तुलनात्मक दृष्टिमा नेपालको पर्यटन «

तुलनात्मक दृष्टिमा नेपालको पर्यटन

पर्यटक आगमनको संख्यात्मक वृद्धिले हाम्रो व्यवस्थापकीय क्षमतामाथि चुनौती थपिन्छ । यो चुनौतीको सामना गर्न थप व्ययभार पर्छ ।

सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरे । यसबाट नेपालले कुल ५५ करोड १० लाख अमेरिकी डलर आर्जन गर्यो । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशत हो । उता जम्माजम्मी ३३ हजार ३९४ वर्गकिलोमिटर क्षेत्रफल र करिब साढे ७ लाख जनसंख्या भएको सानो मुलुक भुटानमा सन् २०१७ मा २ लाख ५४ हजार ७ सय ४ पर्यटक भित्रिए भने भुटानले यो वर्ष पर्यटनबाट झन्डै ७ करोड ९८ लाख अमेरिकी डलर आम्दानी गर्यो, जुन कुल गार्हस्थ्य उत्पादनको ३.२ प्रतिशत हो । भुटानको कुल गार्हस्थ्य उत्पादन २ अर्ब ५१ करोड २० लाख अमेरिकी डलर रहेको छ । यद्यपि भुटानमा पर्यटकको औसत बसाइ अवधि भने ६.६ दिन मात्रै छ । नेपालमा पर्यटकको औसत बसाइ अवधि १२.६ दिन रहेको छ । भुटानमा पर्यटकको बसाइ अवधि कम भएकाले प्रतिपर्यटक औसत खर्च नेपालको भन्दा झन्डै आधा नै छ । तथ्यांकअनुसार नेपालको प्रतिपर्यटक औसत खर्च ६९५ अमेरिकी डलर छ भने भुटानको ३ सय अमेरिकी डलरको हाराहारीमा मात्रै रहेको छ । उपर्युक्त आँकडाले नेपालमा गुणात्मक पर्यटनको विकास गर्न सकियो भने अर्थतन्त्रमा थप उल्लेखनीय योगदान पु¥याउन सकिने सम्भावना रहेको देखिन्छ । त्यसैले पर्यटकको संख्या बढाउनुमा भन्दा गुणात्मक पर्यटक भिœयाई अर्थतन्त्रमा बढी योगदान पु¥याउने राज्यको नीति, योजना तथा कार्यक्रम केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ ।
जुनसुकै उद्देश्यले नेपाल आउने विदेशी नागरिकलाई पर्यटकका रूपमा गणना गर्ने परिपाटीले संख्यात्मक हिसाबले पर्यटकको संख्या बढी देखिए पनि यसबाट हुने आम्दानी भने धेरै हुन सकेको पाइँदैन । भ्रमणको उद्देश्यले पनि पर्यटकले गर्ने खर्चमा भिन्नता हुने गर्छ । आमोदप्रमोद वा बिदा मनाउन आउने र पदयात्रा वा पर्वतारोहणका लागि आउने पर्यटकले बढी खर्च गर्छन् । यसो त नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ७० प्रतिशत आमोदप्रमोद वा बिदा मनाउने उद्देश्यले आएका देखिन्छन् भने पदयात्रा वा पर्वतारोहणको उद्देश्यले आउने पर्यटक ८ प्रतिशत मात्रै रहेका छन् । तीर्थाटनको उद्देश्यले आउने पर्यटक १५ प्रतिशत छन् भने अन्य उद्देश्यले आउने पर्यटक ७ प्रतिशत छन् ।
खर्च गर्नकै लागि आउने पर्यटकको हिस्सा बढी भए तापनि हामीले खर्च गर्ने ठाउँ दिन नसक्दा पर्यटकहरू कम खर्च गरेर फर्कने गरेका छन् । हामीले पर्यटकका लागि खाने, बस्ने, घुम्नेलगायतका खर्चिला सेवा तथा सुविधा पर्यटकलाई उपलब्ध गराउन सकेको भए अथवा पर्यटकलाई रमाउने वा मनोरञ्जन गर्ने धेरै कार्यक्रम प्रस्तुत गर्न सकेको भए पर्यटकहरूको नेपाल बसाइको अवधि पनि लम्बिन्थ्यो र उनीहरूको खर्च पनि बढ्थ्यो । अन्ततः यसबाट नेपाललाई बढी आर्थिक लाभ हुन्थ्यो । तर, हामीले नै पर्यटकका लागि खर्चिलो सेवा, सुविधा र मनोरञ्जनका कार्यक्रमहरू प्रस्तुत गर्न नसक्दा धेरै आर्थिक लाभबाट हामी वञ्चित हुनुपरेको छ । पर्यटकको संख्यात्मक वृद्धि भए पनि सोअनुरूप पर्यटनबाट हुनुपर्ने आर्थिक लाभमा उल्लेखनीय वृद्धि हुन नसक्नुको मुख्य कारण पनि यही नै हो । त्यसैले थोरै पर्यटक आऊन्, तर गुणस्तरीय पर्यटक आऊन् र यसबाट धेरै आम्दानी होस् भन्ने नीति राज्यले अंगीकार गर्नु आवश्यक छ ।
