औद्योगिक ग्राम स्थापनाको तयारी «

औद्योगिक ग्राम स्थापनाको तयारी

जिल्लामा साना उद्योगहरूलाई लक्षित गरी औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम स्थापनाका लागि नारायण नगरपालिकाले जग्गा सहयोग गर्ने भएपछि औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अगाडि बढेको छ ।
जिल्लामा उत्पादित विभिन्न वस्तुहरूलाई मध्य नजर गर्दै औद्योगिक ग्राम स्थापना हुन लागेको लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष झवि खत्रीले बताए । साथै उनले औद्योगिक ग्राम स्थापना अन्तिम चरणमा पुगेको बताए । उनले घरेलु तथा साना उद्योग विकास समिति र नारायण नगरपालिकाको सहकार्यमा औद्योगिक ग्राम स्थापना हुन लागेको जानकारी दिए ।
स्थानीय उत्पादनको माध्यमवाट रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको अध्यक्ष खत्रीले बताए । उक्त ग्राम स्थापनाका लागि भवनको स्टिमेटलगायत अन्य प्रक्रिया अगाडि बढाइएको उनले बताए । “केकस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ” उनले भने, “बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न पनि सकिन्छ ।”
औद्योगिक ग्राम स्थापनाबारे नारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले नगरपालिका र वडाबाट सम्पूर्ण सहयोग गर्ने बताए । औद्योगिक ग्राम स्थापनाले जिल्लाको पर्यटन विकासमा पनि थप सहयोग पुग्ने भएकाले यसलाई सबै क्षेत्रबाट सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उनले औद्योगिक ग्राम स्थापनाले जिल्लालाई औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने र औद्योगिक क्षेत्रको दीर्घकालीन संचालनमा नगरपालिकाले आवश्यक पूर्वाधारमा सहयोग पुराउन बताए । जिल्लामा कृषिजन्य तथा वनजन्य उद्योग स्थापना हुनुपर्नेमा र जिल्लालाई समुन्नत बनाउन र रोजगारी सृजना गर्न उद्योग स्थापना नै मुख्य काम भएको उनले बताए ।
पहिलो चरणमा औद्योगिक ग्राममा १० वटा उद्योग स्थापना गरिने लघु उद्यमी समूह संघका अध्यक्ष खत्रीले जानकारी दिएका छन् । हाते कागज, दालमोठ, अल्लो प्रशोधन, सिस्नो प्रशोधन, बाँस मुढा, दूध डेरी, दुना टपरीलगायतका उद्योग औद्योगिक ग्राममा स्थापना हुने र ग्रामभित्र तालिम सेन्टर पनि सञ्चालन गरिने उनले बताए ।
औद्योगिक ग्रामका लागि नारायण नगरपालिकाले जग्गा उपलब्ध गराइसकेकाले अब ग्राम बन्ने प्रक्रिया सुरु भइसकेको छ । ग्राम जिल्लास्थित आत्मनिर्भर लघु उद्यम सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समूह संघले सञ्चालन गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्