सामुदायिक वनमा खुला चिडियाघर

भरतपुर – नारायणी नदी किनारमा रहेको ज्ञानेश्वर सामुदायिक वनलाई ‘खुल्ला चिडियाघर’ का रुपमा विकास गरिने भएको छ । १० वर्षे कार्ययोजनामा उपभोक्ता समूहले खुल्ला चिडियाघर (ओपन जु) बनाउने योजनालाई प्राथमिकतामा पारेको छ ।
२ सय २५ हेक्टरमा फैलिएको वनमध्ये ८ हेक्टर क्षेत्रलाई चिडियाघरका रुपमा विकास गरिने छ । पिकनिक क्षेत्रको पूर्वतर्फ काभ्रेघाटसम्मको क्षेत्रलाई ओपन जु बनाइने छ । “क्षेत्र निर्धारण गरिसकेका छौँ,” अध्यक्ष राजन अधिकारीले भने, “साना ठूला सबै जनावर राख्ने ‘ओपन जु’ बनाउन महानगरको ध्यानाकर्षण गराइरहेका छौँ ।” ओपन जु स्थापना भएसँगै जंगली जनावर तथा चराचुरुङगीको जीवनशैलीबारे अध्ययन गर्न तथा अवलोकन गर्न सहज हुने उनले बताए ।
ज्ञानेश्वर सामुदायिक वन सानोगढी क्षेत्रमा हाल वन्यजन्तु उद्वार केन्द्र छ । “उद्वार केन्द्रलाई चिडियाघरका रुपमा विकास गरिनेछ,” उनले भने, “जनावर, चराचुरुङगी सहजै हेर्न मिल्ने महानगरकै मुख्य गन्तव्य बनाइनेछ ।” सानोगढी क्षेत्र गैडा अवलोकन गर्न मिल्ने क्षेत्रका रुपमा चिनिन्छ । सानोगढी क्षेत्र नारायणगढ पुलचोकबाट पश्चिमतर्फ बाह्रघरे–शिवघाट–काभ्रेघाट हँुदै करिब ८ किमि दूरीमा पर्छ । “डिपिआर बनाउने तयारी छ,” उनले भने, “वनको गौरवको योजना हो, महानगरले पर्याप्त बजेट बिनियोजन गरे ‘ओपन जु’ बन्न सक्छ ।”
सानोगढीमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा हाल ३७ वटा जनावर तथा चराहरू छन् । अष्ट्रिच, मृग, जरायो, रतुवा, लगुना, बँदेल, गोही, बाँदर, हुचिल, अजिंगर, खरायो, कालिजलगायतका जनावर उद्धार केन्द्रमा राखिएका छन् । “सानोगढी घुम्न आउने अधिकांशले उद्धार केन्द्र अवलोकन गर्छन्,” उनले भने, “ओपन जु बनाउन सके पर्यटक आवागमन बढ्ने अनुमान छ ।”
वनभित्र भेटिने घाइते जनावर तथा मानववस्तीमा प्रवेश गर्ने जंगली जनावरलाई उद्धार गरेर राख्ने गरिएको छ । पर्यापर्यटन तथा पिकनिक क्षेत्रका लागि छुट्याइएको १९ हेक्टरमा पर्यटन प्रवद्र्धनका काम हुँदै आएका छन् । नारायणीको करिब ३ किमि किनार वनसँग जोडिएको छ । ज्ञानेश्वर वनसँग महानगरको १५ र १६ नम्बर वडा जोडिएका छन् । सानोगढीमा हरेक दिन १ सय बढी आन्तरिक पर्यटक घुम्न आउँछन् ।
रोजाइमा पिकनिक स्पट
सानोगढीमा रहेका पिकनिक स्पट रोजाइमा पर्न थालेका छन् । नदी किनारको दृश्यावलोकन, जंगली जनावरको अवलोकन गर्दै रमाउँदै पिकनिक मनाउन आउनेको चाप बर्सेनि बढ्दै गएको छ । यो वर्षमात्रै ९ सय समूह पिकनिक मनाउन आएका छन् । यस्तै १८ हजार आन्तरिक पर्यटकले घुमेको उपभोक्ता समूहले जनाएको छ । १० वटा पिकनिक सेड बनाइएको छ । व्यवस्थित चुलो, विद्युत सेवा, पिउने पानीको व्यवस्था मिलाइएको छ ।
“चितवन, नवलपुरबाट पिकनिक मनाउन आउने धेरै छन्,” अध्यक्ष अधिकारीले भने, “यहाँको प्रकृतिले धेरैलाई लोभ्याएको छ ।” पिकनिक क्षेत्र सरसफाइमा ११ जना कर्मचारी खटाउने गरिएको छ । पिकनिक मनाउन आउने प्रत्येक समूहबाट १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । घुम्न आउने पर्यटकलाई २५ रुपैयाँ शुल्क लिने गरिन्छ । ०५९ सालमा जिल्ला वन कार्यालयले समुदायमा हस्तान्तरण गरेको थियो । सुरुका वर्षमा वार्षिक ४० समूह समेत पिकनिक मनाउन आउने अवस्था थिएन । वर्षमा पर्यटक तथा पिकनिकबाट मात्रै वनले करिब ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । पर्यटक आवागमन बढ्न थालेपछि सानोगढी क्षेत्रमा करिब एक दर्जन रेष्टुरेण्ट तथा खाजाघरहरू सञ्चालनमा आएका छन् ।
पर्यटक भित्र्याउन नयाँ संरचना
ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूह सानोगढीले चिल्ड्रेन पार्क, मोटरबोट तथा सामूहिक होमस्टे बनाउने तयारी गरेको छ । वनको आन्तरिक स्रोतबाट ५० लाख खर्चेर चिल्ड्रेन पार्क बनाउन प्रारम्भिक अध्ययन थालिएको छ । नारायणी पुलदेखि सानोगढी क्षेत्रसम्म मोटर बोट सञ्चालनका लागि महानगरसँग छलफल चलाइएको छ । पिकनिक क्षेत्रमा सामूहिक होमस्टे सञ्चालन गर्दै स्थानीय रहनसहन, संस्कृति प्रवद्र्धन गर्न सक्रियता बढाइएको छ ।
सामुदायिक वनको सीमासँग जोडिएका गुरुङ, दराई, बोटे जातिका होमस्टे स्थापना गर्न बजेट छुट्याइने अध्यक्ष अधिकारीले जानकारी दिए । वनको २ हजार २ सय ५० घरधुरीका उपभोक्ता छन् । काठदाउरा बिक्रीबाट वनले वर्षमा करिब १५ लाख, पर्यटनबाट करिब ३० लाख आम्दानी गर्दै आएको छ । आम्दानीको २५ प्रतिशत वन व्यवस्थापन, ३५ प्रतिशत गरिबी न्यूनिकरण तथा आयआर्जनमूलक तालिम, १० प्रतिशत तटबन्धनमा लगानी गर्दै आइरहेको छ । “वनको एक्लो प्रयासले पर्यटकीय गन्तव्यमा विस्तार गर्न सहज छैन,” उनले भने, “महानगर, सहयोगी संस्थाको सहकार्य आवश्यक छ ।” केही वर्ष पहिले गरिएको प्राविधिक सर्वेक्षणमा यो वनमा निकै दुर्लभ तथा लोपोन्मुख जीवजन्तु फेला परेका थिए ।