Logo

झरनाको आम्दानी मासिक दुई लाख

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना अवलोकन गर्न आउने पर्यटकबाट प्रवेश शुल्कबापत मासिक २ लाख रुपैयाँ आम्दानी हुन थालेको छ । झरना अवलोकनका लागि नेपाली नागरिकका लागि ३० रुपैयाँ, सार्कका देशका नागरिकका लागि ५५ रुपैयाँ र अन्य देशका नागरिकका लागि १ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
त्यसबाट मासिक २ लाखसम्म आम्दानी हुने गरेको नमस्ते झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले जानकारी दिए । झरना व्यवस्थापन समितिले वृद्ध, बालबालिका, अपांगता भएका व्यक्तिहरुलाई भने प्रवेश शुल्क छुट गरिएको छ । संकलित रकमको ५ प्रतिशत समितिमा र वार्षिक ११ लाख गाउँपालिकालाई समेत बुझाउँदै आइएको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बूले बताए । पर्यटक आकर्षण गराउन झरना क्षेत्रमा थप धार्मिक स्थलको समेत निर्माण योजना रहेको अध्यक्ष लिम्बूले बताए ।
पछिल्लो समय झरना क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाइएपछि थप पर्यटकको आकर्षण बढेको लिम्बूको भनाइ छ । केही समयअघि घुम्न आएका एक पर्यटकको ढुंगा लागेर मृत्यृ भएपछि झरना अवलोकनका लागि रोक लगाइएको थियो । तर, गाउँपालिकाको सहयोगमा झरना प्रवेश गर्ने बाटोसँगै झरनाको छेउछाउमा तारजालि बाटो निर्माण गर्दै सुरक्षित बनाइएको छ । करिब ५५ मिटर लामो झरना हेर्न आउने पर्यटकहरुका लागि झरनासँगै आकर्षक मूर्ति निर्माण गरी थप पर्यटक लोभ्याउने योजना रहेको समितिले जनाएको छ । झरना ९ वर्षअघि देखि समितिद्वारा व्यवस्थापन गरिँदै सर्वसाधारणका लागि प्रवेश लगाउन थालिएको हो ।

पर्यटन गुरुयोजनाको मस्यौदा सार्वजनिक
धनकुटाको मात्र नभएर प्रदेश नम्बर १ कै उत्कृट पर्यटकीय स्थानहरु भएको धनकुटाको साँगुरीगढी गाउँपालिकाले पर्यटन गुरुयोजनाको अन्तिम मस्यौदा सार्वजनिक गरेको छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यका साथ ल्याइएको गुरुयोजनाले गाउँपालिकाको मात्र नभएर समग्र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना महत्वपूर्ण हुने सरोकारवालाको भनाइ थियो ।
गुरुयोजना निर्माण समितिले पर्यटनको विकासका लागि ४ आ अर्थात् आकर्षण, आवतजावत, आवास, आवासीय सुविधासहित उद्धारका लागि आवश्यक तयारी र पूर्वाधार हुनुपर्ने कुरामा जोड दिइनुपर्ने गुरुयोजना निर्माण समितिका वातावरण विज्ञ राजेश्वर श्रेष्ठले बताए । मस्यौदा सार्वजनिक कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, होटल व्यवसायी, पर्यटनसँग काम गर्ने सरोकारवालाहरुले प्रकृतिले दिएका सम्पदाको प्रयोग गर्दे संरक्षण गर्नु पनि उत्तिकै आवश्यता रहेको बताएका थिए । यस गाउँपालिकामा भेडेटार, नाम्जे, नमस्ते झरना लगायतका पूर्वकै चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्