पर्यटकले विश्वभ्रमणका क्रममा हवाईजहाजका लागि नै धेरै खर्च गर्ने सन्दर्भमा आफ्नै हवाईजहाजबाट अधिकतम पर्यटकलाई सेवा प्रदान गर्न सकियो भने अहिलेको भन्दा निकै धेरै आम्दानी हुने निश्चित छ । अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय हवाइसेवा कम्पनीले सेवा दिइरहेका छन् । यसले गर्दा पर्यटकमार्फत नेपालले प्राप्त गर्ने धेरै रकम विदेशी विमानसेवा कम्पनीहरूले प्राप्त गरिरहेका छन् । नेपालको हवाईसेवा भरपर्दो नभएको र आवश्यक संख्यामा हवाईजहाज समेत नभएको सन्दर्भमा थप हवाईजहाज खरिद गरी गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ पर्यटन मन्त्रालय प्रतिवद्ध हुनु आवश्यक छ । हवाईजहाज खरिदमै आर्थिक अनियमितता गर्ने र अनियमितताकै मुद्दामा अल्झिएर हवाईजहाज खरिद कार्यलाई विलम्ब गरिरहने हो भने पर्यटनबाट उल्लेख्य आम्दानी गर्न सम्भव हुँदैन । जति बढी संख्यामा पर्यटक आगमन भए पनि आम्दानीको धेरै हिस्सा बिदेसिएपछि नेपालले पाउने आर्थिक लाभ न्यून हुनु स्वाभाविक हो । नेपाली नागरिकले पनि पर्यटकका रूपमा विश्वभ्रमण गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । यस्तो अवस्थामा आफ्नै हवाईजहाज चढेर विश्वभ्रमण गर्ने अवसर नेपालीले पाए भने हवाईभाडामा खर्च हुने रकम आफ्नै देशलाई प्राप्त हुन सक्छ । यसले महँगो विदेशी मुद्रा बाहिरिने परिमाण पनि घट्नेछ, जसबाट नेपालको शोधनान्तर स्थितिलाई मजबुत बनाउन पनि मद्दत पुग्नेछ ।
सन् २०१८ मा ११ लाख ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए भनेर हामी हौसिरहेको बेला विदेश भ्रमण गर्ने नेपालीको संख्या बढेको र यसबाट धेरै विदेशी मुद्रा बाहिरिएको तथ्यांकले हामी झस्किनुपर्ने अवस्था छ । चालु आर्थिक वर्ष २०७५÷७६ को चार महिनामा नेपालीहरूले विदेश यात्रामा रु. ३४ अर्ब ९१ करोड ३१ लाख खर्च गरेको तथ्य सार्वजनिक भएको छ । गत वर्षको सोही अवधिमा विदेशयात्रा गर्ने नेपालीले रु. २५ अर्ब १४ करोड ४० लाख खर्च गरेका थिए । यसअनुसार नेपालीहरूले विदेशयात्रामा गर्ने खर्च चालू आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढेको देखिन्छ । जबकि चालू आर्थिक वर्षको चार महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले रु. २५ अर्ब ५ करोड ५२ लाखमात्रै खर्च गरेका छन् । यसैगरी गत आर्थिक वर्षमा पर्यटनबाट नेपालले कुल रु. ६७ अर्ब ९ करोड ४६ लाख आम्दानी गरेको थियो भने नेपालीहरूले विदेश भ्रमणमा कुल रु. ७९ अर्ब ५९ करोड ६५ लाख खर्च गरेका थिए । यसरी पर्यटनको वासलातमा नेपालले कुल रु. १५ अर्ब ५० करोड १९ लाख घाटा बेहोरेको देखिन्छ ।
