जाँच अस्पतालमा, औषधि मेडिकलमा «

जाँच अस्पतालमा, औषधि मेडिकलमा

जाजरकोट-ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका ई गुरुङ डोल्पामा उपचारका लागि दिनभरि हिँडेर जिल्ला अस्पताल पुगे । अस्पतालमा डाक्टरले उनलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल सिकाएपछि समस्यमा परेको बताए ।
टाउँको दुःखेर हैरान भई उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उनले भने, “अस्पतालमा औषधि छैन भन्दै मेडिकलमा पठाए, मसँग औषधि किन्ने पैसा पनि थिएन्, पाल्लो दुनै गएर काका घरमा गई पैसा सापटी काडेर औषधि किनेको छु ।”
उनीजस्तै ठूलीभेरी नगरपालिका–११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँचपछि मेडिकलमै औषधि किनेर उपचार गरेको बताए । उनले भने, “सबै बिरामीलाई औषधि छैन् भन्दै स्थानीय मेडिकलमा पठाएको देखें, जाँचमात्र अस्पतालमा हुने तर औषधि मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ?” । गुरुङ र कार्की औषधि किन्नुपरेको गुनासो गर्ने प्रतिनिधिपात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् । करिब तीन सातादेखि डोल्पा अस्पतालमा औषधि अभाव भए पनि सरोकारवाला निकायले औषधि आपूर्ति गर्न पहल नगरेको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारको मातहतमा भदौदेखि आएको जिल्ला अस्पताले ठूलीभेरी नगरपालिकाबाट पनि सोचेजस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ । दैनिक बिरामी जाँच गरी औषधि बाहिर किन्न पठाउँदा हामीलाई पनि दुःख लाग्ने गरेको असिस्टेन्ट फार्मसिस्ट शाखाका वीरचन्द्र बोहोराले बताए । उनले भने, “जिल्ला अस्पतालमा तीन सातादेखि औषधि अभाव हुँदा समस्य उत्पन्न भएको छ, दैनिक बिरामीको चाप बढेसँगै औषधि नहुँदा उपचारमा समस्या परेको हो ।”
सरकारले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि डोल्पामा औषधि अभावमा यहाँका बिरामीले निजी मेडिकलमा किनेर उपचार गर्न बाध्य छन् । दैनिक आवश्यकीय १५ प्रकारको औषधि नहुँदा दैनिक उपचार गर्न धौधौ भएको जिल्ला अस्पताल डोल्पाका निमित्त प्रमुख हिमविक्रम शाहीले बताए । गाउँगाउँबाट बिरामी भएर आएका स्थानीयको जाँच गरे पनि निःशुल्क उपलब्ध हुने औषधि नहुँदा रितो हात फर्काउनु परेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । बिरामी जाँच गरे पनि औषधि किन्न मेडिकलमा पठाउँदा बिरामी रिसाउने गरेको अस्तालको भनाइ छ ।
पुस १४ गते डोल्पा जिल्ला अस्पतालबाट औषधि चोरी भएको समाचार प्रकाशित भए पनि हालसम्म उक्त विषयमा कारबाही प्रक्रिया अगाडि बढेको छैन । स्थानीय सरकार गठन भएदेखि नै स्थानीय सरकारको खातामा औषधि खरिददेखि कर्मचारीको तलबसम्मको पैसा आउने गरेको छ । यत्ता कर्णाली प्रदेश सरकारले औषधि खरिदका लागि जिल्ला अस्पताल डोल्पालाई उपलब्ध गराएको रकमबाट औषधि खरिद प्रक्रिया हुन लागेको चिकित्सक सिजन रावलले बताए । औषधि खरिदको जिम्म नगर स्वास्थ्य शाखालाई दिएकोले केही दिनमा औषधि आउने बताए । भदौदेखि डोल्पाको जिल्ला अस्पताल प्रदेश मातहतमा समाहित भएको छ ।

प्रतिक्रिया दिनुहोस्