार होमस्टेको औपचारिक उद्घाटन गरे । गण्डकीका मुख्यमन्त्री गुरुङले संभाव्यता रहेका गाउँको समृद्धि होमस्टेबाट नै हुने दाबी गरे । उनले प्रदेशभित्रका तीन सय गाउँलाई प्रवद्र्धन गरी व्यावसायिक होमस्टे सञ्चालन गर्न प्रदेश सरकार लागिपरेको बताए ।
नरुवलमा ७५ घर मगर समुदाय छन् । जिल्लाकै सबैभन्दा धेरै मगर समुदायको बस्ती रहेको नरुवालमा हाल १० घरमा व्यावसायिक घरवास कार्यक्रम सुरु गरिएको छ । “जिल्लामा गुरुङ समुदायमा धेरै होमस्टे छन्, पहिलो पटक मगर समुदायमा हामी होमस्टे सुरु गर्दैछौं,” होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर आलेले भने, “मगर संस्कृतिको जगेर्ना र पर्यटनबाट समृद्धि नै होमस्टेको प्रमुख विशेषता हो ।”
नरुवालको होमस्टेमा मगर समुदायको चलन चल्तीका खाना, संस्कृतिको अनुभव गर्न पाइने छ । मगर समुदायले गाउँमा आएका पाहुनालाई लोकल सुँगुरको मासु, कोदो र मासको परिकारको स्वाद दिने बताएका छन् । घरबास कार्यक्रम सञ्चालक सुनिता रानाले भनिन्, “हामी पर्यटकलाई स्थानीय र अर्गानिक खानामात्र खुवाउनेछौं, लोकल कालो सुँगुर हाम्रो विशेष खाना हो ।”
मगर समुदायको कौरा नृत्य यहाँको विशेष आकर्षण हो । “घाँटु, रोधी, कृष्ण चरित्र हाम्रो जिल्लामा धेरै देख्न पाइन्छ,” स्थानीय मदन रानाले भने, “कौरा नृत्य हाम्रो समुदायमा मात्र देख्न पाइन्छ, हामी पाहुनालाई कौरा नृत्य देखाउछौं ।” कौरासँगै झ्याउरे नाच पनि यहाँको थप आकर्षण हो । मगरगाउँ घरवास कार्यक्रम प्रवद्र्धनका निम्ति उद्योग वाणिज्य संघ, बेसीसहर नगरपालिका र रोटरी क्लब अफ लमजुङले पनि सहकार्य गरेका छन् । उद्योग वाणिज्य संघले घरवास कार्यक्रमका लागि प्रवद्र्धनात्मक कार्यक्रम तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ । “जिल्लामा भएका अन्य होमस्टेभन्दा नरुवाल होमस्टे सदरमुकामबाट नजिक छ,” लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले भने, “मगर समुदायले आफ्नै विशेषता प्रवद्र्धन गर्ने हिसाबले होमस्टे सञ्चाल गरेकोले छिट्टै नै सफल हुने अपेक्षा गरिएको छ ।”
यस्तै बेसीसहर नगरपालिकाले पूर्वाधार तथा संरचना निर्माणमा सहयोग गरेको छ भने घरवास कार्यक्रमलाई प्राथमिकता दिँदै मगरगाउँमा रोटरी क्लब अफ् लमजुङले रोटरी भिलेजको रूपमा प्रवद्र्धन गर्ने जनाएको छ । हाल नरुवलमा एकरातमा कम्तीमा २० जना पर्यटकलाई ब्यवस्थित तरिकाले राख्न सकिन्छ । गाउँमा आएका पर्यटकलाई मगर संस्कृतिअनुसार स्वागत सत्कार गरिने घरवास कार्यक्रम सञ्चालक सुकमाया रानाले बताइन् ।
जिल्लामा दर्जनभन्दा बढी गाउँमा घरवास कार्यक्रम सञ्चालन गरिएका छन् । अन्य गाउँमा सञ्चालन गरिएका घरवास कार्यक्रममा गुरुङ समुदायको बाहुल्य छ ।
एसियाकै उत्कृष्ट गन्तब्य घलेगाउँ, नेपालकै उत्कृष्ट गन्तब्य काउलेपानी, राईनासकोटसँगै मगर समुदायले सञ्चालन गरेको नरुवाल घरवास कार्यक्रम पनि उत्कृष्ट हुने सरोकारवालाको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्