हराए अमरगढीका पुराना हतियार
डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्ला संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । समुद्र सतहबाट करिब ६ हजार ५०० फिट उचाइमा अवस्थित अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले राज्य विस्तार गर्ने क्रममा स्थापना गरेका थिए ।
किल्लामा ठूला–ठूला ढुङ्गा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक छ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो । एकीकरणको अभियान बेला वि.सं. १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच युद्ध भयो ।
डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए । तिनै अमरसिंहले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको इतिहासमा पढ्न पाइन्छ । त्यसैले यो अमरगढी किल्लाको रुपमा परिचित छ । १९४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात् यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ । यो किल्ला विशाल ढुङ्गाले कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नको लागि २२ वटा गुफाहरू बनाइएको छ ।
कहाँ गए पुराना हतियार ?
स्थानीयका अनुसार सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार भने गायब भएका छन् । “पहिले सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतियारहरू देखेको थिएँ,” स्थानीय मिन बहादुर थापा मगरले भने, “तर अहिले ती हतियारहरू देखिँदैनन् ।”
अमरगढी किल्लामा बसेको गोरख दलका सेना सरुवा भएर जाँदा पुराना हतियार पनि आफूसँगै लगेको स्थानीयको आशंका छ । “त्यसबेला किल्लामा गोर्खादल नामको तत्कालीन शाही सेना बस्ने गरेका थिए,” स्थानीय ४० वर्षीय बिमल जैरुले भने, “पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदा सँगै लगेर गए ।” त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत श्रेष्ठको भनाइ छ । पहिले किल्लामा पाँचवटा तोप, दर्जनौं घरेलु हतियार, एक सय जती बन्दुक, बम र गोला बारुद बनाउने छट्टै घर, सैनिक पोशाक लगायतका सामग्रीहरू थिए । तर अहिले किल्ला हेर्न आउने पर्यटकले ती कुनै पनि देख्न पाउँदैनन् ।
अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी दिए । नगरपालिकाले निर्णय गरी उक्त किलला सर्वसाधारणका लागि खुला गरेको छ । अहिले दैनिक ३० देखि ४० जना आन्तरिक र बाह्य पर्यटक किल्ला अवलोकनका लागि आउने गरेका किल्लाका व्यवस्थापक प्रेम ऐरले बताए । ऐतिहासिक गौरव बोकेको उक्त किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा रहेको पर्यटन व्यवसायी सुदाम थापा बताउँछन् । ठूलठूला ढुङ्गाद्वारा निर्माण गरिएको किल्ला निकै कलात्मक रहेको छ ।
अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक रुपमा छुट्टै महत्व रहेको छ । डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाइ उक्त किल्ला नै बन्ने गरेका माउन्टेन होटलका व्यवसायी निराजन शाही बताउँछन् । “अमरगढी किल्लाभित्र रहेका पुराना र ऐतिहासिक हतियार, तोप र अन्य सामग्रीलाई राखेर संग्रहालयका रुपमा विकास गर्नुपर्छ,” उनले भने ।
किल्ला हेर्न आउने सर्वसाधारणबाट ५० र विद्यार्थीलाई २० प्रवेश शुल्क लगाइएको अमरगढी नगरपालिकाले जनाएको छ । किल्ला बाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोट लगायतका क्षेत्रको प्रवद्र्धन गर्न सके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ । अमरगढी किल्ला सुरक्षार्थ नेपाली सेना खटिँदै आएको भए पनि अहिले सशत्र प्रहरी बलले किल्लाको सुरक्षा गर्दै आएको छ । अमरगढी किल्ला बाहेक उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोट लगायतका क्षेत्र पनि पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रको प्रवद्र्धन गर्नसके पर्यटकलाई थप अकर्षित गर्न सकिने देखिन्छ ।
जीर्ण बन्दै किल्ला
अमरगढी किल्ला संरक्षणको अभावले जीर्ण बन्दै गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको थियो । नगरपालिका स्थापनापश्चात् २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहत ल्याएको थियो । तर, २०५८ सालमा तत्कालीन जनयुद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेना बसेको थियो । युद्धकालमा अमरगढी किल्ला क्षेत्रमा हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाइएको थियो ।
२०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाकै मातहतमा थियो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्न थाल्यो । त्यसपछि पर्यटकलाई प्रवेश खुला गराइए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति दिइएको थियो । अहिले किल्ला जिर्ण बन्दै गएको छ । मर्मत सम्भारका लागि बजेट विनियोजन भएता पनि मर्मत गर्दा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचनामा बिग्रिएको छ । पुरानो गुफा भत्किने अवस्थामा छ । बडाकाजी अमरसिंह थापा बस्ने घर भत्किएर त्यसलाई पुनर्निर्माण नगरी टिनको नयाँ छाप्रो बनाइएको छ । किल्लालाई थप संरक्षण गर्नका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनोजित गर्दा पनि गुणस्तरीय नभएको स्थानीय प्रविन जजैरुले गुनासो पोखे ।