पर्यटनलाई विदेशी मु्रदा आर्जन गर्ने महŒवपूर्ण स्रोतको रूपमा लिइएको र पर्यटन प्रवद्र्धनका लागि निजी र सरकारी स्तरमा पनि विभिन्न पहल भइरहेको सन्दर्भमा यसरी पर्यटनबाट आर्जन हुने रकमभन्दा बढी नेपालीले पर्यटक भएर विदेशमा खर्च गर्ने रकम बढी हुनु चिन्ताको विषय बनेको छ । पर्यटन प्रवद्र्धनद्वारा विदेशी मुद्रा आर्जन गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेका बेला नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको परिमाण बढी हुनु र बर्सेनि यस्तो खर्च बढिरहेको तथ्यांक हेर्दा हामीले पर्यटनका लागि गर्दै आएको प्रयास अर्थपूर्ण छ कि छैन भन्ने प्रश्न उब्जिएको छ । अहिलेको अवस्थालाई हेर्दा विदेशी मुद्रा आर्जन र शोधनान्तर घाटा पूर्तिमा पर्यटनले खासै उल्लेखनीय योगदान गर्न नसकेको देखिन्छ भने समग्र अर्थतन्त्रमा समेत पर्यटनको कुनै उल्लेखनीय योगदान नरहेको देखिन्छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान विगतको भन्दा घट्दै गएकाले पनि अर्थतन्त्रमा पर्यटनको हिस्सा उल्लेखनीय नरहेको पुष्टि हुन्छ । यो अवस्थामा जसले जे भने पनि रेमिट्यान्स नै अर्थतन्त्र धान्ने बलियो र भरपर्दो विकल्पको रूपमा रहेको स्विकार्नैपर्ने हुन्छ । यदि रेमिट्यान्सलाई आत्मनिर्भर र सुरक्षित अर्थतन्त्रको स्रोत नमान्ने हो भने यसको विकल्पको खोजीमा लाग्नैपर्छ । यदि पर्यटन नै विदेशी मुद्रा आर्जनको एउटा भरपर्दो र महत्वपूर्ण स्रोत मान्ने हो भने यसको प्रवद्र्धनका लागि सरकारले नीतिगत तथा कार्यगत प्राथमिकता दिनैपर्छ । यथास्थितिमा भने पर्यटनबाट अर्थतन्त्रमा उल्लेखनीय योगदान पुगेको मान्न सकिने अवस्था छैन ।
अध्ययनका लागि बिदेसिने युवाको संख्यामा वृद्धि, आमोदप्रमोदको उद्देश्यले विदेश घुम्न जाने नेपालीको संख्यामा वृद्धि, नेपाली कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय विक्रेताको प्रोत्साहन यात्रा (इन्टेन्सिभ टुर) मा जाने नेपालीको संख्यामा वृद्धि, अन्तर्राष्ट्रिय सभासमारोहमा सहभागी हुन जाने नेपाली, कृषि, सूचनाप्रविधि आदिको अवलोकन भ्रमणमा जाने सरकारी पदाधिकारीको संख्यामा वृद्धि आदि कारणले विदेश भ्रमण गर्ने नेपालीको संख्यामा बर्सेनि वृद्धि भइरहेको छ, तर नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा भने सोहीअनुरूप वृद्धि हुन नसक्दा पर्यटनबाट हुने आम्दानीभन्दा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको परिमाण बढी छ । यसरी नेपालीले विदेश भ्रमणमा गर्ने खर्च र विदेशी पर्यटकले नेपाल भ्रमणमा गर्ने खर्चबीचको नकारात्मक अन्तरले गर्दा नेपालमा पर्यटन प्रवद्र्धनको गफ हावादारी सावित भइरहेको छ ।
पर्यटक आगमनको संख्यात्मक वृद्धिले हाम्रो व्यवस्थापकीय क्षमतामाथि चुनौती थपिन्छ । यो चुनौतीको सामना गर्न थप व्ययभार पर्छ । थप व्ययभारले पर्यटनबाट हुने लाभलाई अझ कम गरिदिन्छ । यसै पनि पर्यटनबाट कम आम्दानी भइरहेको सन्दर्भमा बढी आम्दानीका लागि तुलनात्मक रूपमा बढी खर्चालु पर्यटकलाई आकर्षित गर्ने र पर्यटकका लागि आवश्यक पर्ने सेवा, सुविधा तथा मनोरञ्जनका कार्यक्रममा वृद्धि गरी खर्च गर्ने माध्यम बढाउनेतर्फ पर्यटनसँग सम्बद्ध सरकारी तथा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्छ । यसो भए मात्रै तुलनात्मक दृष्टिले पर्यटन अर्थतन्त्रका लागि सहयोगी सिद्ध हुनेछ । विदेश भ्रमण गर्ने नेपालीले गर्ने खर्चभन्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले गर्ने खर्च बढी नभएसम्म पर्यटनका लागि हामीले श्रम, समय र पुँजी खर्च गरेको सार्थक हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्