आक्रामक बन्दै कांग्रेस, नेविसंघको प्रदर्शनमा धरपकड «

आक्रामक बन्दै कांग्रेस, नेविसंघको प्रदर्शनमा धरपकड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक र सदनबाट सरकारविरुद्ध कडा आन्दोलन गर्ने भएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै थप आन्दोलन चर्काउने निर्णय गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट जबरजस्ती पारित गरेर बहुमत र संसदीय सर्वोच्चताको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै कांग्रेसले आन्दोलन देशव्यापी बनाउन लागेको हो । आइतबारको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरुले सरकार निरंकुश बन्दै गएको भन्दै देशव्यापी प्रतिवादमा उत्रनुपर्ने बताएका थिए । नेता धनराज गुरुङले सरकारविरुद्धको आन्दोलन देशव्यापी बनाउने बताए । कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भ्रातृ संगठनका गतिविधि थप सशक्त बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा केही नेताहरूले डा. गोविन्द केसीसँग आफैंले सहमति गरेको तर विधेयक पारित हुने दिन संसद् बैठकमा अनुपस्थित भएर द्वैध चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरूले प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले पाँचवटा आयोग गठन गर्ने निर्णय गरेर बहुमतको दम्भ देखाएको भन्दै सरकारको आलोचना गरेको छन् । सरकारले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमै विभिन्न आयोगका लागि अध्यक्ष सिफारिस गरेको थियो ।

महामन्त्री यादव घाइते, १५ पक्राउ
डा. गोविन्द केसीको जीवन रक्षा तथा संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकको विरोधमा नेविसंले गरेको प्रदर्शनमा धरपकड भएको छ । आइतबार माइतीघर मण्डलाबाट निस्किएको जुलुस नयाँ बानेश्वर आइपुग्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले दमन गरेको हो । सो क्रममा नेविसंघका महामन्त्री कपिलेश्वर यादवको टाउकोमा चोट लागेको छ भने केन्द्रीय सदस्य कल्पना खड्काको खुट्टामा चोट लागेको छ । त्यस्तै उपाध्यक्ष पवन यादव, सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रीय सदस्यहरु सुमन पाण्डे, गीता गुरुङ, मेघा शाही, प्रेमिका राना मगर, प्रेम शाही लगायत १५ जना नेता–कार्यकर्ता पक्राउ परेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले संयुक्त प्रदर्शन गरेका थिए । डा. केसीको पक्षमा र सरकारको विरुद्धमा आइतबार बिहानै उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन भएको थियो । संसद्मा दुई तिहाइ बहुमतका आधारमा आफूहरुलाई पेल्न खोजेको भन्दै कांग्रेस सरकारसँग रुष्ट बनेको छ । उसका भ्रातृ संस्थाहरु सडकमा सरकारविरुद्ध दैनिकजसो प्रदर्शन गरिरहेका छन् ।

‘माफिया सरकार मुर्दावाद ’
यसैबीच नेविसंघले आइतबार ३ दर्जन बढी सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेको छ । नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठी नेतृत्वको टोलीले सडकमा गुडिरहेका सरकारी गाडी रोक्दै सरकारविरुद्धको नारा पेन्टिङ गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्