निजी क्षेत्रको साथ विना उद्योग, पर्यटनको विकास नहुने «

निजी क्षेत्रको साथ विना उद्योग, पर्यटनको विकास नहुने

वीरगन्ज-गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणीभद्र शर्माले निजी क्षेत्रको साथ विना देशको उद्योग पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत तथा भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री शर्माले निजी क्षेत्रलाई साथमा लिएर जाने की नजाने भन्ने दुई पक्षबीचको द्वन्द्वको भासमा अहिले मुलुक गएको बताउँदै निजी क्षेत्रलाई प्रोत्साहन नगरी राज्यको आर्थिक विकास हुन नसक्ने बताए ।
उनले राष्ट्रबैंकले अहिले ल्याएको मौद्रिक नीति अझै अपुग रहेको बताउँदै साना व्यवसायीहरुका लागि मौद्रिक निजीले सम्बोधन नगरेको बताउँदै साना लगानीका उद्योगहरुलाई मौद्रिक नीतिले सम्बोधन नगरेको बताए ।
पोखरा सिमरा हवाई उडान सेवाको उदघाटनमा सिमरा आएका मन्त्री शर्मासँग वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्जमा स्वागत गरेको हो । उनले हवाई सेवा सुरुवातले सदियौंदेखिको तराई पहाडको व्यापारिक सम्बन्धलाई थप मजबुद बनाउने काम गरेको मन्त्री शर्माले धारणा राखे । हवाई सेवाको भाडा भने न्यूनतम राखेर बढी भन्दा बढी यात्रुहरुले उडान गर्नसक्ने व्यावस्था मिलाउन बुद्ध एयरको व्यवस्थापनसँग पनि आग्रह गरे ।
उनले पर्यटक र पाहुना फरक भएको हुँदा पाहुनाले मात्रै पर्यटनको विकास नहुने भएकाले पर्यटनको विकासका लागि पर्यटकलाई प्राथामिकता दिनुपर्नेमा जोड दिए । राज्यले कर असुलेर मात्रै नहुने भन्दै त्यसको व्यवस्थापन, सामाजिक सुरक्षा तथा व्यवसायमैत्री बनाउने राज्यको दायित्व पनि रहेको बताए ।
पर्यटनमा नवप्रवर्तनको पनि आवश्यकता रहेको औंल्याउँदै नवप्रवर्तन विना पर्यटन विकास असम्भव रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठले प्रदेश–२ अहिले पनि पर्यटनको भर्जिन क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि राज्यको उपेक्षामा परेको गुनासो गरे ।
संघीय सरकारले प्रदेश–२ मा रहेको बाराको सिम्रौनगढ ऐतिहासिक क्षेत्रलाई नेपालको भू–भाग नै नभएको जस्तो गरेर बेवास्ता गरेको बताउँदै प्रदेशको ऐतिहासिक र धार्मिक पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र निर्माण भएका पूर्वाधारलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले वीरगन्जलगायत प्रदेश–२ मा धेरै ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलहरु रहेकोले यसको समग्र विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघको पर्यटन तथा हवाई यातायात समितिका संयोजक अनोज रुंगटाको अध्यक्षतामा भएको कार्यक्रममा ट्राभल तथा टुर्स एसोसिएसन नाटाका केन्द्रीय अध्यक्ष, अध्यक्ष अच्युत गुरागाँई, पोखराका वरिष्ठ उपाध्यक्ष हरिराम शर्मा, पोखरा टुरिजम परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रदेश–२ को सिमरा र गण्डकी प्रदेशको पोखरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको हवाई सेवा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेश र नाट्टा प्रदेश–२ र यहाँका निजी क्षेत्रको पहलमा सीधा उडान सेवा सुरु भएको हो ।
बुधबारदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान हुन थालेपछि यस क्षेत्रका सम्भावित पर्यटन गन्तव्यहरुको विकास हुने पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । सिमरा पोखरा हवाई सेवाबाट जोडिएका अवसरमा नेपाल एसोसिएशन अफ् टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश–२ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले यस क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गर्नुका साथै सरोकारवाला निकायसँग छलफल एवं अन्तरक्रियासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्