विराटनगरमा बृहत् योग शिविर सुरु «

विराटनगरमा बृहत् योग शिविर सुरु

विराटनगर-योगका माध्यमबाट मात्रै मानिसलाई स्वस्थ बनाउने सकिने भन्दै १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले विराटनगरमा बृहत् योग शिविर सुरु गरेको छ । मन्त्रालयको आयोजनामा आइतबारदेखि विराटनगरमा योग शिविर सुरु भएको हो ।
‘योग गरौं, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा स्थानीयको बाक्लो उपस्थिति रहेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको पूर्वपट्टिको खाली मैदानमा झिसमिसेमै मानिस भरिभराउ हुने गरेका छन् । सामाजिक विकास मन्त्रालयले रोग लाग्नै नदिन सचेतनास्वरुप आयोजना गरेको ५ शिविरमा विराटनगरका चोकचोकबाट मानिसहरू योग शिविर हुने मैदानमा पुगेका थिए ।
ख्यातिप्राप्त योग प्रशिक्षक लोकनाथ ढकालद्वारा प्रशिक्षण दिइएको शिविरमा १ नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङ, सामाजिक विकासमन्त्री जीवन घिमिरे, हास्यकलाकार सीताराम कट्टेल धुर्मुस, सुरक्षा तथा कर्मचारी प्रशासनका व्यक्ति, सांसद तथा नेताहरूको पनि सहभागिता थियो । मानिसको आनीबानी र व्यवहार उल्टो दिशातर्फ गइरहेको बताउँदै सामाजिक विकासमन्त्री घिमिरेले रोग लाग्नै नदिने उपायको खोजी गर्ने सन्दर्भमा शिविर आयोजना गरेको बताए । शिविरमा खानपान, सरसफाइ, आनीबानीको विषयमा सहभागीलाई प्रशिक्षण दिइने योग प्रशिक्षक लोकनाथ ढकालले बताए । शिविर बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आमनागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरूका लागि सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्