विद्युत् महसुल वृद्धि भएपछि करिडोरका उद्योग समस्यामा «

विद्युत् महसुल वृद्धि भएपछि करिडोरका उद्योग समस्यामा

महसुल वृद्धि गर्नुको कुनै कारण नै नखुलाई एक्कासी विद्युत् महसुलको विलिङ परिवर्तन भएको पत्र पाँचवटा उद्योगलाई पठाएकोमा उद्योगी आश्चर्यमा परेका छन् ।

वीरगन्ज-नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी डेडिकेटेड लाइन लिएका करिडोरका पाँच वटा उद्योगलाई महसुलको विलिङ परिवर्तनसम्बन्धी पत्र पठाएपछि करिडोरका ठूला उद्योग चिन्तित भएका छन् । बहुराष्ट्रिय कम्पनी सूर्या नेपाल, हुलास स्टिल इन्डस्ट्रिज, जगदम्बा स्टिल, हामा आयरन र अशोक स्टिल उद्योगलाई नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी झन्डै ६० प्रतिशत महसुल वृद्धि गरिएको पत्र पठाएको छ ।
महसुल वृद्धि गर्नुको कुनै कारण नै नखुलाई एक्कासी विद्युत् महसुलको विलिङ परिवर्तन भएको पत्र पाँचवटा उद्योगलाई पठाएकोमा उद्योगी आश्चर्यमा परेका छन् । विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले औद्योगिक लाइनलाई वितरण गरिएको ६६ केभी ट्रंक लाइनबाट विद्युत् आपूर्ति भइरहेको ठाउँमा विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम ५, विद्युत् महसुल अन्य दस्तुर तथा सेवा शुल्क र विलिङसम्बन्धी व्यवस्थाको उपविनियम २ मा ‘प्राधिकरणका डेडिकेटेड लाइन र ट्रंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहकले विद्युत् शक्ति खपत गरे बापत अनुसूची १ को क मा उल्लेख भए बमोजिमको मासिक सेवा शुल्क, डिमाण्ड शुल्क र इनर्जी शुल्क बुझाउनु पर्नेछ’ भन्ने उल्लेख भए बमोजिम माघ १ गतेदेखि बिलिङ परिवर्तन भएर आउने पत्र उद्योगहरूलाई पठाएको छ ।
प्राधिकरण सिमरा वितरण केन्द्रले पठाएको पत्रअनुसार ६६ केभीको डेडिकेटेड लाइनमा साँझ ५ बजेदेखि राति ११ बजेसम्मको पिक आवरमा यसअघि ९ रूपैयाँ ३० पैसा तिर्दै आएकोमा माघ १ गतेदेखि १५.५० पैसाको विलिङ आउने जानकारी गराएको छ । त्यस्तै अफ पिक आवर अथवा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको यसअघि ४ रूपैयाँ १५ पैसा तिर्दै आएकोमा अब ६ रूपैयाँ ६० पैसा तिर्नुपर्ने र अन्य समय बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको यसअघि ७.५० पैसा तिनुपर्नेमा अब १२.५० पैसा तिर्नुपर्ने छ । माघ ७ गते पठाएको पत्र उद्योगहरूले माघ १० गते प्राप्त गरेपछि प्राधिकरणको मनोमानी देखेर चिन्तित भएका छन् । सूर्या नेपालका महाप्रबन्धक प्रभाकर शाहले विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले पठाएको पत्रले उद्योगीहरूलाई चिन्तित बनाएको बताए । “करिब करिब ६० प्रतिशत महसुल वृद्धि हुने भनिएको छ । हामी एउटा उपभोत्ता पनि भएको हुनाले ६० प्रतिशत के कति कारणले वृद्धि भएको हो ? त्यसको जानकारी हामीलाई चाहियो,” उनले भने, “त्यसका लागि उद्योग वाणिज्य संघ वीरगन्जलाई बुझिदिन आग्रह गरेका छौं ।” उनले स्वदेशी उद्योगलाई महसुल वृद्धि गरेपछि उद्योगले उत्पादन गर्ने वस्तुको मूल्यमा पनि वृद्धि हुने बताए । “सामान्य फलामका डण्डी उद्योगमा उत्पादन हुने वस्तुको मूल्य पनि वृद्धि हुन्छ त्यसले उपभोत्तालाई नै मारमा पार्ने हो,” उनले भने, “राज्यले उपभोत्ताको हित संरक्षण गर्ने कुरा गर्छ तर जतिखेर जे मन लाग्यो त्यो गर्न थाल्ने हो भने उपभोत्ताको संरक्षण कहाँ भयो ?”
वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले पनि विद्युत् प्राधिकरणले उद्योगमाथि अन्याय गरेको बताए । “पाँचवटा उद्योगलाई पत्राचार गरेको पत्र हामीसँग लिएर आएका छन्, उद्योगले बढीमा २० प्रतिशतसम्मको वृद्धिलाई थेग्न सक्छ, एकैचोटी ६० प्रतिशतको हाराहारीमा महसुल वृद्धि गर्छ भने उद्योगले के उत्पादन गर्ने ?” उनले भने, “यो जबरजस्ती गर्ने काम सरकारले गरेको छ ।”
विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले लेखेको पत्रमा नेपाल विद्युत प्राधिकरण विनियमावली २०६९ बमोजिमको अधिकार प्राप्त अधिकारीले स्वीकृत गरेपछि मात्रै जानकारी गराउने उल्लेख गरेकाले पनि उद्योगीहरू थप सशंकित भएका छन् । अहिलेसम्म विद्युत महसुल भुक्तान गरिसकेर ब्यालेन्ससिट पनि मिलाइसकेको अवस्थामा फेरी आएर पूरानै मितिदेखि तिर्नुपर्ने भयो भने आर्थिक घाटा व्यहोर्नुपर्ने चिन्ता उद्योगीलाई छ ।
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रोहिणी पौडेलले ट्रंकलाइन लिएका पाँचवटा उद्योगलाई मात्रै अहिले पत्राचार गरेको बताए । करिडोरमा ट्रंकलाइन लिएका ६ वटा उद्योगमध्ये जगदम्बा ईन्टरप्राईजेजले उद्योग स्थापना गरेदेखि नै यो महसुल तिरिरहेको छ । २०६६ सालमा जडान गरिएको उद्योग जगदम्बा इन्टरप्राईजेजले लाइन लिएदेखि नै ट्रकलाइनको महसुल तिरिरहेको उनले बताए । अहिले बाँकी पाँच वटा उद्योगलाई पनि माघ १ गतेदेखि लागू हुने गरी महसुल तिर्न सूचना जारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्